वि.सं.: २०८३, असर ३१ बुधबार
इ.स.: 2026 July 15,WEDNESDAY
वि.सं.: २०८३, असर ३१ बुधबार
२०८२ चैत १६ गतेदेखि २०८३ वैशाख २१ गतेसम्म प्रारम्भिक परीक्षण : त्यसपछि पोजेटिभ भएकालाई बोलाएर थप परीक्षण
काठमाडौँ । २ हजार ७७९ जना महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण गर्दा ९० जनामा एचपीभी डीएनए रिपोर्टमा पोजेटिभ देखिएको छ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा २०८२ चैत १६ गतेदेखि २०८३ वैशाख २१ गतेसम्ममा महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षणको प्रयोगशाला रिपोर्टमा १२ जनालाई एचपीभी १६, १३ जनालाई एचपीभी १८ र ६५ जनालाई १६ र १८ वाहेक अन्य एचपीभी पोजेटिभ देखिएको हो ।
एचपीभी ६, एचपीभी ११, एचपीभी १६, एचपीभी १८, एचपीभी ३१, एचपीभी ३३, एचपीभी ४५, एचपीभी ५२ र एचपीभी ५८ को संक्रमणले क्यान्सरको जोखिम हुन्छ । यसमध्ये नेपालमा एचपीभी १६ र एचपीभी १८ को मात्र परीक्षण हुनेछ गरेको थियो । यस वर्ष महानगरपालिकाले एचपीभी १६ र १८ वाहेक अन्य प्रकारका एचपीभीको पनि परीक्षण गराएको हो ।
एचपीभी डीएनए पोजेटिभ हुनु क्यान्सर हुनु होइन । यसबाट संक्रमण भएर क्यान्सर हुन सक्ने जोखिम चाहिँ हो ।
क्यान्सर परीक्षण गरिएका ३५ दिन अवधिमा ३ हजार ४९४ जनाले जाँच गराउन स्वास्थ्य प्रवर्धन केन्द्रमा नाम दर्ता गरेर रिफरल स्लिप लिनुभएको थियो । उहाँहरुमध्ये २ हजार ९७५ जना मात्र जाँचका लागि अस्पताल पुग्नुभयो । कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार जाँच गर्न पुग्नुभएका मध्ये २ हजार ७७९ जनाको एचपीभीसँगै २ हजार ९६१ जनाको स्तन क्यान्सर परीक्षण गरियो । उहाँहरुमध्ये ४११ जनाको मेमोग्राम गरियो । ४९४ जनाको स्तनको भिडियो एक्सरे गरियो ।
उहाँहरुमध्ये ४ जनाको स्तनको वायोप्सी गर्नु पर्ने देखियो । उहाँहरुमध्ये १ जना सम्पर्कमा नै आउनु भएन । २ जनाको रिपोर्ट पोजेटिभ देखियो । उहाँहरु अहिले उपचाररत हुनुहुन्छ । १ जनाको स्तनमा मासु पलाएको पाइयो ।
११ जनाको पाठेघरको मुखमा सिआइएन अर्थात् सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया देखियो । यो क्यान्सरको प्रारम्भिक अवस्था हो । यो अवस्थाका ३ वटा तह (ग्रेड) हुन्छन् । पहिलो तहलाई सिआइएन वान, दोस्रोलाई सिआएएन टु र तेस्रोलाई सिआइएन थ्री भनिन्छ । ११ जनामध्ये ४ जनामा हाइ ग्रेडको समस्या र ७ जनामा लो ग्रेडको समस्या थियो ।
२ जनाको पाठेघरको मुखमा मासु पलाएको मासु काटेर फाल्ने (सर्भाइकल पोलिपेक्टोमी) गरियो । परीक्षणका क्रममा आङ् खसेका, पाठेघरको मुखमा संक्रमण (पीआइडी) देखिएको महिलाहरुको उपचार गरियो ।
वडागत अवस्था
वडा नं. २, १२, १७, १८, २० र २१ गरी ६ वटा वडाबाट परीक्षणमा गएका महिलाहरुको रिपोर्टमा पोजेटिभ देखिएन । सबैभन्दा धेरै वडा नं. २२ बाट ११ जनाको रिपोर्ट पोजेटिभ छ । त्यसपछि वडा नं. १६ मा ९ जना, वडा नं. १४ र १६ मा समान ७ जना, वडा नंं ७ मा ६ जनाको रिपोर्ट पोजेटिभ छ ।
पाठेघरको मुख र स्तन क्यान्सर
ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ बर्षदेखि १० बर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । ३० बर्षदेखि ६० बर्ष समूहका महिलाले हरेक ५ बर्षमा एकपटक यसको परीक्षण गराउनुपर्छ ।
१ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ बर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभी जस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै हुन्छ ।
स्तन क्यान्सर यही कारणले हुन्छ भन्ने तथ्य सार्वजनिक भएको पाइँदैन । तर, उमेर बढ्दै जाँदा (विशेषगरी ५० वर्ष काटेपछि) स्तन क्यान्सरको जोखिम देखिन्छ । यदि आमा, दिदीबहिनी वा छोरी कसैलाई स्तन क्यान्सर भएको छ भने अन्य सदस्यमा यसको जोखिम धेरै हुने चिकित्सकहरुको भनाइ छ ।
१२ वर्ष अघि अर्थात् सानै उमेरमा महिनावारी हुनु, ढिलो उमेरमा (५५ वर्षपछि) महिनावारी सुक्नु, लामो समयसम्म हर्मोन फेरबदल गर्ने औषधिहरूको प्रयोग गर्नु, ३० वर्षको उमेरपछि पहिलो सन्तान जन्माउनु, सन्तानलाई स्तनपान नगराउनु, कहिल्यै गर्भवती नहुनु, अत्याधिक धुमपान गर्नु, मोटोपना, शारीरिक व्यायामको अभाव र अस्वस्थ्यकर खानपानलाई पनि क्यान्सरको कारणका रुपमा लिइन्छ ।
स्तन वा काखीमुनि एउटा कडा, नदुख्ने र छाम्दा नहल्लिने गिर्खा वा गाँठो देखिनु स्तन क्यान्सरको प्रमुख लक्षण हो । स्तनको आकारमा अचानक परिवर्तन आउनु, छाला रातो हुनु, खस्रो हुनु तथा सुन्तलाको बोक्रा जस्तो खस्रो हुनु, निप्पल भित्रतिर धसिनु, स्तनबाट तरल पदार्थ बग्नु जस्ता स्तन क्यान्सरका लक्षण हुन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App