कर्मचारीलाई सीपीआरको प्रयोगात्मक कक्षा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कर्मचारीहरुले कार्डिपल्मोनरी रिससिटेसन (सीपीआर) को आधारभूत तालिम लिएका छन् । विपद क्षति न्यूनीकरणका लागि पूर्वतयारी, विपतका समयको प्रतिकार्य र त्यसपछिको पुनःस्थापनामा वडाले निर्वाह गर्नु पर्ने भूमिका, यसका लागि जान्नु पर्ने आधारभूत ज्ञान र व्यवस्थापनका लागि हुनै पर्ने सिप विकासका लागि आयोजना गरिएको ३ दिने तालिम (मंसिर १५, १६ र १७ गते) को अन्तिम दिन यसको अभ्यास गरिएको हो । विपद व्यवस्थापन विभागले आयोजना गरेको तालिममा वडा सचिव, इञ्जिनियर र विपदका समयमा सक्रिय हुनु पर्ने विभागहरु (प्रशासन, लेखा) का अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।
सीपीआर जीवनको अन्तिम अवस्थामा पुगेका व्यक्तिको फोक्सो र मुटुको गतिलाई पुनःस्थापना गर्ने प्रक्रिया हो । व्यक्ति जुनसुकै समयमा पनि यो अवस्थामा पुग्न सक्छ । त्यसबेला स्वास्थ्यकर्मी नहुन सक्छन् । यस अवस्थामा सीपीआर बुझेका व्यक्तिले सीपीआर गरेर अवस्थालाई सामान्य बनाउने प्रयास गर्न सक्छन् । तालिममा प्रशिक्षक नवराज भण्डारीले भन्नुभयो, ‘धेरै व्यक्ति एकै पटक यस अवस्थामा पुगेका छन् भने पहिले छातीमा हर्कुच्चाले थिच्नुपर्छ । त्यसपछि घाँटीमा केही अड्किएर वा घाँटी बाङ्गिएर सास फेर्ने बाटो रोकिएको हेरेर त्यस्तो भए खुलाउनु पर्छ । त्यसपछि मुखबाट सास दिनुपर्छ । ५ पटक यस्तो प्रयास गर्दा व्यक्तिले पुनः जीवन पाउन सक्छ ।’ उहाँले यो जोखिमको अभ्यास गराउनुभएको थियो ।
नसर्ने रोगले व्यक्तिहरुले मृत्युवरण गरिरहेको सन्दर्भमा आफैँले कम गर्न सक्ने जोखिमप्रति आफैँ संवेदनशील हुनुपर्छ । तालिम समापन अवसरमा विभागका प्रमुख गंगाधर गौत्तमले भन्नुभयो, ‘नागरिकका सम्भावित खतरा कम गराउन हामी कर्मचारी र महानगरपालिकाको संस्थागत क्षमता बढाउनु पर्नेछ । विभागले यसलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’
आफूले सिकेको ज्ञान र सिपबाट वडाबासीलाई लाभ दिनुपर्छ । कार्यक्रममा मानव संशाधन महाशाखा प्रमुख प्रवीण प्याकुरेलले वडा सचिवहरुलाई भन्नुभयो, ‘वडामा विपद जोखिमको शिक्षा लिएका, तालिम लिएका वा जोखिमका समयमा काम गर्न सक्ने व्यक्तिहरुको पहिचान गरेर समूह निर्माण गर्नु । यो समूहलाई क्षमता विकास गराउनु । आपतका समयमा व्यक्तिको ज्यान बचाउने यही समूहको भूमिका सबैभन्दा प्रभावकारी हुन्छ । तालिम प्राप्त व्यक्ति आइपुगुञ्जेलमा उनीहरुले धेरै व्यक्तिलाई मृत्यु हुनबाट जोगाइसकेका हुन्छन् ।’
विज्ञसहित क्षेत्रगत रुपमा भूमिका हुनेहरुको रोष्टर बनाएर विपद जोखिम न्युनीकरणको योजना बनाउनु राम्रो हुन्छ । प्रशिक्षककातर्फबाट बोल्दै डा. श्रीराम शर्माले भन्नुभयो, ‘सबै काम एउटै संयन्त्रबाट सम्भव हुँदैन । महानगरपालिकाले नेतृत्व गर्नुपर्छ । विज्ञताका आधारमा क्षेत्रगत समूहबाट विपद व्यवस्थापन गराउनु पर्छ ।’
स्थानीयबासीको जनजीवनसँग पालिका जत्तिको नजिक सरकारी अन्य संयन्त्र हुँदैन । यसकारण पालिकाहरुले विपद व्यवस्थापनलाई प्रभावकारी सम्पादन गर्न सक्छन् । गर्छन । प्रशिक्षक गोपीकृष्ण बस्यालले भन्नुभयो, ‘अहिले तपाईँ त्यही भूमिकामा हुनुहुन्छ । कानुनले दिएको यो भूमिका निर्वाह गर्नु पर्ने समयका लागि तत्पर रहनुपर्दछ ।’
जनप्रतिनिधि र कर्मचारीहरुको दृष्टि एउटै हुनुपर्छ । बुझाइमा समानता ल्याउन विभागले केही थप काम गर्नु पर्ने देखिन्छ । सहभागीकातर्फबाट वडा २२ का सचिव ज्ञानेन्द्र विवशले धारणा राख्नुभयो ।
तालिममा ६ वटा कार्यपत्र (आधारभूत सैद्धान्तिक पक्षमा १ वटा, आगलागी विषयमा १ वटा, विद्युतजन्य जडवडीबाट सिर्जना हुने विपदमा १ वटा, भूकम्पमा १ वटा, सडक दुर्घटनामा १ वटा र विपदजन्य स्वास्थ्य जोखिममा १ वटा) प्रस्तुतिकरण छन् । प्रस्तुतिकरण, अन्तरक्रिया र समूहगत छलफलजस्ता विधिबाट तालिम सञ्चालन भइरहेको छ । सहभागीहरुले सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम केन्द्र, कुरिनटारमा रहेको आगलागी नियन्त्रण, बाढी पहिरो तथा सडक दुर्घटना व्यवस्थापन प्रयोग गरिने प्रविधि तथा उपकरण र तिनको प्रयोग अवलोकन गरेका छन् । तालिममा कार्डिपल्मोनरी रिससिटेसन (सीपीआर) को अभ्यास गरिनेछ । काठमाडौँका मूख्य ५ वटा विपदमा पहिलो भूकम्प हो । यसपछि क्रमशः बाढी, आगलागी, सडक दुर्घटना र महामारी हुने ।