Logo
  • वि.सं.: २०८३, वैशाख २३ बुधबार

  • इ.स.: 2026 May 6,WEDNESDAY

  • वि.सं.: २०८३, वैशाख २३ बुधबार

  • राधास्वामी आश्रममा रहेका मोतीविन्दुको समस्या भएकालाई तत्काल अपरेसन गराउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन

    कार्यवाहक प्रमुखले आश्रममा बसेका व्यक्तिहरुसँग कुरा गर्दा आँखाको उपचार गराइदिन माग गरेका थिए

    काठमाडौँ । राधास्वामी आश्रममा रहनुभएका मध्ये ४ जनाको मोतीविन्दुको शल्यक्रिया गर्न काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी.लाई निर्देशन दिनुभएको छ । वैशाख २० गते आँखा परीक्षण तथा उपचार शिविरमा जाँच गराइएका मध्ये मोतीविन्दु भएका विरामीलाई तत्काल शल्यक्रिया गर्न उहाँले निर्देशन दिनुभएको हो । यस आश्रममा काठमाडौँका नदी किनाराको अव्यवस्थित बसोबास खाली गराउने क्रममा आफूलाई भूमिहीन भनेर लगत टिपाउने परिवारलाई राखिएको छ । यसअघि थापाथली, गैरीगाउँ, मनोहरालगायतका नदी किनारामा बसोबास गर्ने व्यक्तिहरुलाई यस ठाउँमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ । 

    आश्रम व्यवस्थापनको निरीक्षणका लागि प्रवक्ता नविन मानन्धरसहित कीर्तिपुर आश्रममा पुग्नुभएका भएका बेला डंगोलसँग त्यहाँ रहनुभएका भूमिहीन ज्येष्ठ नागरिकहरुले आँखा धमिलो देख्ने गरेको अवस्था सुनाउँदै उपचार गराइदिन, औषधि दिन माग गर्नुभएको थियो ।

    उहाँहरुको माग लगत्तै कार्यवाहक प्रमुख डंगोलले, स्वास्थ्य विभागलाई आँखा परीक्षणको प्रबन्ध गर्न स्वास्थ्य विभागलाई निर्देशन दिनुभएको थियो । उहाँको निर्देशन पछि नेपाल आँखा अस्पतालसँग सहकार्य गरेर वैशाख २० गते आइतबार आँखा जाँच तथा उपचार शिविर आयोजना गरिएको स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले जानकारी दिनुभयो । शिविरमा बालबालिका, युवा, प्रौढ र ज्येष्ठ नागरिक सबै उमेर समूहका व्यक्तिहरुको आँखा जाँच गरिएको थियो ।  

    अस्पतालका सामुदायिक कार्यक्रम संयोजक राम के. सी. का अनुसार जाँच गरिएकामध्ये ४ जनाको शल्यक्रिया गर्नु पर्ने अवस्था छ । यस्तै ११ जनालाई नजिकका अक्षर पढ्न चाहिने चस्माको आवश्यकता छ । आँखा खुक्सा हुने समस्या धेरैमा देखिएको छ । 

  • प्रकाशित मिति बुधबार २३ वैशाख २०८३ ०७:४५ PM