Logo

‘महानगर अनुसन्धान शोधवृत्ति’ कार्यक्रममा, शोध सुपरीवेक्षकका लागि आवेदन आव्हान 

‘महानगर अनुसन्धान शोधवृत्ति’ कार्यक्रममा, शोध सुपरीवेक्षकका लागि आवेदन आव्हान 

काठमाडौँ । काठमाडौँ महानगरपालिका अनुसन्धान शोधवृत्तिमा छानिएका शोधकर्ताहरुलाई सहजीकरण गर्न शोध सुपरीवेक्षकका लागि आवेदन आव्हान गरिएको छ । स्नातकोत्तर तह उत्तीर्ण शैक्षिक योग्यता भएका र स्नातकोत्तर तह उत्तीर्ण भएपछि १० बर्ष काम गरेको अनुभव भएका व्यक्तिहरुले व्यक्तिगत विवरण (सीभी) र आवेदन दिन सक्ने सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो । शैक्षिक योग्यता र अनुभवका आधारमा व्यवस्थापन तथा सञ्चालन समितिले छनोट गर्नेछ । 

अनुसन्धानकर्तालाई अनुसन्धानको डिजाइन÷विधि, सूचना संकलन तथा विश्लेषण र प्रतिवेदनको समीक्षाका लागि प्राविधिक सहयोग पुर्‍याउने उद्देश्यले सुपरीवेक्षकबाट आवेदन माग गरिएको हो । हरेक अनुसन्धानकर्तालाई आयोगभित्र वा वाहिरका विज्ञहरुमध्येबाट एकजना सुपरीबेक्षक तोक्ने कार्यविधिमा उल्लेख छ । यसबमोजिम माग गरिएको आवेदन असार ११ गते मंगलबार कार्यालय समयभित्र kathmanducpc@gmail.com मा पठाउन सकिनेछ ।  

शोधका लागि छनोट भएका विषय 
अनुसन्धानको परिणामसँग नीतिगत निर्णयको सम्बन्ध, कार्यान्वयन वा उपयोगिता, पूर्वाधार तथा सामाजिक विकास आधारितमा आधारित परिणाम, आवश्यकतामा आधारित परियोजनाजस्ता विषयलाई प्राथमिकतामा राखेर यस बर्षका विषय छनोट भएका हुन् । 

यस संस्करणका लागि १० वटा क्षेत्र तोकिएका थिए । १) इतिहास, कला, संस्कृति, परम्परा २) भाषा, साहित्य ३) सहरी योजना, सहरी डिजाइन, वास्तुकला, यातायात, भौतिक पूर्वाधार ४) जनसांख्यिकीय, समाजशास्त्रीय वा मानवशास्त्रीय अध्ययन ५) शिक्षा, सामाजिक विकास, युवा, सामाजिक अभियान स्वास्थ्य, जीवनस्तर ६) स्थानीय आर्थिक विकास, सहरी वित्त, उद्यमशीलता, मानव संशाधन विकास ७) सहरी अनौपचारिक क्षेत्र, गरिवी, अनधिकृत बसोवास ८) वातावरण, दिगो विकास, विपद् व्यवस्थापन, जलवायु परिवर्तन ९) कानून, शासन र १०) सूचना तथा सञ्चार, नविन सोच यस बर्ष छानिएका अनुसन्धानका क्षेत्र हुन् ।

यी क्षेत्रसँग सम्बन्धित रहेर ५७ जनाबाट आवेदन प्राप्त भएका थिए । सहरी योजना आयोगका सहायकविज्ञ विवेक बास्तोलाका अनुसार उहाँहरुमध्ये प्रस्तुतिकरणका लागि २५ जना आवेदक शोधकर्तालाई बोलाइएको थियो । प्रस्तुतिकरण गरिएको विषयमध्ये तल उल्लेख गरिएका १० वटा विषय छानिएका हुन् ।  

१)    कृतिम बौद्धिकता (एआइ) को प्रयोग गरेर प्राचीन पत्थरहरुको लिपि नेपाल भाषामा उतार
२)    न्यु रोड क्षेत्रका व्यावसायिक भवनहरुमा भूमिगत पार्किङ्को अवस्था र मात्राको नक्साङ्कन
३)    प्लाष्टिकजन्य फोहोरबाट निर्माण सामग्रीका रुपमा उत्पादन हुने ब्लकको प्रभाव अध्ययन
४)    कवाडीका रुपमा संकलन हुने धातुको संकलन, प्रशोधनदेखि उपभोगसम्मको मुल्य श्रृङ्खला अध्ययन
५)    सहरी कृषिका लागि छतको प्रयोगमा ड्रोन र भौगोलिक सूचना प्रविधिबाट नक्साङ्कन, वडा नंं ३२ क्षेत्रको नमूना अध्ययन
६)    काठमाडौँ, नुवाकोट र धादिङ्का स्थानीयमा, ल्याण्डफिल साइट व्यवस्थापन सम्बन्धित प्रत्यक्ष र अप्रत्यक्ष जनस्वास्थ्यजन्य जोखिम मूल्याङ्कन 
७)    काठमाडौँका सार्वजनिक स्थलहरुबाट विद्युतीय वाइक उपलब्ध हुने प्रणाली (इलेक्ट्रिक वाइक सेयरिङ् सिस्टम ईवीएसएस) को सम्भावना अध्ययन
८)    सहरी डुवान (प्लुवियल फ्लड) को प्राकृतिक समाधान (एनवीएस)का लागि योजना सहयोग प्रणाली (पीएसएस) को प्रयोग 
९)    सहरी व्यवस्थापन योजनामा सार्वजनिक संकेतहरुको प्रयोग
१०)    काठमाडौँको सहरी समाजमा परिवर्तित जनसंख्या आकारको प्रभाव अध्ययन

यसअघि सम्पन्न क्रियाकलाप 
सहरी योजना आयोगले चौथो संस्करणमा आवेदन इच्छुक शोधकर्ता लक्षित जानकारीमूलक सत्र (इन्फो सेसन) सञ्चालन गरिसकेको छ । यसमा कार्यक्रमको उद्देश्य, अपेक्षा गरिएको नतिजा, क्षेत्र र विषय, आवेदकको योग्यता, प्रस्तावको मापदण्ड र सीमा, छनोट प्रक्रिया, कार्यक्रमको समापन प्रक्रिया र विगतका अनुभवका बारेमा जानकारी दिइएको थियो । 

शोधकर्ताको छाोट 

२०८० पुस १२ गते सार्वजनिक सूचना प्रकाशन गरेर महानगरपालिकाले आवेदन माग गरेको थियो । प्रस्तावका लागि शोधकर्ताहरुबाट थप समयका माग भएकोले माघ १७ गते आवेदन दिने अन्तिम दिनलाई १० दिन बढाएर माघ २७ गते सम्म पुर्‍याइएको थियो । 


तेस्रो संस्करण (गएको वर्ष) के भएको थियो
गएको वर्ष शोधवृत्तिको तेस्रो संस्करण चलेको थियो । यस संस्करणमा ‘काठमाडौं महानगरपालिकामा सहरी सडक सुरक्षाको विश्लेषण’, ‘काठमाडौं महानगरपालिकामा भर्टिकल फार्मिङको सम्भावना’, ‘ज्येष्ठ नागरिकहरुको मानसिक स्वास्थ्यका लागि महानगरपालिकाको जिम्मेवारी’, ‘काठमाडौँ महानगरपालिकाका विद्यालयहरूमा स्टीम पेडागोजी लागू गर्ने विश्वास र शिक्षकहरूको तत्परता’, ‘काठमाडौँ महानगरपालिकामा आगलागी सम्भावित क्षेत्र म्यापिङ’, ‘काठमाडौँ महानगरपालिकाका अटिजम भएका बालबालिकाका लागि सूचना प्रविधि (आइसीटी) मा आधारित सिकाइ’, ‘काठमाडौं महानगरपालिकामा अनियमित रूपमा तयार गरिएको कंक्रिटमा मिक्स डिजाइन कंक्रिटको आर्थिक र संरचनात्मक प्रभाव अध्ययन’, ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र चराहरूको लागि वासस्थान र कार्वन लागि स्पन्जको रूपमा सहरी प्याचहरूको अनुसन्धान’, ‘काठमाडौं महानगरपालिकाका विद्यालयहरूमा नेपाल भाषाको शिक्षण र सिकाइ अभ्यासको अध्ययन’ का विषयमा शोध कार्य भएको थियो । 

 

  • प्रकाशित मिति: बुधबार ५ असर २०८१ २०:१३