केन्द्रीय योजनाबाट ७ वटा वडामा २.५ किलोमिटर ड्राइराइजर : वडाहरुबाट पनि जडान हुँदै
काठमाडौँ । आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा काठमाडौँ महानगरपालिकाले ड्राइराइजर जडान गरिरहेको छ । यो काम केन्द्रबाट विपद व्यवस्थापन विभागले गरिरहेको छ भने केन्द्रीय योजनामा नभएका ठाउँमा वडाहरु आफैँले पनि वडाकै बजेटबाट यो प्रणाली जडान गरिरहेका छन् ।
केन्द्रबाट कार्यान्वयनमा आएका योजनामा वडा ३ को सुरुङ् गल्लीमा ८२ मिटर, वडा नं. ७ को कुटी गल्लीमा २०७ मिटर, वडा नं. ६ को संगम टोलमा २२८.२० मिटर पाइप जडान भएको छ ।
वडा नं. १० का ५ वटा गल्लीमा प्रणाली जडान भएको छ । मंगल गल्लीमा २२५ मिटर, मुल्मी गल्लीमा १२० मिटर, घण्टी गल्लीमा २०० मिटर, तीनधारा गल्लीमा २५ मिटर र कलाकार गल्लीमा १७२ मिटरको पाइप जडान भएको हो । वडा नं. १५ को जगडोल टोल अन्नपूर्ण चोकमा ३७३ मिटर, वडा नं. १६ को फुलबारी गल्लीमा १६७.८० मिटर र बगैँचा गल्लीमा २५२.५५ मिटर, वडा नं. १७ को कालधारा गल्लीमा २५३.२० मिटर, जोगीपाखा मार्गमा ४९.८० मिटर र ज्यापू मार्गमा १७४.२० मिटर पाइप जडान भएको विपद व्यवस्थापन विभागले जनाएको छ ।
पाइप जडान भएका स्थानमा जुद्ध बारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रकहरुले परीक्षण गरिरहेका छन् ।
वडा नं. २१ को ह्युमत करुणामय मार्गदेखि दलाछी गणेश स्थानसम्मको गल्लीमा १३० मिटर पाइप जडान गरेर गएको वर्ष नै परीक्षण गरेको हो । यसको लागत करिब ८ लाख रुपैयाँ हो । वडा नं. २९ को कालिञ्चोक मार्गमा, वडा नं. २५ को मांस गल्लीहुँदै महावौद्धतर्फको गल्लीमा पनि प्रणाली जडान भइसकेको छ ।
दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा हुने आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुख्खा पाइप लाइन ड्राइराइजर हो । यदि पाइपमा नियमित पानी बगिरहन्छ भने यसलाई वेटराइजर भनिन्छ ।
ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दुरीमा आउटलेट राखिएको हुन्छ । दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बिचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिन्छ ।
दमकलबाट ८ बारको प्रेसरमा पानी पठाउँदा ७ तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुग्न सक्छ ।