गणक र सुपरिवेक्षकलाई तालिम दिन ‘प्रशिक्षक प्रशिक्षण’ सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि ‘गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमको तथ्याङ्क संकलनमा खटिने गणक र सुपरिवेक्षकको तालिमका लागि’ प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ । सामाजिक विकास विभागले थालेका प्रशिक्षणमा महानगरपालिकाका २६ जना अधिकारीहरु सहभागी हुनुहुन्छ । तालिम ३ दिन चल्नेछ । प्रशिक्षणमा गरिबी, गरिब परिचय पत्र, विवरण संकलन र परिचय पत्रको कानुनी तथा सैद्धान्तिक पक्ष, विवरण संकलन गर्ने, भण्डारण गर्ने तथा सम्बन्धित अधिकारीको पहुँचमा पठाउने विधि सिकाइनेछ । यसबाट प्रशिक्षक बन्नु हुने अधिकारीहरुले चैत २० गतेदेखि गणक र सुपरिवेक्षकलाई तालिम दिनु हुनेछ ।
ट्याब्लेटबाट विवरण संकलन हुने यस कार्यमा खटिने गणक र सुपरिवेक्षकका रुपमा काम गर्ने जनशक्ति प्राप्त गर्न गएको मंसिर १६ गते सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । यसबाट प्राप्त आवेदनहरुबाट योग्यताका आधारमा माघ १४ गते सर्टलिष्टमा छानिनुभएका उम्मेदवारको सूची प्रकाशन गरिएको थियो । त्यही महिनाको २१ गतेदेखि २४ गतेसम्म लिइएको अन्तरवार्ताबाट फागुन १७ गते योग्यता क्रमको अन्तिम नतिजा प्रकाशन गरिएको थियो । यसबाट २१ जना सुपरीवेक्षक र २०९ जना गणक छानिनु भएको छ ।
गणकहरु सबै घरमा पुग्ने र वास्तविक सूचना लिने कामलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ । सामाजिक विकास समितिका रामकुमार के. सी. भन्नुहुन्छ, ‘असार मसान्तभित्र तथ्याङ्क संकलन गर्ने गरी काम थालिएको छ । काम गर्ने जनशक्ति छनोट भइसकेको छ । ट्याब्लेट प्राप्त भइसकेको छ । तालिम सुरु भइसक्यो । गणक र सुपरीवेक्षकको तालिम सकिएपछि फिल्डको काम हुनेछ ।’
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाका अनुसार काठमाडौँ महानगरपालिका अन्तिम हो । यसपछि तथ्याङ्क संकलनको काम सकिनेछ ।
तथ्याङ्क संकलनको थालनी २०७० सालमा २३ वटा जिल्लाबाट भएको हो । हरेक ५ बर्षमा परिचय पत्र नविकरण गराउनु पर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म कसैको पनि परिचय पत्र नविकरण गरिएको छैन । सहसचिव सापकोटाका अनुसार यसपछि सबै विवरण अद्यावधिक हुनेछ ।
गरिब परिवारलाई सरकारबाट प्रदान गरिने सुविधा तथा सहयोग अब यसै परिचय पत्रका आधारमा हुनेछ । दीर्घ रोगको उपचारका लागि आर्थिक सहयोग, लक्षित वर्गको उपचारसहित राज्यबाट प्रदान गरिने सुविधा यही परिचय पत्रका आधारमा हुनेछ ।
सामाजिक विकास विभागका निमित्त प्रमुख बिमला कोइरालाका अनुसार चैत २५ गतेदेखि टोली परिचालन हुनेछ ।