वि.सं.: २०८२, कात्तिक १० सोमबार
इ.स.: 2025 October 27,MONDAY
वि.सं.: २०८२, कात्तिक १० सोमबार
१७५ जना शिक्षकका लागि ‘मनोबिज्ञान’ र ‘करिअर गाइड (म्यापिङ्)’ तालिम सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक विद्यालयका १७५ जना शिक्षकका लागि तालिम सुरु गरेको छ । तालिममा स्रोत शिक्षक, शिक्षामा सिप कार्यक्रमका फोकल शिक्षक र प्रारम्भिक बाल विकास कक्षाका शिक्षकलाई सहभागी गराइएको छ ।
एउटा समूहमा २५ जनालाई सहभागी गराएर ७ वटा समूहमा तालिम सञ्चालन हुनेछ । ४२ घण्टाको यो तालिममा ३० घण्टा मनोवैज्ञानिक र मनोसामाजिक परामर्शको सिप सिकाइन्छ । बाँकी १२ घण्टा करिअर गाइड (म्यापिङ्) को कक्षा चल्नेछ ।
पहिलो समूहको तालिम सुरु गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘बालबालिकाको सर्वाङ्गीण विकासका लागि शिक्षकहरु वहुआयामिक हुनु पर्छ । शिक्षण विधि कुशल हुनु असल शिक्षकको गुण हो । अब यतिले मात्र पुग्दैन । बालबालिकाले के चाहेका छन्? उनीहरुको क्षमता पहिचान गर्ने र रुचिअनुसारको वाटोमा लाग्ने वातावरण बनाइदिनुपर्छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘शिक्षकलाई दिएको तालिमको नतिजा विद्यार्थीहरुको प्रगतिमा मापन गर्नेछौँ । यसकारण तालिम अवधिमा शिक्षक भएर होइन, विद्यार्थी भएर सहभागी हुनुहोला ।’
विद्यार्थीहरुलाई आफ्नो रुचि र आफूभित्रको क्षमता पहिचान गर्न सक्ने बनाएर आफैँले छानेको पेशामा लाग्न सक्ने जनशक्ति उत्पादनमा हाम्रो जोड छ । कार्यक्रममा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भन्नुभयो, ‘आमाबुबा, दिदीदाजुले जे भन्नुभयो त्यही पढ्ने, आफूसँग मिल्ने साथीले छानेको भएर आफू पनि त्यही विषय पढ्ने वा त्यही सिप सिक्ने परम्परा छ । यसले व्यक्तिभित्र भएको क्षमता एकातिर हुन्छ । काम अर्कै गर्नुपर्ने अवस्था हुन्छ । पेशागत रुपमा असफल हुने कारण यही हो ।’ उहाँका अनुसार अरुले देखाएको बाटोमाभन्दा आफैँले चिनेर हिँडेको बाटोमा यात्रा सहज हुन्छ भन्ने बुझाउनु पर्नेछ । यो काम शिक्षकबाट सम्भव हुने भएकोले उहाँलाई छानिएको हो ।
शान्ति शिक्षा मन्दिर थहितिमा सुरु भएको तालिममा २७ वटा विद्यालयका शिक्षक सहभागी गराइएको छ । तालिम वैशाख २४ गते समापन हुनेछ । वैशाख २५ गतेदेखि जेठ १ गतेसम्मको तालिम, शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्जमा हुनेछ । यस तालिममा पनि २७ वटा विद्यालयको सहभागिता रहनेछ ।
जेठ २ गतेदेखिको तालिम पद्मकन्या माध्यमिक विद्यालय, डिल्लीबजारमा हुनेछ । ९ गतेसम्म चल्ने तालिममा ३४ वटा विद्यालयको सहभागिता हुनेछ । जेठ १३ गतेदेखि रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वरमा तालिम हुनेछ । त्यसमा १५ वटा विद्यालयको सहभागिता हुनेछ । तालिम जेठ २० गते सकिनेछ ।
यी तालिम स्थलमध्ये रत्नराज्य माध्यमिक विद्यालयमा एउटा समूह हुनेछ । अन्य सबै विद्यालयमा २÷२ वटा समूहमा तालिम चल्नेछन् ।
विद्यालय निरीक्षक रुक्मिला इटनी के. सी.का अनुसार अहिले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई मानसिक स्वास्थ्यमा सहयोग चाहिएको छ । यो सहयोग विद्यालयबाट नै प्राप्त हुन सकोस् भनेर शिक्षकहरुलाई मनोबैज्ञानिक र मनोसामाजिक परामर्शको सिप सिकाउन लागिएको हो ।
तालिम नेपाल स्किल ल्याब र अन्तरङ्गसँगको सहकार्यमा आयोजना गरिएको हो ।
शिक्षामा सिप कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयका कक्षा ९ र १० मा १० वटा विधामा छोटो अवधिको सिपमूलक तालिम चलिरहेका छन् । बालबालिकाले आफ्नो रुचि र क्षमताअनुसार विषय वा क्षेत्र छान्न सकुन । यसमा शिक्षकको प्रोत्साहनबाट विद्यार्थी, अरुले दिएको सुझाव वा अरुले छानेको क्षेत्र हेरेर नभइ आफैँले रुचाएको क्षेत्र वा विषय छान्न सक्ने हुनेछन् ।
महानगरपालिकाले पुस्तकविहिन शुक्रबार कार्यक्रमअन्तर्गत प्रारम्भिक बाल विकासदेखि कक्षा ३ सम्म एकीकृत सिकाइ, कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ सञ्चालन गरेको छ । यसमा हरेक विद्यार्थीले १५ वटा समूहमध्ये मन पर्ने समूह छान्न सक्नेछन् ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App