Logo

महानगरको प्रमुखमा शाह र उपप्रमुखमा डंगोल निर्वाचित

महानगरको प्रमुखमा शाह र उपप्रमुखमा डंगोल निर्वाचित

काठमाडौँ । काठमाडौँ महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) निर्वाचित हुनुभएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत बैशाख ३० गते सम्पन्न मतदानबाट ६१ हजार ७६७ मत प्राप्त गरेर उहाँ प्रमुख पदमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेलवार सिर्जना श्रेष्ठले ३८ हजार ३४१ मत प्राप्त गर्नुभएको थियो । यस्तै तेस्रो धेरै मत पाउने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गर्नुभएको थियो । 

डा. रामनारायण शाह र दूर्गादेवी शाहका पुत्र बालेन्द्र शाह २०४७ बैशाख १४ गते जन्मनुभएको हो । सिभिल इञ्जिनियरिङ्मा विई र स्ट्रक्चर इन्जिनियरिङ्मा मास्टर पूरागर्नुभएका शाहले गएको १ दशकबाट हिपहप साहित्यलाई इञ्जिनियरिङ् पेशासँगै अगाडि बढाउँदै ल्याउनु भएको छ । इञ्जिनियरिङ् पेशाका सिलसिलामा उहाँले ७ वटै प्रदेशका विभिन्न ठाउँमा डिजाइन र सुपरभिजन गर्दै आउनुभएको छ । 

सामाजिक तथा सहरी व्यवस्थापनलाई दिगो बनाउन सहभागितामुलक पद्धतिबाट विकासलाई अगाडि बढाउने शाहको सोच छ । शाहले फोहोरमैला व्यवस्थापनमा देखिएको समस्या समाधानलाई आफ्नो पहिलो कामका रुपमा लिनुभएको छ । 

निर्वाचन परिणामअनुसार आँखी झ्याल चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मदनदास श्रेष्ठले ५ हजार ७७० मत, विवेकशील साझा पार्टीकी प्रत्याशीले समीक्षा बास्कोटाले ६४७ मत प्राप्त गर्नुभयो । 

प्रमुखका प्रत्याशीमा दलतर्फ राष्ट्रिय यथार्थवादी पार्टीका उम्मेदवार आनन्दराज जोशीले ११ मत प्राप्त गर्नुभयो । यसै गरी नेपाल परिवार दलका उम्मेदवार डा. पियरत्न महर्जनले १६ मत प्राप्त गर्नुभयो । स्वतन्त्रतर्फ भालु निर्वाचन चिन्ह भएका रोशन शाहीले शुन्य मत छ । 

प्रमुख पदका लागि ५५ जनाको उम्मेदवारी परेको थियो । जसमा बालेन्द्र शाह (बालेन), सुमन सायमीलगायत ३५ जना स्वतन्त्र उम्मेदवार हुनुहुन्थ्यो । प्रमुखका प्रत्याशीमध्ये ८ जना महिला हुनुहुन्थ्यो ।

निर्वाचनबाट उपप्रमुखको पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गर्नुभयो । उहाँ गठबन्धनका उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । यसै गरी आँखी झ्याल निर्वाचन चिन्ह भएकी विद्या श्रेष्ठ महर्जनले १३ हजार ६९५, राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार विनिता मगैयाले १२ हजार १४१ मत प्राप्त गर्नुभयो । यसै गरी लौरो चुनाव चिन्ह भएकी स्वतन्त्र उम्मेदवार बेन्जीसिंह महर्जनले ६ हजार ५५५, विवेकशील साझा पार्टीकी उम्मेदवार कीर्ति कंसाकारले २ हजार ५९० मत प्राप्त गर्नुभयो । उपप्रमुखका उम्मेदवारहरुमा सबैभन्दा कम स्वतन्त्र उम्मेदवार बँदेल निर्वाचन चिन्ह भएका अम्बरबहादुर खत्रीले ६ मत प्राप्त गर्नुभयो । 

एक दशकअघिकी मिस नेवा डंगोल लिपी क्वीनका रुपमा परिचित हुनुहुन्छ । काठमाडौँको सभ्यता बोकेको रञ्जना लिपीलाई पुनस्र्थाना गर्न नविन सोचका साथ विश्वभरका नेपालीलाई सिकाउँदै आएकी डंगोल लिपी गुरुका रुपमा पनि परिचित हुनुहुन्छ । २०४९ चैत ३ गते काठमाडौँ महानगरको वडा २१ फसिगाँ लगनमा बुबा सतु डंगोल र आमा संगीता डंगोलको कोखबाट जन्मनु भएकी सुनिता सांस्कृतिक तथा सामाजिक अभियन्ताकी रुपमा पनि परिचित हुनुहुन्छ । सञ्चार क्षेत्रमा आवद्ध रहनुभएकी डंगोलले काठमाडौँ महानगरको सहरी योजना आयोगमा सहायक विज्ञका रुपमा काम गरिसक्नु भएको छ । 

उपप्रमुख पदमा उम्मेदारी दिने ३० जनामध्ये १९ जनाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन पत्र दर्ता गर्नुभएको थियो । उहाँहरुमध्ये १३ जना महिला हुनुहुन्थ्यो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौँले जेठ १२ गते राती निर्वाचन परिणाम सुनाएको थियो । कार्यालयले १३ गते विजयी प्रमुख उपप्रमुखलाई बधाई तथा शुभकामना दिएको थियो । त्यसपछि शाह धन्यवाद ¥यालीमा सहभागी हुनुभएको थियो । त्यसपछि स्यानिटरी ल्याण्डफिल साइटको अवस्था र व्यवस्थापन बुझ्न उहाँ ओखरपौवा पुग्नुभएको थियो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमपछि बोल्दै प्रमुख शाहले सबैसँग मिलेर काठमाडौँलाई नमूना सहर बनाउने र फोहोरमैलाको व्यवस्थापलाई आफ्नो पहिलो कामका रुपमा लिएको बताउनुभयो । यस्तै उपप्रमुख डंगोलले, राजनीति र व्यक्तिगत चाहनाभन्दा माथि उठेर काम गर्ने बताउनुभयो । 

नवनिर्वाचित जनप्रतिनिधिको पद तथा गोपनीयताको शपथ आउँदो सोमबार हुनेछ । त्यसै दिन जनप्रतिनिधिहरुले पदबहाली गर्नुहुनेछ ।   

 

  • प्रकाशित मिति: शुक्रबार​ २७ ेठ २०७९ १३:२८