Logo
  • वि.सं.: २०८३, जेठ १७ आइतबार​

  • इ.स.: 2026 May 31,SUNDAY

  • वि.सं.: २०८३, जेठ १७ आइतबार​

  • छात्रवृत्ति छनोट परीक्षाको योग्यता सूची २४ घण्टाभित्र प्रकाशन गर्ने विभागको तयारी 

    'प्रारम्भिक योग्यता क्रममा चित्त नबुझे पुनर्योगका लागि २ दिनको समय दिएपछि योग्यता क्रमको सूची प्रकाशन हुनेछ' – शिक्षा अधिकारी, ढकाल

    काठमाडौँ । संस्थागत विद्यालयहरुबाट प्रदान हुने कक्षा ११ र १२ को छात्रवृत्तिका लागि काठमाडौँ महानगरपालिकाले आज छनोट परीक्षा सम्पन्न गरेको छ । ८३ वटा केन्द्रमा आज विहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन भएको हो । परीक्षाका लागि अनलाइन प्रणालीबाट आवेदन दिने १६ हजार ५४९ जना छात्र र १० हजार ३३३ जना छात्रा र ६ जना अन्य गरी २६ हजार ८८८ जना विद्यार्थीमध्ये २६ हजार ६०३ जना विद्यार्थीको आवेदन स्वीकृत भएको थियो । स्वीकृत आवेदकमध्ये २२ हजार १६ जना अर्थात् ८२.७६ प्रतिशत विद्यार्थी परीक्षामा सहभागी हुनुभयो । 

    छात्रवृत्ति परीक्षा समितिका संयोजक एवं शिक्षा अधिकारी नमराज ढकालले स्वच्छ वातावरणमा परीक्षा सम्पन्न भएको जानकारी दिनुभयो । ‘अबको २४ घण्टाभित्र योग्यता क्रमको प्रारम्भिक नतिजा प्रकाशन गर्ने तयारी सुरु गरिसकेका छौँ ।’ उहाँले भन्नुभयो, ‘प्रारम्भिक योग्यता नतिजामा चित्त नबुझ्नेहरुका लागि २ दिन पुनर्योगको समय दिन्छौँ । त्यो अवधि र प्रक्रिया सकिएपछि योग्यता क्रमको प्रकाशन हुन्छ । यसैका आधारमा पहिलो चरणको मनोनयन प्रकाशन गर्नेछौँ ।’

    उत्तर पुस्तिका ओएमआर (अप्टिकल मार्क रिकग्निसन) विधिबाट परीक्षण हुनेछ । प्रणालीबाट उत्तर पुस्तिका परीक्षणको तयारी गरिरहनु भएका शिक्षा अधिकृत प्रल्हाद खतिवडाले प्रणालीबाट प्राप्त नतिजामध्ये ५ प्रतिशत  उत्तर पुस्तिकाको रेन्डम स्याम्प्लिङ गरिने जानकारी दिनुभयो । 

    शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार २०८० सालमा १५५ वटा विद्यालयमा ३ हजार ४५९ जना विद्यार्थीलाई छात्रवृत्तिका लागि मनोनयन गरिएको थियो । त्यस वर्ष ३ हजार ९१३ जना छात्र र २ हजार १०४ जना छात्रा गरी ६ हजार १७ जनाले आवेदक विद्यार्थी हुनुहुन्थ्यो । आवेदकमध्ये ३ हजार ४ सय छात्र र १ हजार ७७२ जना छात्रा गरी ५ हजार १७२ जना विद्यार्थी परीक्षामा सहभागी हुनुभएको थियो ।

    ‘२०८१ सालमा आवेदकको संख्या र विद्यालयको संख्या पनि बढ्यो ।’ खड्का थप्दै भन्नुहुन्छ, ‘यस वर्ष ११ हजार ८७१ जना विद्यार्थीले आवेदन दिनुभएको थियो । उहाँहरुमध्ये ११ हजार २८१ जनाको आवेदन स्वीकृत भएको थियो । स्वीकृत आवेदनमध्ये विज्ञान विषयका लागि ८ हजार ४९७, व्यवस्थापन विषयका लागि २ हजार ५८१, कानुन विषयका लागि १५३, मानविकी विषयका लागि १३ र शिक्षा विषयका लागि ३७ जना विद्यार्थी हुनुहुन्थ्यो । त्यस वर्ष १७५ वटा विद्यालयमा अध्ययन गर्न ३ हजार ८०१ जना विद्यार्थीलाई मनोनयन गरिएको थियो ।’

    २०८२ सालमा १८ हजार आवेदन थिए । यसमध्ये ९ हजार ९३२ जना छात्र, ६ हजार १९९ जना छात्रा र अन्य ६ जना गरी १६ हजार १३७ वटा विद्यार्थीको आवेदन स्वीकृत भएको थियो । उहाँहरुमध्ये छनोट परीक्षा दिनेमध्ये ३ हजार ७ सय विद्यार्थीलाई छात्रवृत्तिका लागि मनोनयन गरिएको खड्काको भनाइ छ । 

    यस वर्ष १४५ वटा विद्यालयमा करिव ५ हजार विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्ने विभागको अनुमान छ । गएको वर्ष विद्यार्थी पठाइएका विद्यालयहरुमध्ये केही विद्यालयमा विषय अध्यापन नगराउने, संस्थागत विद्यालयहरु नपठाइने भएकोले यस वर्ष विद्यालयको संख्या गएको वर्षभन्दा कम भएको हो । तर, कार्यविधिले विद्यार्थी संख्याको आधारमा कोटा निर्धारण हुने भएपछि छात्रवृत्ति पाउने विद्यार्थीको संख्या थपिने आँकलन गरिएको हो । 

    मनोनयनमा परेका सबै विद्यार्थी भर्नाका लागि नजाने गएका वर्षका तथ्याङ्कले देखाउँछ । गएको वर्ष ३ हजार ७ सय विद्यार्थीलाई शिफारिस गरिएकोमा ३ हजार ३०२ जना विद्यार्थी भर्ना हुनुभयो । 

    छावृत्तिलाई व्यवस्थित गर्न महानगरपालिकाकाले यस वर्ष कार्यपालिकाबाट कार्यविधि जारी गरेर छात्रवृत्ति वितरण प्रणालीलाई थप व्यवस्थित बनाएको छ । कार्यविधिमा छात्रवृत्तिलाई परिभाषित गर्दै कक्षा ११ र १२ मा निजी शिक्षण संस्थाले काठमाडौँ महानगरपालिकाबाट यसै कार्यविधि अनुसार छनोट गरेर अध्ययनका लागि सिफारिस गरेका विद्यार्थी वा निजका अभिभावकबाट प्रचलित कानुनबमोजिम सरकारलाई तिर्नुपर्ने शुल्क वा दस्तुर बाहेकका कुनै पनि शीर्षकमा कुनै पनि शुल्क नलिने गरी प्रदान गरिने अध्ययन सुविधा भनेर परिभाषित गरेको छ । 

    गएको वर्षसम्म सबै विद्यालयहरुले १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनु पर्ने थियो । अव विद्यार्थी संख्याको आधारमा छात्रवृत्ति निर्धारण हुनेछ । जसअनुसार ५ सयजना भन्दा कम विद्यार्थी भएका विद्यालयले न्यूनतम  १० प्रतिशत, ५ सयदेखि ८ सय जनासम्म विद्यार्थी भएका विद्यालयहरूले न्यूनतम १२ प्रतिशत र ८ सयजनाभन्दा धेरै विद्यार्थी भएका विद्यालयहरूले न्यूनतम १५ प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्नेछ । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ बमोजिम कार्यविधिमा यो वर्गीकरण राखिएको हो । यस प्रयोजनका लागि विद्यार्थी गणना गर्दा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थी गणना हुँदैनन् । 

  • प्रकाशित मिति आइतबार​ १७ जेठ २०८३ ०३:०३ PM