Logo
  • वि.सं.: २०८२, चैत ३ मंगलबार

  • इ.स.: 2026 March 17,TUESDAY

  • वि.सं.: २०८२, चैत ३ मंगलबार

  • स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार गराउन महानगरपालिकाले वीर अस्पतालसँग सम्झौता ग¥यो  

    कामकाजी, गृहिणीहरुलाई समय व्यवस्थापन गर्न सहज हुने परीक्षण तालिका बनाउन कार्यवाहक प्रमुखको निर्देशन 

    काठमाडौँ । महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँग सम्झौता गरेको छ । आज महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. र अस्पतालका निर्देशक प्रा. डा. दिलिप शर्माका बिच सम्झौता पत्रमा हस्ताक्षर भयो । क्यान्सरको सम्भावना समयमा थाहा पाउन सकियो भने व्यक्तिलाई बचाउन सकिन्छ । क्यान्सर नसर्ने रोगको पहिलो समस्या हो । यसकारण महानगरपालिकाले क्यान्सर नियन्त्रणका लागि परीक्षण र प्रारम्भिक उपचारका लागि सहकार्य गरेको हो । 

    त्यस अवसरमा कार्यवाहक प्रमुख डंगोलले, कार्यालयमा काम गर्ने, गृहिणी तथा अन्य विभिन्न पेशा व्यवसायमा काम गर्ने महिलाहरुलाई पनि परीक्षण गराउन सहज पर्ने समय तालिका मिलाउन र धेरै समय कुर्न नपर्ने व्यवस्थापन गर्न निर्देशन दिनुभयो । सेवा सरल, सहज र पहुँच योग्य बनाउनु होला । अपाङ्गता भएका महिलाहरुका लागि विशेष व्यवस्था गर्नुहोला । उहाँले भन्नुभयो, ‘क्यान्सरबाट बच्ने उपायमध्ये नियमित परीक्षण गराउन एउटा विधि हो । यसका विषयमा भएका भ्रम र असजिला पक्षहरुका विषयमा पर्याप्त जानकारी प्रवाह गर्नुहोला । सबै महिलाको पहुँचमा विस्तार गर्न सकिने गरी परीक्षण गराउने प्रबन्ध मिलाउनुहोला ।’

    त्यस क्रममा अस्पतालका निर्देशक प्रा. डा. शर्माले, गएको वर्षको सिकाइबाट यस वर्ष कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना गरिएको बताउनुभयो । ‘उच्च स्तरीय सेवा प्रदान गर्न हामी प्रयास गर्नेछौँ ।’ प्रा. डा. शर्माले भन्नुभयो, ‘मलाई लक्षण देखिएकै छैन । किन परीक्षण गराउनु भन्ने मानसिकताले अवस्था विग्रिने गरेको छ । विग्रिएको यो अवस्था सुधार गर्न लक्षण नभए पनि परीक्षण गराउनु पर्छ ।’ 

    स्वास्थ्य विभागका प्रमुख के. सी. का अनुसार ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला, गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट हुनु भएका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिनुभएका महिलाहरु परीक्षण र प्रारम्भिक उपचारको लक्षित समूह हुनुहुन्छ । परीक्षण चैत १६ गतेदेखि सुरु हुनेछ । हरेक दिन १ सय जनादेखि १२० जनासम्मको परीक्षण गर्ने गरी योजना कार्यान्वयन गरिनेछ । 

    कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ । यसरी विवरण टिपाएपछि केन्द्रबाट रेफरल स्लिप प्राप्त हुन्छ । यो स्लिपमा उल्लेख भएको मिति र समयमा अस्पताल जानुपर्छ । 

    परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सर परीक्षणमा एचपीभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ । 
     

  • प्रकाशित मिति मंगलबार ३ चैत २०८२ ०७:०० AM