Logo
  • वि.सं.: २०८३, असर ३१ बुधबार

  • इ.स.: 2026 July 15,WEDNESDAY

  • वि.सं.: २०८३, असर ३१ बुधबार

  • अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक प्रमुख डंगोलको  कूटनीतिक पहल : कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

    कार्यवाहक प्रमुख डंगोल र नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत उर्बम बिच शिष्टाचार भेट 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, वसन्तपुृरस्थित तलेजु भवानीको गलाबाट चोरी गरेर अमेरिका पुर्‍याइएका गहना फिर्ता गराउन अमेरिकी सरकारसँग सहयोग प्राप्त हुने आशा गर्नुभएको छ । आज उहाँकै कार्यकक्षमा नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट उर्बमसँगको शिष्टाचार भेटका क्रममा उहाँले यस प्रकार सहयोगको अपेक्षा गर्नुभएको हो । 

    ‘काठमाडौँका प्राचीन मूर्ति केवल आकृति मात्र होइनन् । यी स्थानीयबासीको आस्था र विश्वाश पनि हुन् । हेर्दा मूर्त देखिए पनि अमूर्त सम्पदासँग गहिरो सम्बन्ध जोडिएका, मौलिकता र ऐतिहासिकता बोकेका अमूल्य निधि हुन् । यस्ता सम्पत्तिहरु संग्रहालयमा होइन । आफ्नै मौलिक आसनमा जीवन्त हुन्छन् । यसकारण हामी काठमाडौँबाट चोरी भएर विदेशका संग्रहालयमा पुगेका पुरातात्विक महत्व बोकेका मूर्ति, कलाकृति तथा आकृति कानुनी, प्रशासनिक तथा कुटनीतिक प्रक्रिया पूरा गरेर आफ्नै आसनमा फर्काउने अभियानमा छौँ । यस कार्यमा अमेरिकी सरकारबाट सहयोग प्राप्त हुने अपेक्षा गरेका छौँ ।’

    त्यस क्रममा उहाँले मूर्त सम्पदासँगै मौलिक गायन, वादन, नृत्य, संस्कार, संस्कृति जस्ता अमूर्त सम्पदाको संरक्षणमा सामुदायिक संरचनाले काम गरिरहेको बताउनुभयो । ‘समुदायलाई गुठी प्रणालीले बाँधेर राखेको छ । यसले सामाजिक सद्भाव भत्किन दिँदैन । पुस्तौँपुस्तालाई बाँधेर राख्ने सामुदायिक सहभागितामा आधारित क्षमतालाई बचाउन हामीले गुठी, खलः पुचः लाई आर्थिक सहयोग गरेर संरक्षणको दिगोपना प्रदान गर्ने प्रयास गरेका छौँ ।’ उहाँको भनाइ छ । 

    कुराकानीका क्रममा कार्यवाहक राजदूत उर्बमले राख्नुभएको स्थानीय शासनमा प्रमुख र उपप्रमुखको भूमिका, अन्तरसरकार विश्वाश र समन्वयको अभ्यासका विषयमा जिज्ञासामा कार्यवाहक प्रमुख डंगोलले, विधिको पालना र मानव अधिकारप्रति पूर्ण प्रतिवद्ध रहँदै नागरिकको अपेक्षामा आधारित योजनालाई प्राथमिकता दिएको बताउनुभयो । 

    काठमाडौँले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको आयोजना गर्ने योजना बनाएको छ । यसमा हलिउडका कलाकार, प्राविधिक तथा सिर्जनाकारहरुसँग हामी सहकार्य गर्न चाहन्छौँ । कुराकानी क्रममा कार्यवाहक प्रमुखको अपेक्षामा कार्यवाहक राजदूत उर्बमले भन्नुभयो, ‘यस प्रकारका कार्यक्रमले आपसी सम्बन्धलाई नागरिकको तहसम्म पुर्‍याउन सहयोग गर्छ । यसकारण हामी आपसी सहयोगका लागि सकारात्मक छौँ ।’ 

    भेटका क्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र प्रमुखको सचिवालयका अधिकारीहरु, नेपालका लागि अमेरिकी दूताबासको सार्वजनिक मामिला प्रमुख, माइक हर्कर, राजनीति तथा आर्थिक मामिला प्रमुख केट लेही, सार्वजनिक मामिला विज्ञ डा. ध्रुव शाहलगायत अधिकारी हुनुहुन्थ्यो । 


     

  • प्रकाशित मिति बुधबार ३१ असर २०८३ ०७:४७ PM