Logo
  • वि.सं.: २०८३, असर १७ बुधबार

  • इ.स.: 2026 July 1,WEDNESDAY

  • वि.सं.: २०८३, असर १७ बुधबार

  • आ. व. २०८३/०८४ का लागि काठमाडौँ महानगरपालिकाको ‘कार्यक्रम तथा बजेट’, ‘आर्थिक विधेयक’ र ‘विनियोजन विधेयक’ पारित 

    नगर सभा १९ औँ अधिवेशनको चौथो वैठकबाट वजेट तथा, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत पारित 

    काठमाडौँ । आर्थिक वर्ष आ. व. २०८३/०८४ का लागि काठमाडौँ महानगरपालिकाको ‘कार्यक्रम तथा बजेट’, ‘आर्थिक विधेयक’ र ‘विनियोजन विधेयक’ सर्वसम्मत पारित भएको छ । असार ४ गते बसेको नगर सभा १९ औँ अधिवेशनको  बैठकमा अधिवेशनको चौथो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले पेश गर्नुभएको २५ अरब ८८ करोड ३० लाख ५५ हजार रुपियाँ बजेट तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयकमाथि छलफल गर्दै आज राष्ट्रिय सभा गृहमा बसेको बैठकले प्रस्ताव सर्वसम्मत पारित गरेको हो । पारित भएको बजेटमध्ये सञ्चित कोषमा व्ययभार पर्ने २५ अरब १३ करोड ३० लाख ५५ हजार रुपियाँ र वाह्य व्यय भार हुने ७५ करोड रुपियाँ गरी २५ अरब ८८ करोड ३० लाख ५५ हजार रुपियाँ छ ।  

    वैठकको कार्य सूचीको क्रम संख्या १ देखि ३ सम्म, आ. व. २०८३/०८४ को ‘कार्यक्रम तथा बजेट उपर छलफल गरी पारित गर्ने’, ‘विनियोजन विधेयक २०८३’ र ‘आर्थिक विधेयक २०८३’ उपर छलफल गर्ने र पारित गर्ने थियो । सभामा सभाका अध्यक्ष डंगोलले, छलफलका लागि प्रदान गर्नुभएको समयमा आशामान संगत, रोजिना श्रेष्ठ, मचाराजा महर्जन, उदयचुडामणि बज्राचार्य, अनिल कुमार श्रेष्ठ, हीरादेवी पोखरेल, सन्तोष ढुङ्गेल, सीता विसुन्के चन्द्रमान तुलाधर, भगवान बुढाथोकी, रचना सुनाम, शर्मिला परियारले प्रस्ताव माथि संशोधन प्रस्ताव सहित सहरी व्यवस्थापनमा गर्नु पर्ने कामका विषयमा सुझाव पेश गर्नुभएको थियो ।  

    उहाँहरुले प्रदान गर्नुभएका संशोधन प्रस्ताव र सुझावलाई समेटेर प्रस्ताव पारित गर्न सभाका अध्यक्षले, सभा समक्ष प्रस्ताव राख्न प्रस्तावित गर्नुभएको थियो । उहाँको प्रस्तावलाई सभा सदस्यहरुले सर्वसम्मत पारित गर्नुभएको हो । 

    विधायन समितिका संयोजक एवं वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनले सभामा कार्यसूचीको क्रम संख्या ४ मा रहेको ऐन संशोधन सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । उहाँले, ‘जनस्वास्थ्य ऐन २०८० को पहिलो संशोधन २०८३’, ‘शिक्षा ऐन २०७५ को दोस्रो संशोधन २०८३’, ‘विवाद निरुपण (कार्यविधि) ऐन २०७५ को पहिलो संशोधन २०८३’, ‘विपद व्यवस्थापन  ऐन २०७७ को पहिलो संशोधन २०८३’ र ‘कर्मचारी सेवा ऐन २०७७ को चौथो संशोधन २०८३’ पेश गर्नुभएको हो । 

    यसरी पेश गरिएका ऐनहरुका विषय तथा अन्य प्रस्तावमाथि छलफल गर्न असार २३ गते मंगलबार दिनको ३ बजे नगर सभाको पाँचौँ बैठक बोलाइएको छ । 

    नगर सभाको प्रत्यक्ष प्रसारण यहाँ हेर्नुहोस् । 

    नगर सभाका तस्विरहरु

     

  • प्रकाशित मिति बुधबार १७ असर २०८३ ०६:४६ PM