वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
विशिष्ट पदाधिकारीलाई महानगरपालिकाको स्वागत
                        काठमाडौँ । यंया (इन्द्रजात्रा) का विविध सांस्कृतिक गतिविधिमध्येको प्रमुख रथयात्रा आजबाट सुरु भएको छ । बसन्तपुर कुमारी घर अगाडिबाट जीवित देवी श्रीकुमारी, श्रीगणेश र श्रीभैरवलाई रथारोहण गरेर यात्रा सुरु भएको हो । यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेललाई महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले स्वागत गर्नुभएको थियो । यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, प्रधानमन्त्री के. पि. शर्मां ओलीलाई यंया महानगर विशेष कार्यक्रम मूल समारोह समितिका संयोजक आशामान संगतले स्वागत गर्नुभएको थियो । यसैगरी प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई हनुमानढोका दरवार संरक्षण कार्यक्रम उपसमितिका संयोजक विनोदकुमार राजभण्डारीले, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले, गृहमन्त्री रमेश लेखकलाई पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठले, सभामुख देवराज घिमिरेलाई प्रशासन विभागका प्रमुख नमराज ढकालले स्वागत गर्नुभयो ।
जात्रा प्रत्यक्ष प्रसारण भएको भिडियो यहाँ हेर्न सकिन्छ ।
 
मन्त्रीहरु, मुख्य सचिवसहित विशिष्ट पदाधिकारीलाई वडाध्यक्ष र विभागीय प्रमुखहरुले जुद्ध शालिक अगाडि स्वागत गरेर गद्दी बैठकसम्म पुर्याउनुभएको थियो । विश्व सम्पदा क्षेत्रको गरिमा बचाउन काठमाडौँ महानगरपालिकाले गएको वर्षदेखि बसन्तपुरमा सवारी साधन प्रवेशमा रोक लगाएपछि विशिष्ट पदाधिकारी हिँडेर गद्दी बैठक पुग्न थाल्नुभएको हो । 
विशिष्ट पदाधिकारीहरुले गद्दी बैठकबाट यंया (इन्द्रजात्रा) अवलोकन गर्नुभएको थियो ।
जात्रा अवलोकनका लागि महानगरपालिकाले उपत्यकाका स्थानीय तहबाट प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई आमन्त्रण गरिएको थियो । उहाँहरुसहित कुटनीतिक क्षेत्रका पदाधिकारी, आमन्त्रित पाहुना, महानगरपालिकाका नगर सभा सदस्यहरु र विभागीय प्रमुखहरुलाई माजु देगः मा राखेर जात्रा अवलोकन गर्ने व्यवस्था मिलाइएको थियो । 
यस बर्षको सांस्कृतिक तालिका
यस वर्ष भाद्र २० गते, शुक्ल दुतिया (द्वितिया, यंलाथ्व २) को दिन विहान १० बजेर ३२ मिनेटको साइत गरेर यःसिं लिन वन यात्रा सुरु भएको थियो । यसै दिन साँझ ८ बजेर २७ मिनेटको साइतमा वृक्ष कर्तन भएको थियो । वृक्षकर्तनको साइतमा लुँपा (सुनको बञ्चरो) र वहःपा (चाँदीको बञ्चरो) ले सांकेतिक रुपमा रुखमा घाउ लगाउने चलन छ ।  यस क्रममा गुर्जुको पल्टनले सलामी दिएको थियो । भाद्र २१ गते राती भोटाहिटी ल्याएर राखिएको यःसिं भाद्र २६ गते कायाअष्टमिका दिन विहान १० बजेर ३२ मिनेटको साइतमा नगर प्रवेश गराइयो । यःसिंलाई भोटाहिटी, असन, इन्द्रचोकहुँदै हनुमानढोका कागेश्वर मन्दिर नजिक यःसिं उठाउने खाल्डोको छेउमा लगेर राखिएको थियो । यसमा मानन्धर समुदायसँगै गुर्जुको पल्टन र राज खड्ग पनि सहभागी भएका थिए ।
एकादशीका दिन चसाद्वं टोलका मानन्धरहरूले यःसिंमा डोरी बाँधेका थिए । यसलाई ‘वलः घायेगु’ भनिन्छ । ‘वलः घायेगु’ यःसिंमा डोरी बाँध्ने एउटा त्यस्तो जटिल विधि हो, जसलाई तानेर यःसिं उठाइसके पछि यःसिंको सिरानीमा बाँधिएको गाँठो तलै बसेर फुकाल्न सकिन्छ । यःसिं उठाइसके पछि त्यो देवता सरह हुने भएकोले गाँठो फुकाल्न माथि चढ्न मिल्दैन । त्यसैले तलैबाट गाँठो फुकाल्नु पर्ने हुन्छ । 
भदौ ३० गते आइतबार, द्वादशीका दिन बिहानी ८ बजेर २६ मिनेटको साइतमा यःसिं उठाएको थियो । यस कार्यमा पनि न्हयसः नायः, चसाँद्व टोलका मानन्धरहरू अनिवार्य रुपमा उपस्थित हुनु पर्ने चलन छ । यःसिं उठाउँदा कुनै मेसिन वा नयाँ प्रविधिको प्रयोग गरिँदैन । यसलाई परम्परागत विधिबाटै उठाइएको थियो । यसिं उठाइसके पछि त्यसको माथिबाट ध्वजा फहराइएको थियो । यसलाई ‘हलिंपताः’ भनिन्छ । यसमा इन्द्रसँग सम्बन्धित चिन्ह अंकित छन् । यो काम दैसाः टोलका मानन्धरहरुले गरेका थिए ।
आजको रथयात्रा तल्लो टोलमा भइरहेको छ । तल्लो टोलमा वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्मको मार्ग पर्दछ । भोलि माथिल्लो टोलमा माथिल्लो टोलमा रथयात्रा हुनेछ । यो मार्गमा बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुरसम्म पर्दछ । 
आश्विन ५ गते नानिचाका दिन (बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर) रथयात्रा हुनेछ । यसदिन महिलाहरुले रथ तान्नेछन् । २०६९ सालबाट यस दिनको रथ महिलाहरुले तान्न थालेका हुन् । यसै दिन श्रीहरुको हातबाट राष्ट्रपतिले टीका ग्रहण गर्ने कार्यक्रम हुनेछ । यसै दिन राष्ट्र प्रमुख र कुमारी विच खड्ग साट्ने चलन छ । यस दिन बेलुका ८ बजेर ३७ मिनेटमा इन्द्रध्वज पतन गर्ने साइत छ । इन्द्रध्वज ढालिएसँगै यस बर्षका लागि इन्द्र जात्राका कार्यक्रम सकिनेछन् ।
यसरी ३ दिन हुने रथ यात्राका क्रममा पर्ने रुटहरुमा श्री लाखे आजु, श्री पुलुकिसी र श्री हलचोक आकास भैरव सँगसँगै अगाडि पछाडि सहभागी हुन्छन् । रथयात्रा रुटका स्थानीयले जीवित देवीदेवताको श्रद्धापूर्वक पूजा आजा गर्ने गर्छन् ।

 
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                        
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        Intern आवेदन प्रणाली
                    
                                    
                        
                        KMC Mobile App
                    
                                    
                        
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                        
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                        
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                        
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                        
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                        
                        KMC Smart Toilet
                    
                                    
                        
                        Metro Mart
                    
                                    
                        
                        KMC Parking  App