फोहोर व्यवस्थापनको व्यवहारिक समस्या निरीक्षण गर्न प्रमुख, उपप्रमुख ल्याण्डफिल साइटमा
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह बालेनले ओखरपौवास्थित स्यानिटरी ल्याण्डफिल साइटबाट फैलिएको दुर्गन्ध ७ दिनभित्र हटाउन प्रयास गरिने बताउनुभएको छ । शुक्रबार उपप्रमुख सुनिता डंगोलसहित साइटको स्थलगत भ्रमण अवलोकन गर्न पुग्नु भएका प्रमुख शाहले यस्तो बताउनुभएको हो ।
‘साइटको दिगो व्यवस्थापन हाम्रो पहिलो काम हो । यसका लागि म क्षेत्रगत अधिकारी र सरोकारवाला अधिकारीहरुलाई भेट्ने र योजना बनाउने काम गरिरहेको छु ।’ प्रमुख शाहले भन्नुभयो ‘रसायनको प्रयोग गरेर ७ दिनभित्र साइटको दुर्गन्ध हटाउने काम गर्नेछौँ । यसका लागि प्रयोग गरिने रसायनको परीक्षण भइरहेको छ । समस्याको यो पहिलो समाधान हुनेछ । त्यसपछि ड्रिल गरेर साइटको ग्याँस निकालिनेछ । साइटको फोहोरलाई माटोको तहले छोपिनेछ ।’
फोहोर व्यवस्थापनका लागि आफूले प्रधानमन्त्रीलाई भेटेर सहयोग गर्न आग्रह गरिसकेको, सहरी विकास मन्त्रीसँग छलफल भइसकेको, प्रमुख शाहको भनाइ थियो ।
त्यस क्रममा उपप्रमुख डंगोलले, आफूहरुले काठमाडौँसँगै ल्याण्डफिल साइट रहेको स्थान ओखरपौवालाई पनि समान दृष्टिमा राखेर हेरेको बताउनुभयो । ‘यहाँको समस्या पनि हाम्रो आफ्नै समस्या हो । समान प्राथमिकताका आधारमा समाधान गर्छौँ ।’ डंगोलको भनाइ थियो ।
साइटको बैज्ञानिक व्यवस्थापन, साइटमा पुग्न मुड्कु तीनपिप्ले, तीनपिप्ले बञ्चरे सडक सुधारसँगै स्थानीय पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, रोजगारीलगायत स्थानीयहरुले आर्थिक, सामाजिक र शैक्षिक विकासका माग उठाइरहेका छन् । प्रमुख, उपप्रमुखलाई भेटेपछि बिमला न्यौपाने, श्रीहरि ढकाल, भजु कान्छुलगायत स्थानीयले आफूले विगतदेखि उठाउँदै आएका माग, अहिलेको अवस्था र आफ्ना चाहना सुनाउनुभएको थियो ।
त्यस क्रममा ककनी गाउँपालिकाका अध्यक्ष श्री सुमन तामाङ्ले दिगो व्यवस्थापनबाट दीर्घकालीन समाधान खोजिनुपर्ने बताउनुभयो ।