Logo
  • वि.सं.: २०८३, असर ३१ बुधबार

  • इ.स.: 2026 July 15,WEDNESDAY

  • वि.सं.: २०८३, असर ३१ बुधबार

  • कार्यवाहक प्रमुख डंगोल र राजदूत अर्न्स्ट बिच शिष्टाचार भेट : काठमाडौँ इन्टरनेशनल फिल्म फेस्टिभलमा सहकार्य कुराकानीको विषय

    ' काठमाडौँले आयोजना गर्ने इन्टरनेशनल फिल्म फेस्टिभल ‘रचनात्मक उद्योग’ र ‘पर्यटन’ को एकीकृत प्याकेज हुनेछ' - कार्यवाहक प्रमुख, डंगोल

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८३/०८४ मा काठमाडौँ महानगरपालिकाले आयोजना गर्ने इन्टरनेशनल फिल्म फेस्टिभल ‘रचनात्मक उद्योग’ र ‘पर्यटन’ को एकीकृत प्याकेज हुने बताउनुभएको छ । आज नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टसँग आफ्नै कार्यकक्षमा शिष्टाचार भेटघाट गर्दै उहाँले भन्नुभयो, ‘महानगरपालिकाको काम चलचित्र होइन । तर, रचनात्मक उद्योगको विकासमा समुदाय जोड्ने सशक्त माध्यम हो । यसकारण हामी फिल्म फेस्टिभल आयोजना गर्दैछौँ ।’

    महानगरपालिकाले आयोजना गर्ने फेस्टिभलमा अष्ट्रेलियन कलाकार, चलचित्र निर्माता, निर्देशक, प्राविधिकहरुलाई सहभागी गराउन चाहेको धारणा राख्दै कार्यवाहक प्रमुख डंगोलले, नेपालमा चलचित्र क्षेत्रका पेशाकर्मीहरुको क्षमता विकास, समुदाय तथा शैक्षिक प्रतिष्ठानमा चलचित्र शिक्षा र सचेतना, अध्ययन अनुसन्धान तथा चलचित्रमार्फत रचनात्मक उद्योगको विकास गरेर स्थानीय जीवनस्तर सुधारमा सहकार्य गर्न सकिने बताउनुभयो । ‘चलचित्रले घरभित्र रहेका व्यक्तिलाई सार्वजनिक स्थलमा ल्याएर सामाजिक सद्भाव बढाउन सहयोग गर्ने हामीले महसुस गरेका छौँ ।’ भर्खरै महानगरपालिकाले सम्पन्न गरेको टोल टोलमा फिल्म महोत्सवको नतिजाका विषयमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘बालबालिका र महिलाहरुको सहभागिता र त्यसबाट प्राप्त भएको खुशी हामीले अपेक्षा गरेको नतिजा थियो । प्राप्त भयो ।’ 

    यही सिकाइ, पेशाकर्मी र क्षेत्रगत विज्ञको सुझाव समेटेर सबै पक्ष र साझेदारलाई एउटै मञ्चमा ल्याएर फेस्टिभल आयोजना गर्ने, त्यसभित्रका क्रियाकलापमध्ये, क्षमता विकास तालिम, कार्यशाला, अनुभव तथा सिकाइ आदानप्रदान गर्ने कार्यक्रममा आपसी सहकार्य हुन सक्छ । 

    त्यस क्रममा राजदूत अर्न्स्टले भन्नुभयो, ‘यस वर्ष करिब ५० हजार अष्ट्रेलियन नागरिकले नेपालको भ्रमण गर्नुभयो । यस्तै हजारौ संख्यामा नेपालीहरु अष्ट्रेलियाका विभिन्न सहरमा हुनुहुन्छ । यसकारण काठमाडौँले आयोजना गर्ने कार्यक्रमसँग अष्ट्रेलिया जोडिन सक्छ । आपसी कार्यक्रमप्रति हामी सकारात्मक छौँ ।’

    भेटका क्रममा भगिनी सम्बन्ध स्थापना, डायस्फोरामार्फत सञ्चालन गर्न सकिने कार्यक्रम, सहरी विकास र व्यवस्थापनमा आपसी सिकाइ तथा अनुभव आदान प्रदानका विषयमा कुराकानी भएको थियो । 

    त्यस क्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र प्रमुखको सचिवालयका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । 

  • प्रकाशित मिति बुधबार ३१ असर २०८३ ०९:५३ PM