वि.सं.: २०८३, असोज २३ शुक्रबार
इ.स.: 2026 October 9, FRIDAY
वि.सं.: २०८३, असोज २३ शुक्रबार
'सबै द्यः थुवाहरु मूल समारोह समितिका सदस्य हुनुहुन्छ' - कार्यवाहक प्रमुख, डंगोल
काठमाडौँ । आज काठमाडौँ महानगरपालिका र सम्यक् महादान सम्बद्ध द्यःथुवाहरु विच परिचयात्मक कार्यक्रम भएको छ । सम्यक् महादान मूल समारोह समितिले आयोजना गरेको परिचयात्मक कार्यक्रममा बहाल, बहिल तथा सम्बन्धित द्यःथुवा (देवपालाहरु) सहभागी हुनुभएको थियो ।
परिचयात्मक कार्यक्रममा बोल्दै मूल समारोह समितिका प्रमुख संयोजक एवं काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सम्यक् महादानसँग सम्बन्धित द्यःथुवाहरु मूल समारोह समितिका सदस्य रहनुभएको जानकारी दिनुभयो । ‘सम्यक् महादान एउटा पुस्ताले देख्नै नपाउने अवस्थामा पुगेपछि हामीले महादान आयोजना गर्ने प्रस्ताव नगर सभामा लगेर पारित ग¥यौँ । त्यसपछि सरोकारवाला सबैको सहभागिता रहने गरी मूल समारोह समिति घोषणा गरेर तयारी थालेका हौँ ।’
‘मूर्त सम्पदा जोगाउन मर्मत, सम्भार तथा जीर्णोद्धार गर्न गर्नुपर्छ । अमूर्त सम्पदा जोगाउन पुस्तान्तरण हुने वातावरण बनाउनुपर्छ । सम्यक् महादान गर्नु हाम्रो यही प्रयास हो ।’ डंगोलले भन्नुभयो, ‘सबैको सहभागितामा यो सांस्कृतिक तथा ऐतिहासिक परम्परालाई सहज र सरल ढङ्गबाट पुस्तान्तरण हुनेछ ।’
त्यस क्रममा प्रवक्ता नविन मानन्धरले, समय परिवर्तन भएर तत्काल नतिजा खोज्ने समाज निर्माण भइरहेको सन्दर्भमा लामो समयको अभ्यासबाट सम्पन्न गर्नुपर्ने संस्कारलाई निरन्तरता दिन चुनौती भएको बताउनुभयो । ‘महानगरपालिकाले यस्तै चुनौतीको सामना गर्दै सम्पदा संरक्षण र पुस्तान्तरण गरिरहेको छ । सम्यक् महादान पनि यसैको एउटा कार्यक्रम हो ।’ मानन्धरले भन्नुभयो, ‘तत्कालीन समयमा राष्ट्र प्रमुख आफैँ पनि सहभागी हुने परम्परा रहेको संस्कारलाई बचाउन आवश्यक छ ।’
नेपाल मण्डलका संस्कारहरु दान गर्ने संस्कार बोकेका पूर्खा र तिनका सन्तानले धानेको बताउँदै मूल समारोह समितिका संयोजक प्रा. डा. नरेशमान बज्राचार्यले भन्नुभयो, ‘अभावमा पनि ठुला र महत्वपूर्ण काम गर्न सकिन्छ भन्ने पूर्खाहरु स्थापित गरेको सिद्धान्तलाई व्यवहारिक प्रयोग गर्ने बेला आएको छ ।’ देवताहरुलाई महादानमा सहभागितालाई निमन्त्रणा दिने प्रशासनिक, धार्मिक र सामाजिक सबै संस्कारलाई निरन्तरता दिने बताउँदै उहाँले भन्नुभयो, ‘पूर्खाहरुको सम्पत्ति सन्तानलाई लालपूर्जाबाट बाँडेर दिने चलन छ । सम्पत्तिलाई लालपूर्जाबाट पुस्तान्तरण गरेजस्तै संस्कृतिलाई लालपूर्जा सरह पुस्तान्तरण गर्नुपर्छ ।’
उहाँले सम्यक् महादानबाट वंशले धानेको परम्परालाई बचाउन तथा पुस्तान्तरण गर्न सघाउ पुग्ने बताउनुभयो ।
बैठकमा श्रीघ विहार प्रमुख ‘थायपाजु’ लेखक पर्यटनविद कर्ण शाक्यले, जीवनको उत्तरार्धमा पुण्यको काममा सहभागी हुन पाएकोमा खुशी लागेको बताउनुभयो । ‘घरमा भएका सुनको जलप भएका, ठुला मूर्तिहरु महादान स्थलमा ल्याउनु र महादान सकिएपछि लैजानु चुनौतीपूर्ण काम हो । यो काम व्यक्तिको तहबाट गर्न कठिन छ । महानगरपालिकाले देवता ल्याउने लैजाने कामका लागि व्यवस्था गरेको सुनेर खुशी लाग्यो । यो ठुलो कुरा हो ।’ उहाँले थप्दै भन्नुभयो, ‘बुद्ध जन्मेको देशमा सम्यक् महादान गर्ने दायित्व सरकारकै हो । यसको नेतृत्व महानगरपालिकाले लियो । यसबाट कार्यवाहक प्रमुख सुनिता डंगोल र जनप्रतिनिधिले इतिहास बनाउनुभयो ।’
देवता निमन्त्रण उपसमितिका संयोजक संघरत्न शाक्यका अनुसार अहिलेसम्म १२६ वटा द्यःथुवाहरुसँग सम्पर्क भइसकेको छ ।
बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, सम्यक् महादान हुने स्थल भुइँख्य भएको वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल, द्यःपाला सम्बद्ध आधिकारिक द्यःथुवा (देवता संरक्षक) हरुसहित सरोकारवाला वहाल, बहिलका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।





निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App