Logo
  • वि.सं.: २०८३, असोज २३ शुक्रबार​

  • इ.स.: 2026 October 9, FRIDAY

  • वि.सं.: २०८३, असोज २३ शुक्रबार​

  • ‘युथ भिडियो च्यालेञ्ज’ र ‘नेपाल पानोरमा’ को नतिजा सार्वजनिक : छानिए २२ वटा भिडियो 

    फिल्म फेस्टिभलमा १० देशका ४० वटाभन्दा बढी चलचित्र प्रदर्शन गरिँदै 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज ‘युथ भिडियो च्यालेञ्ज’ र ‘नेपाल पानोरमा’ को नतिजा सार्वजनिक गरेको छ । पर्यटन बोर्डको कक्षमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर ५ मिनेटसम्म अवधिका १२ वटा र ३० मिनेटसम्म अवधिका १० वटा भिडियो छनोट भएको जानकारी दिइएको हो । ४० वर्षसम्मका युवाहरुबाट मागिएको ‘युथ भिडियो च्यालेञ्ज’ अन्तर्गत ‘माइ कल्चर, माइ हेरिटेज’ शीर्षकमा ३५ वटा भिडियो प्राप्त भएका थिए । नेपाल पानोरमा शीर्षकमा आव्हान गरिएको खुला वृत्तचित्र (डकुमेन्ट्री), कथात्मक (फिक्सन), एनिमेसन, प्रयोगात्मक ३० मिनेटसम्मका ७५ वटा भिडियो प्राप्त भएका थिए । 

    नतिजा सार्वजनिक गर्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाभित्र पाइलैपिच्छे भेटिने सम्पदा तथा स्मारकसँग सम्बन्धित नभनिएका, नलेखिएका तथा नसुनाइएका प्राचीन, सामाजिक तथा सांस्कृतिक कथा नै कथा रहेको बताउँदै सहरको यही पहिचानलाई प्रवर्धन गर्न चलचित्र विधाबाट प्रयास थालिएको बताउनुभयो । ‘मौलिक खानाका परिकार, मौलिक पोशाक, भाषा, साहित्य र सिर्जनाको चाखलाग्दा विशेषता छन् । चलचित्रमार्फत यस्ता विशेषताको प्रवर्धन गर्न, स्थानीय कलाकारका सिर्जनालाई अन्तर्राष्ट्रिय स्तरमा लैजान र अन्तर्राष्ट्रिय कलाकारलाई महानगरपालिका बस्ती तथा टोलमा ल्याउने कामको थालनीका लागि फेस्टिभल गरेका हौँ ।’

    त्यस क्रममा प्रवक्ता नविन मानन्धरले, नेपाल पानोरमा अन्तर्गत खुला भिडियोतर्फ सुरज पौडेलको ‘रिहाना’, सरिता शाहको ‘मानकी’, सुदर्शन योञ्जनको ‘अशुभ अष्टमी’, श्यामबहादुर लिम्बूको ‘डुअर्स आर स्टिल क्लोज्ड’, पूर्णबहादुर गुरुङ्को ‘अ लेटर इन वीन्टर’, लाक्पा छोडेन लामाको ‘होम इज नट अ प्लेस’, राजेशप्रसाद खत्रीको ‘चुम्पा : अ डल अन्डर द बास्केट’, अलिन कट्टेलको ‘साप्सु : अ सोलेम प्रमिस’, आकाश धिमालको ‘नार’ र सर्जुन राईको ‘मरिछा’ छनोट भएको जानकारी दिनुभयो । 

    यस विधाको निर्णायक मण्डलमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दिनेश डी. सी., चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमी, निर्माता, पटकथा लेखक सम्पदा मल्ल र ‘फिल्म क्रिटिक्स सोसाइटी अफ नेपाल’ लेखक तथा पत्रकार सामीप्यराज तिमिल्सिना हुनुहुन्थ्यो ।

    प्रवक्ता मानन्धरका अनुसार यस च्यालेञ्जमा राज दोङको ‘सिग्रेट’, शैलेश हमालको ‘ह्याप्पिनेस’, धृटिका तिवारीको ‘बगैँचा जस्तै सहर’, करन ब्लनको ‘दियो’, दिनेश महर्जनको ‘इन्द्रजात्रा ः द विगेस्ट फेस्टिभल अफ काठमाडौँ’ सौगात सापकोटाको ‘झिँगु छेँ (माइ होम)’, नर्जुङ् बुढाथोकीको ‘विहाइण्ड द गड’, केशव सार्कीको ‘अन्तिम यात्रा’, जीवन सुनुवारको ‘भकुण्डे भूत’, क्रिमिन तुलाधरको ‘सचिका : अ थ्रेड द्याद टाइज यु होम’, अनुभव श्रेष्ठको ‘द सोल अफ गुठि’ र सजिल बस्नेतको ‘छं ल्वाः मंसां’ छनोट भएका छन् । 

    यो भिडियो च्यालेन्जका लागि चलचित्रकर्मी तथा निर्माता अनिल योञ्जन, नाट्य कलाकार तथा पत्रकार बैकुण्ठ भण्डारी, चलचित्रकर्मी तथा प्रशिक्षक प्रसुना डंगोल, युनेस्कोका सञ्चार विज्ञ रबिन राई तथा सहरी योजनाकार तथा सम्पदा संरक्षणकर्मी रीजा जोशी निर्णायक हुनुहुन्थ्यो । 

    यसरी छनोट भएका दुवै विधाका फ्लिमहरु कार्तिक १५ गते राष्ट्रिय सभा गृहमा प्रदर्शन गरिनेछन् । त्यही दिन युथ भिडियो च्यालेञ्जबाट पहिलो स्थान प्राप्त गर्नेलाई १ लाख ५० हजार रुपियाँ, दोस्रो हुनेलाई १ लाख रुपियाँ र तेस्रो हुनेलाई ५० हजार रुपियाँ सहित अवार्ड गरिनेछ । यस्तै नेपाल पानोरमा विधामा छानिएका चलचित्रलाई जनही १ लाख रुपियाँ प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । 

    काठमाडौँको मौलिकतालाई विश्व स्तरमा लैजानका लागि हामीले फेस्टिभल आयोजना गरिरहेका छौँ । पत्रकार भेटघाटमा महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले भन्नुभयो,  ‘यो लामो यात्राको प्रारम्भ हो । हामीले धेरै काम गर्नुछ । यी कामको लक्ष्य अन्तर्राष्ट्रिय स्तरमा काठमाडौँको गरिमा बढाउनु नै हो ।’  

    ‘काठमाडौँ फ्लिम फेस्टिभल’ काठमाडौँका रचनात्मक उद्योगको पहिचान, विकास र प्रवर्धनका लागि सशक्त माध्यम हो । स्थानीय कलाकार तथा पेशाकर्मीलाई अन्तराष्ट्रिय मञ्चसम्म पहुँच विकास गर्नु तथा अन्तर्राष्ट्रिय कलाकारहरुलाई काठमाडौँका टोल, बस्ती र समुदायसम्म ल्याउनु फेस्टिभलको उद्देश्य हो । यसरी सञ्चालन गरिने क्रियाकलापबाट काठमाडौँको मौलिक पहिचान र गौरवको प्रवर्धन हुनु, चलचित्र उद्योगको विकास तथा पेशाकर्मीको सम्मानित जीवनयापनमा सहयोग गर्नु, चलचित्र क्षेत्रलाई प्राज्ञिक एवं प्राविधिक उद्योगका रुपमा विस्तार गर्नु र यस्ता क्रियाकलापहरुमा स्थानीयलाई सहभागी गराएर आयमा वृद्धि गराउनु अपेक्षित नतिजा हुन् । 

    यी उद्देश्य र अपेक्षित नतिजा हासिल गर्न फेस्टिभलमा समसामयिक र स्वतन्त्र (इन्डिपेन्डेन्ट) फ्लिमहरुको एक विशेष प्रदर्शनीका रुपमा सञ्चालन गरिनेछ । फेस्टिभलमा देखाइने फ्लिमहरुमा मौलिक तथा काल्पनिक शसक्त कथाहरूको बेजोड प्रस्तुति, अद्वितीय आवाजहरू र विशिष्ट सांस्कृतिक दृष्टिकोण समेटिएका छन् । फेस्टिभलले अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका फिचर फिल्म, काल्पनिक कथामा आधारित चलचित्र (फिक्सन), वृत्तचित्र र लघु चलचित्रहरूलाई नेपाली चलचित्रप्रेमी, चलचित्रकर्मी र सर्वसाधारणको माझमा ल्याउनेछ ।  

    नेपाली पुराना फ्लिमहरुको सम्मानमा फेस्टिभलमा पुराना चलचित्रको विशेष प्रदर्शन गरिनेछ । १९७० र ८० को दशकमा निर्माण भएका नेपाली रङ्गीन नेपाली कथानक चलचित्र ‘कुमारी’, ‘के घर के डेरा’ र ‘सिन्दुर’ विशेष प्रदर्शनीमा समावेश हुनेछ । 

    इन्टरनेशनल पानोरमा अन्तर्गत जय नेपालमा चलचित्र प्रदर्शन हुनेछन् । लान हङचाउ निर्देशित चिनियाँ चलचित्र ‘डियर यु’, विकास रञ्जन मिश्र निर्देशित भारतीय चलचित्र ‘बयान’, जुलियन न्युहवास निर्देशित अष्ट्रेलियन चलचित्र ‘मिस एन प्लेस’, जेनेभाइभ क्ले स्मिथ निर्देशित अष्ट्रेलियन चलचित्र ‘स्टेयर्स’, टम पाइजेट निर्देशत चलचित्र ‘इन्च्यान्टेड म्याटर, द आर्ट अफ रोवर्ट पावेल’, मेरिट एन्लान निर्देशित फ्रान्सेली चलचित्र ‘ला ग्राभिडा’ लगायत चलचित्र प्रदर्शन हुनेछन् । 

    जाङहाङ जुन निर्देशित कोरियन चलचित्र ‘द किङस वार्डेन’, रिमा दास निर्देशित सिंगापुरको चलचित्र ‘नट अ हिरो’, सर्वानो सदत निर्देशत चलचित्र ‘नो गुड मेन’, फ्रान्सिस फर्ड कोपोला निर्देशित अमेरिकन चलचित्र ‘गड फादर’ प्रदर्शन गरिनेछ । 

    यस्तै जापानको यामागाता (युनेस्को क्रियटिभ सिटी अफ फ्लिम) बाट आएका लघु चलचित्र भ्यू पिपुल, भ्यू सिटीज प्रदर्शन हुनेछ । 
    फेस्टिभलका विभिन्न कार्यक्रममध्ये आज नै ‘एलिफेन्ट्स इन द फग’ को विशेष प्रदर्शन र चलचित्र टोलीसँग चलचित्र अध्ययन गर्ने विद्यार्थी र पेशाकर्मीका बिचमा अन्तरसंवाद भएको छ । 

    कार्तिक ८ गते आइतबार बसन्तपुरदेखि नरःदे (हाँडीगाउँ), पशुपतिनाथ क्षेत्रहुँदै वसन्तपुरसम्मको हेरिटेज रन आयोजना हुनेछ ।
    कार्तिक १३, १४ र १५ गते मुल कार्यक्रम हुनेछ । कार्यक्रमको शुभारम्भ वसन्तपुरमा सांस्कृतिक प्रस्तुतिसहितको ‘हेरिटेज वाक’ (सांस्कृतिक सम्पदा पदयात्रा), खुला स्थानमा चलचित्र प्रदर्शन, नेपाली चलचित्रप्रति सम्मानका लागि दोस्रो दिन राष्ट्रिय सभागृहमा रेड कार्पेट कार्यक्रम आयोजना हुनेछ । 

    नेपाली पानोरमा अन्तर्गतका फ्लिम प्रदर्शन र पुरस्कार वितरण समारोह राष्ट्रिय सभा गृहमा हुनेछ ।  

    काठमाडौँ युनेस्को रचनात्मक सहर सञ्जालको सदस्य नगर हो । यसलाई विकास र विस्तार गर्न महानगरपालिकाले चलचित्र विधालाई समुदाय र शिक्षासँग जोडेर रचनात्मक उद्योगको प्रवर्धनको माध्यमका रुपमा विकास र विस्तार गरिरहेको छ । मौलिकता र स्थानीयपनलाई जोगाउँदै स्थानीय रचनात्मक उद्योगसँग पेशाकर्मी, संघसंस्था तथा महोत्सव आयोजकसँग जोड्ने काम भइरहेको छ । 

    यस अन्तर्गत विभिन्न सञ्चालन भएका कार्यक्रममध्ये ‘टोलटोलमा फ्लिम फेस्टिभल’ एउटा महत्वपूर्ण कार्यक्रम हो । घरमा बसिरहेका दर्शकलाई फ्लिम हेर्ने संस्कारको विकास गराउने र फेस्टिभल आयोजना गर्न स्थानीय समुदाय, क्लव तथा संघसंस्थाको क्षमता विकास गर्नु यसको मुख्य उद्देश्य थियो । गएको वर्ष सुन्धारा, बागबजार, लगनटोल, खुला मञ्च, बालाजु बाइपास, यट्खा बहाल भाष्करकीर्ति महाविहारमा, लगनटोल र मैतीदेवी मन्दिर खुला चौरमा प्रदर्शन आयोजना गरिएको थियो । 

    महानगरपालिकाले रचनात्मक उद्योगका साझेदार, पेशाकर्मी तथा विज्ञहरुसँग सहकार्य गरेर फेस्टिभलमार्फत  रचनात्मक उद्योगको विकास र नवप्रवर्तनमा काम गरिरहेको हो । यसबाट स्थानीय अर्थतन्त्रको विकासमा नतिजा प्राप्त हुने अपेक्षा छ । विद्यार्थी, समुदाय र पेशाकर्मीलाई चलचित्रप्रति रुचि जगाउन, चलचित्र संवादमार्फत शिक्षा, सूचना र सन्देशका विषय जोडिने आशा राखेको छ । 


     

  • प्रकाशित मिति शुक्रबार​ २३ असोज २०८३ ०५:३१ PM