वि.सं.: २०८२, पुस ३० बुधबार
इ.स.: 2026 January 14,WEDNESDAY
वि.सं.: २०८२, पुस ३० बुधबार
वडा नं. १५ ले ५ वटा समूहमा प्रदान गरेको प्रशिक्षणबाट नतिजा देखियो
काठमाडौँ । महानगरपालिकाको वडा नं. १५ ले २४६ जना महिलाहरुलाई साइकल प्रशिक्षण सम्पन्न गरेको प्रमाण पत्र प्रदान गरेको छ । ‘साइकल चढौँ, स्वस्थ्य रहौँ, वातावरण जोगाऔँ’ नारासहित अभियानका रुपमा थालिएको प्रशिक्षणका विभिन्न ५ समूहका महिलाहरुलाई स्वयम्भू भुइँखेल, धर्मचक्र पार्कमा आयोजना गरिएको कार्यक्रममा प्रमाण पत्र प्रदान गरिएको हो । प्रशिक्षण समापन तथा प्रमाण पत्र वितरण कार्यक्रममा सहभागी हुनुअघि भुइँखेलदेखि विजेश्वरी हुँदै डल्लु पुल, विष्णुमती लिङ्क रोड, लखतीर्थ मार्ग, सिद्धार्थ सडक, डल्लु आवास हुँदै धर्मचक्र पार्क पुगेको थियो । प्रशिक्षित ५ समूहका महिलामध्ये पहिलो समूहमा ५४ जना, दोस्रो समूहमा ५१ जना, तेस्रो समूहमा ४० जना, चौथो समूहमा ५० जना र पाँचौ समूहमा ५१ जनाले प्रशिक्षण लिनुभएको छ । यसरी प्रशिक्षण लिनेहरु ६० वर्षसम्मको हुनुहुन्छ ।
काठमाडौँमा साइकल चलाउन सिकाउने प्रशिक्षण भन्दा या सुन्दा यो आवश्यक छ र भन्ने लाग्न सक्छ तर यो आवश्यक मात्र होइन अति आवश्यक छ । कार्यक्रममा वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले भन्नुभयो, ‘साइकल चलाउने जान्ने भएर हजुरआमाहरुको, आमाहरुको, गृहिणीहरुको जीवनशैली नै अर्कै भएको छ ।’
‘सडक र ढल बनाउनु मात्र विकास होइन । स्वास्थ्य, शिक्षा, खेलकुदसँगै सामाजिक व्यवथापनका काम गर्नु पनि विकास हो ।’ डंगोलले भन्नुभयो, ‘ठूलो घर हुनु मात्र सम्पत्ति होइन । आपसमा भेटघाट गर्न पाइएन भने आत्मीयता भएन भने घर र पैसाले मात्र सुख दिँदैन । यसकारण हामीले यस्ता क्षेत्रमा लगानी बढाएका छौँ ।’ डंगोलको भनाइ थियो ।
‘वडाको सहयोगमा स्वयम्भू डल्लु साइकल पुचले साइकल प्रशिक्षण सञ्चालन गरिरहेको छ । अहिलेसम्ममा ५ वटा समूहको प्रशिक्षण सकियो । अहिलेसम्म प्रशिक्षणमा आउनेमध्येको कम उमेर २३ वर्षको छ । उहाँहरुमध्ये पनि विवाहित धेरै हुनुहुन्छ ।’ कार्यक्रमका बारेमा जानकारी दिँदै कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जनले भन्नुभयो, ‘आमाछोरी, सासुबुहारी, श्रीमान्श्रीमती, दिदीबहिनीहरु प्रशिक्षणमा हुनुहुन्छ । अघिल्ला चरणमा साइकल सिक्नेहरु बुढानीलकण्ठ, भक्तपुर ललितपुरसहित विभिन्न ठाउँमा साइकल लिएर जान सक्ने हुनुभएको छ ।’
वडाले नागरिकका अपेक्षा अनुसार कार्यक्रम तर्जुमा तथा कार्यान्वयनलाई प्राथमिकता दिएको छ । वडा सचिव प्रमोद अधिकारी भन्नुहुन्छ, ‘साइकल प्रशिक्षण कार्यक्रम वडाका प्रभावकारी कार्यक्रममध्येको एउटा हो ।’ वडा सदस्य विजु श्रेष्ठले साइकल सिक्दा आपसी सम्बन्ध प्रगाढ बनेको र सामाजिक विवादहरु कम हुन थालेको महसुस गर्नुभएको छ । यस्तै अर्का वडा सदस्य रीता मिजारले, समतामूलक समाज निर्माणमा प्रशिक्षण सिकाइ योग्य कार्यक्रम रहेको उल्लेख गर्नुभयो ।
किशोरीहरु भने साइकल सिक्न लजाउने गरेको साइकल पुचःका अध्यक्ष मचाकाजी महर्जनको अनुभव छ । साइकल सिक्नेहरुले प्रशिक्षणबाट आफूहरुले बाहिरी संसारमा पहुँच कढेको अनुभूति सुनाउनुभयो । यस क्रममा वडाका इञ्जिनियर सुमन वादे श्रेष्ठले श्रीमतीले साइकल सिक्दाको अनुभव सुनाउँदै भन्नुभयो, श्रीमतीले साइकल गुडाउन सिक्दा सिक्दै मैले घरमा खाना बनाउन सिकेँ । एक महिना भयो, उहाँले पनि राम्ररी साइकल गुडाउन सक्नुभएको छैन । मैले पनि राम्ररी खाना बनाउन सकेको छैन । एक महिना अवधि थपौँ । श्रीमती राम्ररी साइकल कुदाउन सक्ने हुन्छिन् । म राम्ररी खाना बनाउन जान्ने हुन्छु ।
प्रशिक्षणका लागि दर्ता शुल्क ५ सय रुपैयाँ तिर्नुपर्छ । प्रशिक्षण भने निःशुल्क हो ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App