Logo

२२ बर्षपछि वडा ८ ले पायो प्रशासनिक भवन, प्रमुख शाह भन्नुहुन्छ, ‘समयमा योजना सम्पन्न गर्ने गरी काम भइरहेको छ’

२ करोड ६१ लाख रुपैयाँ लागतमा अपाङ्गमैत्री एवं सुविधा सम्पन्न वडाको प्रशासनिक भवन

भवनको निरीक्षण : नवनिर्मित वडा प्रशासकीय भवनको माथिल्लो तलाबाट पशुपति क्षेत्रको अवलोकन गर्नुहुँदै महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, उहाँहरुलाई स्थान परिचय दिँदै वडाध्यक्ष आशामान संगत

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ८ को नवनिर्मित प्रशासकीय भवनको आज समुट्घाटन भएको छ । पशुपति अमालकोट कचहरीमा निर्माण भएको भवनको शिलालेख महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सार्वजनिक गर्नुभयो । भवनको मुख्य प्रवेश द्वारको रिवन काट्न वडाध्यक्ष आशामान संगतले प्रमुख शाह र उपप्रमुख सुनिता डंगोललाई आग्रह गर्नुभएको थियो । उहाँको आग्रहमा प्रमुख शाह र उपप्रमुख डंगोलले, वडाध्यक्षले नै रिवन काट्न भन्नु भएपछि वडाध्यक्षले रिवन काट्नुभएको थियो । यसपछि उहाँहरुसँगै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, विषयगत समितिका संयोजकहरु, कार्यपालिका तथा नगर सभा सदस्यहरुले कार्यालय भवनको अवलोकन गर्नुभएको थियो । 

नवनिर्मित भवन नेवारी शैलीमा निर्माण भएको छ । भवनमा भित्री सुविधा आधुनिक खालका छन् । बाहिरी स्वरुप प्राचीन ढाँचाको छ । लिफ्टसहितको भवन अपांगमैत्री भवन होे । 

नवनिर्मित भवनबाट पशुपतिनाथ मन्दिर परिसर, विमानस्थल क्षेत्र, जयवागेश्वरी मन्दिर, नवाली टोल, ईट्टापाखा, दथु टोल, गौशाला लगायतका ठाउँ देखिन्छन् । 

उद्घाटन अवसरमा बोल्दै महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, विकासका योजना कार्यान्वयनलाई तीब्र बनाइएको बताउनुभयो । बोलपत्र आव्हान गर्दा लाग्ने समय घटाउन नसकिने, यसबाहेकका काम छिट्टै हुने गरेको उहाँको भनाइ थियो । 

‘नवनिर्मित भवनको छतबाट हामीले हेर्‍यौँ । सम्पदामैत्री सडक निर्माण भइरहेका छन् । वडा भवन आफैँमा सम्पदामैत्री छ । महानगरपालिकाभित्रका भवनलाई नेवारी शैलीमा बनाउँदै लैजानु पर्छ । यसका लागि हामीले बजेट र कार्यक्रम तर्जुमा गरेका छौँ । यसबाट पर्यटन व्यवस्थापनको कामलाई अझ उचाइमा पुर्‍याउने हाम्रो अपेक्षा छ ।’ प्रमुख शाहले भन्नुभयो, ‘बोल्नेभन्दा पनि काम नै गर्नु पर्छ भन्ने हो ।’
कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले वडा नं. ८ को सांस्कृतिक, सामाजिक र ऐतिहासिक पक्षमा चर्चा गर्दै, महानगरपालिकाले बस्तीहरुलाई सांस्कृतिक, पुरातात्विक र पर्यटकीय आकर्षण बढाउन हाउस पुलिङ् र सम्पदामैत्री भवन निर्माण गर्नेहरुलाई अनुदान सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्नुभयो । वडाको प्रशासनिक भवनका विषयमा कुरा गर्दै उहाँले थप्नुभयो, ‘वडामा सेवा लिन आउने सेवाग्राही आउँदा जति उत्साह बोकेर आउनुहुन्छ, फर्किँदा त्योभन्दा धेरै खुशी बोकेर फर्किन सक्नुहोस् । वडाले नवनिर्मित भवनबाट यसरी चुस्त सेवा दिन सकोस् ।’  

‘हिजो हामीले टोल, समाज र छिमेकको भवन बनाइदियौँ । आज आफ्नै सेवाग्राहीलाई सेवा दिने प्रशासनिक भवन निर्माण गरिरहेका छौँ ।’ कार्यक्रममा प्रवक्ता नविन मानन्धरले भन्नुभयो, ‘कुनै भवन निर्माण भइसकेका छन् । कति वडाका भवन बनाउन शिलान्यास बनाइसकिएको छ । कति वडाले नयाँ भवनबाट सेवा प्रवाह गरिसकेका छन् ।’ उहाँले सम्पदा प्रवर्धनको प्रसङ्ग जोड्दै थप्नुभयो, ‘भित्री सहरमा मात्र नेवारी शैलीका संरचना छन्, भन्ने लाग्थ्यो । परम्परागत बाजागाजा भित्री सहरमा मात्र बज्छन् भन्ने लागेको थियो । आज पशुपति क्षेत्रले यस्ता संस्कार बाहिरी सहरमा पनि छ भन्ने पुष्टि गरेको छ ।’ 

वडाध्यक्ष आशामान संगतले वडाबासीले आफ्नो सपनाअनुसारको वडा भवन प्राप्त गरेको उल्लेख गर्नुभयो । उहाँले नगर अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराइदिन कोषलाई आग्रह गर्नुभयो । ‘यसअघि पशुपति मन्दिर अगाडि पश्चिम गेटमा वडा भवन थियो । पशुपति क्षेत्र विकास कोषले गुरुयोजना कार्यान्वयन गर्न भवनको सट्टा भवन बनाएर दिने सर्तमा २०५९ सालमा वडा भवन भत्काइएको थियो । कोषले यसपछि न भवन बनाइ दियो । न जग्गा नै उपलब्ध गरायो ।’ संगतले भन्नुभयो, ‘हामी निर्वाचित भइसकेपछिको प्रयासले नतिजा दिन सकेकोमा खुशी लागेको छ ।’ 

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापाले, भवन निर्माण गर्न जग्गा उपलब्ध गराएर महानगरपालिकाप्रति कोषले दायित्व पूरा गरेको धारणा राख्नुभयो । स्थानीय तहसँग मिलेर गरेको विकास दिगो हुने उहाँको भनाइ थियो । 
राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, प्रदेश सभा सदस्य श्रीराम लामिछाने र स्थानीय राजनीतिक प्रतिनिधिहरुले नवनिर्मित भवनबाट प्रविधियुक्त सेवा प्रवाहका लागि शुभकामना दिनुभएको थियो ।  

गएको मंगलबार विहान ८ बजेर ४१ मिनेटको शुभ साइतमा प्रशासनिक भवन प्रवेश गरिएको थियो । 

४ आना जग्गामा निर्माण भएको ४ तले भवनको कार्पेट करिब ४ हजार वर्ग फिट हो । सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार भवनमा जनप्रतिनिधि र कर्मचारीसहित वैङ्क सेवाका स्थान उपलब्ध हुनेछ । अपाङ्गमैत्री भवनको भुइँ तलाका लागि ¥याम राखिएको छ । यस्तै ६ जना व्यक्ति अट्ने क्षमताको लिफ्टबाट हरेक व्यक्ति हरेक तलाको कोठामा पुग्न सक्ने बनाइएको छ । 


 
तस्विरहरु : विनय शाक्य / अमृत पाण्डे / सुजन तिमिल्सिना 

 

  • प्रकाशित मिति: बिहीबार १७ साउन २०८१ १९:५६