वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
आइतबार महानगर अनुसन्धान शोधवृत्तिको जानकारीमूलक सत्र हुने : आउन नसक्ने अनलाइनमा जोडिन सक्ने
काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले आउँदो आइतबार (माघ २१ गते) महानगर अनुसन्धान शोधवृत्तिको जानकारीमुलक सत्र (इन्फो सेसन) सञ्चालन गर्ने भएको छ । यो चौथो संस्करणमा आवेदन इच्छुक शोधकर्ता लक्षित कार्यक्रम हो । आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्नुहुन्छ, ‘कार्यक्रमको उद्देश्य, यसबाट अपेक्षा गरिएको नतिजा, क्षेत्र र विषय, आवेदकको योग्यता, प्रस्तावको मापदण्ड र सीमा, छनौट प्रक्रिया, कार्यक्रमको समापन प्रक्रिया र विगतका अनुभवका बारेमा जानकारी दिन यो सत्र सञ्चालन गर्न लागिएको हो ।’
इन्फो सेसनमा आउन सक्नुभएन भने तलको गुगल मीटको लिङ्क क्लिक गरेर अनलाइनबाट सहभागी हुन सक्नुहुनेछ । सत्रमा उपस्थिति हुन चाहनेले आइतबार दिउँसो पौने २ बजेभित्र काठमाडौँ प्लाजा, कमलादीमा रहेको सहरी योजना आयोगको सभा कक्षमा आउन सक्नुहुनेछ ।https://meet.google.com/gky-jrjm-yzd
पुस १२ गते सार्वजनिक सूचना प्रकाशन गरेर महानगरपालिकाले आवेदन माग गरेको छ । अहिलेसम्ममा १५० जना सहभागीले आवेदनका लागि अनलाइन सम्पर्कमा आउनुभएको छ । प्रस्तावका लागि शोधकर्ताहरुबाट थप समयका लागि माग आइरहेका थियो । यसलाई दृष्टिगत गर्दै १० दिन समय बढाइएको झाले बताउनुभएको छ । यसबाट माघ २७ गतेभित्र आवेदन दिन सकिने भएको छ ।
अनुसन्धान गर्न चाहेको विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र अनुसन्धान, अध्यापन वा विषयगत काममा २ बर्षको अनुभव हुनेले आवेदन दिन सक्नेछन् । नेपाली वा अंग्रेजीमध्ये कुनै एक भाषामा पोख्त हुनुपर्नेछ । अध्ययनपछि प्रतिवेदन, लेख र प्रस्तुति यिनै दुईमध्ये एक भाषामा तयार पार्नु पर्नेछ । आवेदकलाई उमेरका हद राखिएको छैन । यसमा १० जना शोधकर्ता छानिनेछन् । उनीहरुले ६ महिनामा शोध कार्य सम्पन्न गर्नुपर्नेछ ।
विविध विकास आयामहरुलाई एकीकृत गर्न तोकिएका विषयमा तथ्यमा आधारित नीतिगत तथा कार्यमूलक अनुसन्धान प्राप्त गर्नु कार्यक्रमको उद्देश्य हो । यसले आयोजनाहरुको पहिचान गर्न सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।
आवेदन भर्न तलको लिङ्क थिच्नोस् https://shorturl.at/izB57
अध्ययनका बिषय काठमाडौँ महानगरपालिकासँग प्रत्यक्ष सम्बन्ध राख्ने हुनुपर्नेछ । अनुसन्धानको परिणाम नीतिगत निर्णय, गठन तथा कार्यान्वयनमा उपयोग गर्न सकिने, अनुसन्धानको परिणाम पूर्वाधार तथा सामाजिक विकास आधारित आवश्यकता अनुरुप परियोजनाको पहिचान तथा गठन गर्न सकिने प्रस्तावलाई प्राथमिकता दिइनेछ ।
शोधसँग सम्बन्धित विषय, अध्ययनका सीमा तथा सर्तलगायत विषयका लागि कागजपत्र हेर्नुहोस्
यस वर्षका लागि छानिएका शोधका विषयहरु
चौथो संस्करणका लागि १० वटा क्षेत्र छानिएका छन् । १) इतिहास, कला, संस्कृति, परम्परा २) भाषा, साहित्य ३) सहरी योजना, सहरी डिजाइन, वास्तुकला, यातायात, भौतिक पूर्वाधार ४) जनसांख्यिकीय, समाजशास्त्रीय वा मानवशास्त्रीय अध्ययन ५) शिक्षा, सामाजिक विकास, युवा, सामाजिक अभियान स्वास्थ्य, जीवनस्तर ६) स्थानीय आर्थिक विकास, सहरी वित्त, उद्यमशीलता, मानव संशाधन विकास ७) सहरी अनौपचारिक क्षेत्र, गरिवी, अनधिकृत बसोवास ८) वातावरण, दिगो विकास, विपद् व्यवस्थापन, जलवायु परिवर्तन ९) कानून, शासन र १०) सूचना तथा सञ्चार, नविन सोच यस बर्ष छानिएका अनुसन्धानका क्षेत्र हुन् ।
तेस्रो संस्करण (गएको वर्ष) के भएको थियो
गएको वर्ष शोधवृत्तिको तेस्रो संस्करण चलेको थियो । यस संस्करणमा ‘काठमाडौं महानगरपालिकामा सहरी सडक सुरक्षाको विश्लेषण’, ‘काठमाडौं महानगरपालिकामा भर्टिकल फार्मिङको सम्भावना’, ‘ज्येष्ठ नागरिकहरुको मानसिक स्वास्थ्यका लागि महानगरपालिकाको जिम्मेवारी’, ‘काठमाडौँ महानगरपालिकाका विद्यालयहरूमा स्टीम पेडागोजी लागू गर्ने विश्वास र शिक्षकहरूको तत्परता’, ‘काठमाडौँ महानगरपालिकामा आगलागी सम्भावित क्षेत्र म्यापिङ’, ‘काठमाडौँ महानगरपालिकाका अटिजम भएका बालबालिकाका लागि सूचना प्रविधि (आइसीटी) मा आधारित सिकाइ’, ‘काठमाडौं महानगरपालिकामा अनियमित रूपमा तयार गरिएको कंक्रिटमा मिक्स डिजाइन कंक्रिटको आर्थिक र संरचनात्मक प्रभाव अध्ययन’, ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र चराहरूको लागि वासस्थान र कार्वन लागि स्पन्जको रूपमा सहरी प्याचहरूको अनुसन्धान’, ‘काठमाडौं महानगरपालिकाका विद्यालयहरूमा नेपाल भाषाको शिक्षण र सिकाइ अभ्यासको अध्ययन’ का विषयमा शोध कार्य भएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App