Logo

मानव बेचबिखन र ओसारपसार गर्ने अपराधको स्वरुप वदलिएको छ, परिवर्तित परिस्थिति नियन्त्रण गर्ने क्षमता राखौँ - उपप्रमुख डंगोल

मानव बेचबिखन र ओसारपसार गर्ने अपराधको स्वरुप वदलिएको छ, परिवर्तित परिस्थिति नियन्त्रण गर्ने क्षमता राखौँ - उपप्रमुख डंगोल

काठमाडौँ । मानव ओसारपसार तथा बेचबिखन गर्ने अपराधको स्वरुप परिवर्तन भएको बताउँदै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, परिवर्तित स्वरुप पहिचान गरेर त्यसलाई निगरानी तथा नियन्त्रण गर्न सक्ने संयन्त्र निर्माणमा लाग्नु पर्ने बताउनुभएको छ । आज सामाजिक विकास विभागले मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी वडास्तरीय पदाधिकारीका लागि आयोजना गरेको १ दिने अभिमुखीकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । 

विभागले मानिसहरु ओसारपसार हुन सक्ने तथा बेचबिखन हुन सक्ने कामको नियन्त्रणका लागि संयुक्त काम गर्ने प्रणाली तत्काल विकास गर्न र बालबालिका संरक्षण सम्बन्धी नीति कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘महिला, बालबालिका र ज्येष्ठ नागरिकको विषय आपसमा जोडिएका छन् ।’ वडागत रुपमा देखिएका समस्या र समाधानका उपायका बारेमा वडास्तरीय सूचना तथा सिकाइ आदान प्रदान गर्न सुझाव दिँदै उहाँले, वडाको बजेटबाट कार्यक्रम चलाउन सकिने धारणा राख्नुभयो । 

समस्याको स्वरुप परिवर्तनलाई अपराध नियमन नियन्त्रणमा काम गर्ने पदाधिकारी परिचित हुनुपर्छ । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. ले, नियमनकारी निकायका अधिकारीहरुको सोच परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो । ‘भौतिक रुपमा भेट हुँदैन, मोवाइलबाट सम्पर्क गरेर हिंसा हुने, ओसारपसार र बेचबिखन हुने घटना अहिलेको अवस्था हो । प्रविधिको विकासले योभन्दा उन्नत प्रणालीको प्रयोग भइसकेको हुनसक्छ । अपराध गर्नेभन्दा एक पाइला अगाडि भएर काम गरौँ ।’ उहाँले जोड दिनुभयो । 

व्यक्तिको आर्थिक र सामाजिक उत्थान र मनोविज्ञानमा परिवर्तनको खाँचो छ । यो शिक्षा र सचेतनामूलक कार्यक्रमबाट सम्भव छ । कार्यक्रममा प्रशासन विभागका प्रमुख दीपक अधिकारीले, आगामी वर्षमा कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । 

खाजा घर, वैदेशिक रोजगार, मनोरञ्जन क्षेत्र सहरका जोखिमपूर्ण क्षेत्र हुन् । सामाजिक विकास विभागका निमित्त प्रमुख बिमला कोइरालाले भन्नुभयो, ‘खाडी मुलुकमा मात्र होइन, अहिले त युरोप र अमेरिका गन्तव्य बनाएर ओसारपसारको काम भइरहेको छ । यसको प्रस्थान विन्दु सहर भएकोले नियन्त्रणका प्रयास सहरमै केन्द्रीत गराउनु पर्नेछ ।’

मानव ओसारपसार र बेचबिखन भन्दा, पहिले यौनको विषय जोडिन्थ्यो । अहिले आन्तरिक तथा वैदेशिक रोजगारी र विदेशमा जसरी पनि स्थापित हुने लोभबाट सिर्जित समस्या बढेका छन् । 

बेरोजगार युवायुवती सामाजिक सञ्जालमा भेटिने अपरिचित मान्छेले देखाएको लोभमा परेर बेचिने र श्रम शोषणमा पर्ने गरेको अध्ययनले देखाएको छ । मनोरञ्जन क्षेत्रमा प्रवेश गर्न सजिलो भएकोले धेरै युवायुवतीको आकर्षण यतातर्फ पनि छ । प्रवेश गर्नु र आय हुनु फरक पाटो हो । प्रवेश गरेर जीवन धान्न अप्ठ््यारो हुन थालेपछि यौन व्यवसायमा पुग्ने, हिंसामा पर्ने र यसैबाट ओसारपसारको जोखिम हुने गरेको छ । 

आप्कास नेपालका विजया राई भन्नुहुन्छ, ‘एकजनाले एकजनालाई उद्धार गर्दा वा जोखिमबाट बचाउन सके मात्र पनि ठूलो उपलब्धी हुनेछ ।’

कार्यक्रममा कानुनी व्यवस्थाका बारेमा कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यले, अपराधका प्रकृति र अवस्थाका विषयमा मानव बेचबिखन अनुसन्धान व्युरोका प्रमुख प्रहरी नायव उपरीक्षक ओमबहादर रानाले वैदेशिक रोजगार र यसबाट सिर्जित समस्याका विषयमा वैदेशिक रोजगार विभागका उपसचिव मैया कँडेलले प्रस्तुतिकरण गर्नुभएको थियो । 
प्रस्तुतिहरु सहरी समस्या र समाधानका उपायमा केन्द्रीत थिए । 

काठमाडौँ महानगरपालिकाको प्रयास
काठमाडौँ महानगरपालिकाले २०७८ सालमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यविधि जारी गरेको छ । यसले प्रमुखको संयोजकत्वमा गठन हुने ९ सदस्यीय मूल समिति गठन हुने व्यवस्था छ । यसमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक समितिका संयोजक, जिल्ला प्रहरी परिसरका प्रमुख, कानुन तथा मानव अधिकार विभागका प्रमुख, यसै क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि एक जना, पीडितमध्ये एक जना सदस्य रहने व्यवस्था छ । समितिको सदस्य सचिवमा सामाजिक विकास विभागका प्रमुख हुनुहुन्छ । 

समितिले ओसारपसार तथा बेचबिखनमा परेकाहरुको तत्काल उद्धार, संरक्षण, पुनस्थापना र क्षमता विकास गर्ने, गराउने तथा यसका लागि समन्वय गर्ने, तथ्याङ्क तथा अभिलेखन गर्ने सचेतनामूलक कार्यक्रम फैलाउने, कार्यक्रम सञ्चालनका लागि छुट्टै कोष स्थापना गरेर सञ्चालन गर्ने काम गर्छ । 

वडा अध्यक्षको संयोजकत्वमा वडास्तरीय समिति गठन हुने व्यवस्था छ । यसमा महिला सदस्य, स्थानीय प्रहरी प्रमुख वा प्रतिनिधि, वडाभित्रका सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकमध्ये अध्यक्षले मनोनित एक जना, महिला सञ्जाल, बाल सञ्जाल, ज्येष्ठ नागरिक केन्द्र, आमा समूहमध्ये सर्वाधिक क्रियाशील संस्थाका एक जना प्रतिनिधि सदस्य हुनुहुन्छ । समितिको सदस्य सचिव वडासचिव रहने व्यवस्था छ । 

यस समितिले, ओसारपसार तथा बेचबिखन विरुद्धका कार्यक्रमको योजना बनाउने, योजना कार्यान्वयन गराउने, जोखिममा रहेका व्यक्ति तथा वर्गको पहिचान गर्ने, जोखिमबाट उद्धार गर्ने, संरक्षण, न्याय र पुनस्थापनाका लागि समन्वय गर्ने काम गर्छ ।

सरकारले २०६४ सालमा मानव बेचविखन विरुद्धको ऐन र २०६५ सालमा नियमावली र ०७० सालमा कार्यविधि जारी गरिसकेको छ । यी दस्तावेजको व्यवस्थालाई स्थानीय तहबाट प्रभावकारी कार्यान्वयनका लागि महानगरले कार्यविधि बनाएको हो । 

वडास्तरीय समिति
महानगरपालिकाका वडाहरुमा ३ चरणमा गरेर समिति गठन भइसकेका छन् । आ. व. २०७८/०७९ मा १० वटा (वडा नं. ६, ७, ९, १०, ११, १३, १४, १६, २६ र ३२) मा गठन भएको हो । यस्तै आर्थिक वर्ष २०७९/०८० मा १९ वटा (वडा नं. १, २, ३, ४, ५, १२, १५, १७, १८, १९, २०, २३, २४, २५, २७, २८, २९, ३० र ३१) वडामा समिति गठन भएको हो । चालु आर्थिक बर्षमा वडा नं. ८, २१ र २२ मा समिति गठन भएपछि वडास्तरीय समितिले पूर्णता पाएको हो । 

महानगरपालिकाको यो कार्यक्रममा माइती नेपाल, ओरेक, आमकाश नेपाल, शान्ति फाउन्डेसन, रक्षा नेपाल, संरक्षक समूह नेपाल, आपेरन, नेपाल धागो उत्पादन संघलगायतसँग सहकार्य भएको छ । 

अहिले काठमाडौँमा चलिरहेको सिप मेला २०८१ ले मानव ओसारपसार तथा बेचबिखनको जोखिम घटाउन मद्दत पुग्ने महानगरपालिकाको अपेक्षा छ । यससँगै महानगर गौरव योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ ले पनि जोखिम घटाउन मद्दत गर्नेछ । 

ओसारपसार र वेचबिखनको प्रकार

कमारा–कमारी, दास–दासी, स्याहारे, सुसारे, हरुवा, चरुवा, हलिया, कमैया परम्परागत प्रकारका दासत्व हुन् । यस्तै मिर्गौला, छाला, कलेजो, रगतजस्ता अङ्गको बेचबिखन, श्रम शोषण, वेश्यावृत्ति, साइबर दासत्व, वैदेशिक रोजगारीका क्रममा हुने बेचबिखन तथा ओसारपसार आधुनिक प्रकृतिका दासत्व हुन् । यी सबै खालका दासत्व कानुनी रुपमा बर्जित छन् । गर्न र गराउन पाइँदैन । 

 


  

 

  • प्रकाशित मिति: आइतबार​ २२ ैशाख २०८१ १७:४०