वि.सं.: २०८३, असर ३ बुधबार
इ.स.: 2026 June 17,WEDNESDAY
वि.सं.: २०८३, असर ३ बुधबार
महोत्सवका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाटमा महोत्सवको संकेत चिन्ह लोगो सार्वजनिक
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले असार ५ गतेदेखि २६ गतेसम्म हरेक शुक्रबार र शनिवार टोल टोलमा फिल्म महोत्सव गर्ने भएको छ । सार्वजनिक स्थल, पार्क, डवली, चोकहरुमा सर्ट फिल्म प्रदर्शन, चलचित्र, कला तथा रचनात्मक उद्योग लगायत विषयमा संवाद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम हुनेछन् । आज महानगरपालिकाले महोत्सवका विषयमा जानकारी दिन आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महोत्सवको संकेत चिन्ह (लोगो) सार्वजनिक गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले यस सम्बन्धी जानकारी दिनुभएको हो ।
‘समुदायमा भएका रचनात्मक सिपलाई उद्यम र उद्योगको विकासका लागि काम थालिएको हो । नियमित रुपमा फिल्म महोत्सव आयोजना गर्ने निफ, किम्फ, मानव अधिकार फिल्म फेस्टिभल लगायत कार्यक्रमका आयोजक, चलचित्र क्षेत्रसँग सम्बन्धित संघसंस्था र पेशाकर्मीसँगको सहकार्यमा महोत्सव आयोजना हुनेछ ।’ डंगोलले भन्नुभयो, ‘महानगरपालिकाले आउँदो आर्थिक वर्षमा आयोजना गर्ने लक्ष्य राखेको अन्तर्राष्ट्रिय फिल्म महोत्सवसम्म पुग्ने गरी टोलटोलमा फिल्म महोत्सवको कार्यक्रम आयोजना गरिएको हो ।’
महोत्सव असार महिनामा ८ ठाउँमा आयोजना हुनेछ । जुन ठाउँमा कार्यक्रम आयोजना हुने हो, त्यही ठाउँको स्थानीय संस्थालाई व्यवस्थापनको जिम्मेवारी दिइनेछ । यसका लागि सार्वजनिक सूचनाबाट ८ वटा संस्था सूचीकृत र ३ वटा संस्थालाई वैकल्पिक सूचीमा छनोट गरिएको छ ।
पत्रकार भेटघाटमा प्रवक्ता नविन मानन्धरले नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा योगदान दिने महोत्सवको मुख्य उद्देश्य रहेको बताउनुभयो । ‘यो कार्यक्रमको थालनी हो । यसलाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवसँग जोडेर सम्पन्न गरिनेछ ।’ प्रवक्ता मानन्धरले भन्नुभयो, ‘मटोल टोलमा फिल्म महोत्सवा प्रदर्शन गरिने लघु चलचित्र, चलचित्र प्रदर्शनका लागि एलईडी तथा साउण्ड सिस्टम, क्युरेटरलगायत सहयोग महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले उपलब्ध गराउनेछ । महोत्सवको व्यवस्थापन स्थानीय संस्थाहरुले गर्नेछन् ।’
प्रवक्ता मानन्धरका अनुसार काठमाडौँ महानगरपालिकाले २०८० कार्तिक १४ गते युनेस्को क्रियटिभ सिटीज नेटवर्कमा फिल्म विधाबाट सदस्यता प्राप्त गरेपछि रचनात्मक उद्यमसँग जोडेर फिल्मसँग सम्बन्धित काम थालिएको हो ।
मानन्धरले आगामी कार्यक्रमका विषयमा जानकारी दिँदै भन्नुभयो, ‘यो विधा, राष्ट्रिय अन्तरराष्ट्रिय फरक संस्कृति, अवस्थिति र परिस्थितिलाई आपसमा नजिक ल्याउने, साझेदारी र विचार आदानप्रदानलाई प्रोत्साहन गर्ने सशक्त माध्यम हो । भिन्न सहरका भिन्न विशेषतालाई आपसमा परिचित गराउने, समावेशी समाज, सृजनात्मक अर्थतन्त्र, मानव विकास, सामाजिक सद्भाव, प्राविधिक आविष्कार, वैज्ञानिक विकास दृष्टिकोणलाई चलायमान बनाउने यस अन्तर्गतका क्रियाकलाप हुन् ।
आवद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबिच समन्वय सहकार्य गरेर स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय चलचित्र निर्माण गर्न प्रतिभाहरुलाई प्रोत्साहन अन्तर्गत सञ्चालन हुने क्रियाकलाप हुन् ।’
यस क्षेत्रबाट प्राचीन संस्कार, संस्कृति, परम्परा जस्ता मौलिकता प्रवर्धन तथा स्थानीयबासीको आय वृद्धिमा जोड हुने कार्यक्रम सञ्चालन हुन्छन् । सांस्कृतिक र रचनात्मक रणनीति विकास हुन्छ ।
अनुसन्धानकर्ताहरूका लागि वार्षिक रूपमा अनुसन्धान फेलोसिप प्रदान गरिन्छ । सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहभागी हुन छात्रवृत्ति प्रदान गरिन्छ । रचनात्मक उद्योगहरूका लागि विद्यमान पूर्वाधारलाई सुधार र स्तरोन्नति गरिन्छ । पारम्परिक वास्तुकलाको विकास गरिन्छ । सहरी सुन्दरता अभिवृद्धि हुने संरचना निर्माण, लागत प्रभावी चलचित्र निर्माणमा सहयोग प्रदान गरिन्छ ।
यो लक्ष्यमा पुग्न अहिले टोलटोलमा फिल्म महोत्सवबाट महानगरपालिकाले यात्रा प्रारम्भ गरेको छ । प्रवक्ता मानन्धरले, महानगरपालिकाको नेतृत्वमा हुने यस महोत्सवबाट फिल्म तथा रचनात्मक उद्योगसँग सम्बन्धित संघसंस्था, पेशाकर्मी, साझेदार र शुभेच्छुक एकसाथ यात्रा सुरु हुने आशा व्यक्त गर्नुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, सहरी योजना आयोगका सदस्यहरु डा. सुरज काफ्ले, बाबुराम भट्टराई, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App