Logo

'केएमआईआई'को अन्तिम चरण, १५ समूहलाई ६ दिन लामो एक्सेलेटर कार्यक्रम 

'केएमआईआई'को अन्तिम चरण, १५ समूहलाई ६ दिन लामो एक्सेलेटर कार्यक्रम 

काठमाडौँ । तेस्रो चरणका १५ समूहलाई, ६ दिनको इन्क्युवेसनसहित एक्सेलेरेटर कार्यक्रम सकिएको छ । सहरी योजना आयोगको सचिवालयले सञ्चालन गरेको काठमाडौँ मेट्रो आइडिया एण्ड इनोभेसन कार्यक्रम २०८० का लागि यो अन्तिम श्रृङ्खला हो । 

यस सृङ्खलामा सोच र दृष्टिकोण, उद्देश्य र लक्ष्य प्राप्तिका रणनीति, नेतृत्व विकास, बजार अनुसन्धान, संगठनात्मक मूल्य, व्यवसायिक संस्कृति र वातावरण, समूहगत कार्यलगायत विषयमा क्षमता अभिवृद्धि गराइएको थियो । 

यस्तै बजारीकरण, विविधिकरण र स्केलेबिलिटी, साझेदारी र सहयोग रणनीति, ब्रान्डिङ सिप सिकाइएको थियो । 

कार्यक्रममा लगानी तयारीकालागि कार्यशाला अभ्यास गरिएको थियो । सोच परिमार्जन, वार्ता तथा छलफल सम्बन्धी सिप, आय व्यय विश्लेषण, नमूना तथा घटना विश्लेषण गर्ने तरिका सिकाइएको थियो । यससँगै लगानीकर्ताहरुसँग सोच प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो । 

यो कार्यक्रमबाट नविनतम सोचका लागि लगानीकर्ताहरु इच्छुक देखिएका छन् । कार्यक्रमको नतिजाका विषयमा कुरा गर्दै सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भन्नुभयो, ‘नविन सोच भएका युवाहरुलाई उद्यमी बन्न प्रोत्साहन गर्ने कार्यक्रमले लक्ष्यअनुसार उपलब्धि प्राप्त गरेको छ ।’

‘उद्यमशीलता नेपाली अर्थतन्त्रको आधारभूत स्तम्भ हो । स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन स्थानीय उद्यममा लगानी बढाउनुपर्छ । यसले स्थानीय चुनौति समाधानमा योगदान दिन्छ ।’ उपाध्यक्ष राजभण्डारीले भन्नुभयो, ‘महानगरपालिकाले अगाडि सारेको नवप्रवर्तन विकासको कार्यक्रमले आर्थिक विकासमा ठूलो योगदान दिनेछ । यो विस्तारै अगाडि बढ्छ । दिगो आर्थिक विकासका लागि यही क्षेत्र पर्याप्त हुन्छ ।’

३ चरणमा सञ्चालन गरिएको कार्यक्रममा हरेक चरणका फरक फरक उपलब्धि प्राप्त भएका छन् । कार्यक्रमका बारेमा जानकारी दिँदै आयोगका सहायक विज्ञ अग्मा मालाकार भन्नुहुन्छ, गएको असोज (२०८०) ३० गते राष्ट्रिय सभा गृहमा नविन सोचको बजारीकरण सम्बन्धी प्रदर्शनी भएको थियो । 

यस्तै माघ महिनामा भृकुटीमण्डपमा भएको क्यान इन्फोटक मेलामा सहभागी हुने अवसर दिइएको थियो । यस मेलामा सहभागीले, एक पटक केवाइसी (नो योर क्लाइन्ट) भरे पछि अन्यत्र त्यसैले काम गर्ने, सहरी सेवा प्रदायकहरुलाई एकै ठाउँमा खोज्न पाइने, पुनप्रयोग गरिने बस्तु, कपडा तथा अन्य सामग्रीबाट पुनःप्रयोगका सामान बनाउने, स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थलाई विक्री योग्य उत्पादन बनाउने खालका प्रविधिमा आधारित सोच र उद्यम प्रदर्शन गरेका थिए । 

के हो, काठमाडौँ मेट्रो आइडिया एण्ड इनोभेसन
आइडिया बैङ्क नविनतम सोचलाई लगानीसँग जोड्ने ठाउँ हो । नवप्रर्वतक, उद्यमी व्यवसायीको  सिप तथा ज्ञान अभिबृद्धि गर्दै लगानीकर्तासँग जोडिन्छ । नविनतम सोचलाई उद्यमशील क्षेत्रका रुपमा विकास गर्न विकास कार्यमा सहयोग गर्ने, विकसित सोचलाई लगानीकर्तासँग जोडेर वेरोगजारीसँग सम्बन्धित समस्या कम गराउने यसको लक्ष्य हो ।

२०८० का सोच र क्षमता विकास चरण 
सहरमा भएका समस्याहरुलाई प्रविधिको प्रयोग गरेर समाधानका उपाय निकाल्ने, स्थानीय कच्चा पदार्थको प्रयोग गरेर विक्री योग्य उत्पादन गर्ने र ती उपाय तथा योजनालाई उद्यमका रुपमा विकास गर्न सकिने सोच आइडिया एण्ड इनोभेसनमा छनोट भएका थिए । यस्ता सोच भएका उद्यम सम्बन्धी सोचलाई लगानीकर्तासँग अन्तरक्रिया गराएर सोचलाई उद्यमका रुपमा विकास गराउन महानगरपालिकाले अवसर प्रदान गरेको हो । 

यस्ता सोच सम्बन्धी आवेदन दिन २०८० जेठ २ गते पहिलो पटक सूचना प्रकाशित गरिएको थियो । यस सूचनाबाट जेठ १९ गतेसम्म आवेदन दिन समय तोकिएको थियो । यस अवधिमा प्रस्ताव पठाउन नसकेका तर सहभागी हुन इच्छा गरेका व्यक्ति तथा समूहलाई अवसर दिन १० दिनको समय थप गरेर २९ गतेसम्म पुर्‍याइयो । यस अवधिमा ७८६ जनाले आवेदन दिएका थिए ।  

आवेदनमध्ये प्रतिस्पर्धाका चरण पार गर्दै १०१ सोच छान्दा समुदाय र वातावरण विधामा ३२, प्रशासनिक प्रभावकारितामा ७ वटा, सामुदायिक सेवामा २३ वटा, आर्थिक सामाजिक क्षेत्रमा १९ वटा र सहरी पूर्वाधारमा २० वटा थिए । जसमा ७८ वटा समूह र २३ जना व्यक्ति थिए । 

यी व्यक्ति तथा समूहबाट असार (२०८०) महिनामा दोस्रो चरणका लागि अन्तिम ५० समूह छनौट गरियो । आयोगको तत्कालीन (थापाथली) बैठक कक्षमा ३ दिन चलेको सोच प्रस्तुतिमा सोकर्तालाई निर्णायक समक्ष सोच, यससँग प्रविधि र साझेदारसँगको सम्बन्ध, व्यावसायिक सम्भावना लगायत विषय प्रस्तुतिकरण गर्न लगाइएको थियो । ५ मिनेटको प्रस्तुतिपछि निर्णायकहरुले सोधेका प्रश्नहरुको जवाफ लिइएको थियो । 

यस पछि असोज महिनामा उत्कृट ५० का बिचमा बजारीकरण प्रदर्शनी गराइएको थियो । सोच र लगानीकर्ताका बिच तत्काल सम्पर्क (फास्ट ट्र्याकमा), सहभागीलाई हरेक विशेषज्ञसँग अन्तरक्रियात्मक कुराकानी गराइएको थियो । यसरी अन्तरक्रिया गराउनु ‘स्पीड डेटिङ्’ विधि हो । यो विधिलाई ज्ञान बाँडफाँड र साझेदारी गठनका लागि प्रभावकारी र गतिशील मानिन्छ । 

यसपछिको चरण अर्थात् एक्सेलेरेटर कार्यक्रम २०८१ असार महिनामा भएको हो । यसमा १५ समूह थिए । यी समूहका सोचलाई व्यावसायिक आकारमा ल्याउन हुने प्रयत्नलाई महानगरपालिकाले जानकारी लिइरहनेछ । आवश्यकताका आधारमा सहयोग उपलब्ध गराउनेछ ।

 

 

  • प्रकाशित मिति: शुक्रबार​ २१ असर २०८१ १२:०४