२८ औँ कार्यपालिका बैठक सम्पन्न : जग्गा भोगाधिकारसहितका विषयमा छलफल र निर्णय
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज कार्यपालिकाको २८ औँ बैठक सम्पन्न भएको छ । काठमाडौँ प्लाजा कमलादीमा बसेको बसेको बैठकका लागि विविधसहित १६ वटा प्रस्ताव थिए ।
कार्यपालिका बैठक सम्बन्धी विस्तृत जानकारी प्रत्यक्ष प्रसारण तलको भिडियोबाट लिन सकिनेछ ।
बैठकमा महानगरपालिकाको वडा नंं २९ मा नेपाल सरकारको नाममा रहेको जग्गा भोगाधिकार प्राप्त गर्ने, आर्थिक बर्ष २०८१/०८२ का लागि बजेट तथा कार्यक्रम तर्जुमा तयारीका सिलसिलामा पूरा गर्नु पर्ने विभिन्न चरणमध्ये विषयगत क्षेत्र विभाजन गर्ने र सदस्यलाई जिम्मेवारी दिन कार्यपालिकाबाट निर्णय गर्नु पर्ने व्यवस्था छ । महानगरपालिकामा यस अघि नै विषयगत समितिहरु गठन भइसकेकाले गठित समितिहरुलाई जिम्मेवारी दिने निर्णय भएको छ । राष्ट्रिय योजना आयोगबाट लागू गरेको स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८ मा योजना तर्जुमाका ७ वटा चरण तय गरिएका छन् ।
बैठकमा उपप्रमुख सुनिता डंगोलले अष्ट्रेलिया भ्रमणको प्रतिवेदन प्रस्तुत गर्दै उक्त प्रतिवेदन प्रमुख शाहलाई बुझाउनु भएको थियो ।
बैठकले करार सेवामा कार्यरत कर्मचारीहरुको म्याद २०८१ असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।
बैठकमा विषयगत समितिका संयोजकहरुले आफूसँग सम्बन्धित प्रस्तावहरु राख्नुभएको थियो । यसरी प्रस्ताव पेश गर्नेहरुमा सुशासन समितिका संयोजक ख्यामराज तिवारी, विधायन समितिका संयोजक मचाराजा महर्जन, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ र राजस्व समितिका सदस्य एवं वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठ हुनुहुन्छ ।
उहाँहरुले राख्नुभएका प्रस्तावहरुमा प्रवक्ता नविन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार के. सी., शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जन, वित्त समितिका संयोजक इश्वरमान डंगोल, वडाध्यक्षहरु सरोज ढकाल र उदयचुडामणि बज्राचार्य, कार्यपालिका सदस्यहरु अनिता कार्की ढली, मीना सिंह र महेश नेपाली, कार्यवाहक अध्यक्ष हीरादेवी पोखरेलले आफ्ना धारणा राख्नुभएको थियो ।
प्रशासनिक विषयमा बैठकका सचिव एवं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले स्पष्ट पार्नुभएको थियो । यस्तै विषयमा स्पष्ट बनाउन प्रशासन विभागका प्रमुख दिपक अधिकारी, कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य, सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्य र बजेट तथा अनुगमन महाशाखा प्रमुख बिकास चित्रकारलाई समय दिइएको थियो ।