Logo

छिटो र छोटो प्रक्रियाबाट विद्यालयहरुमा सेनिटरी प्याड पठाउन कार्यपालिकामा प्रस्ताव लगिँदै 

छिटो र छोटो प्रक्रियाबाट विद्यालयहरुमा सेनिटरी प्याड पठाउन कार्यपालिकामा प्रस्ताव लगिँदै 

काठमाडौँ । विद्यालयहरुमा छिटो र छोटो प्रक्रियाबाट सेनिटरी प्याड पठाउने सम्बन्धी प्रस्ताव शिक्षा विभागमार्फत कार्यपालिकामा लैजाने निर्णय भएको छ । आज काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको सदस्य सचिव एवं उपनिर्देशक सरस्वती पोखरेलले जानकारी दिनुभयो । 

बैठकमा उपप्रमुख डंगोलले स्वच्छ, गुणस्तरीय र वातावरणमैत्री रुपमा नष्ट गर्न सकिने खालको प्याड वितरणलाई न्युनतम मापदण्ड मानेर छिटो र छोटो प्रक्रियाबाट विद्यालयहरुमा उपलब्ध गराउनु पर्ने बताउनुभयो । ‘विद्यालयहरुलाई सोझै रकम अनुदान दिनु यसको एउटा माध्यम हुन सक्छ ।’ उपप्रमुखले भन्नुभयो, ‘छात्राहरुको संख्या अद्यावधिक गरौँ । व्यवस्था र स्रोत भएर पनि सुविधा प्राप्त हुन नसकेको अवस्थालाई तत्काल अन्त्य गरौँ ।’ 

‘महानगरका सबै विद्यालयहरुलाई चाहिने प्याड एकै पटक खरिद गर्दा समय लाग्न सक्छ । त्यसैले सेनिटरी प्याड वितरण तथा व्यवस्थापन निर्देशिकाले स्थानीय तहलाई दिएको अधिकार प्रयोग गरेर विद्यालयलाई सशर्त नगद अनुदान दिऔँ । हामीले त्यसको अनुगमन गरौँ ।’ बैठकमा प्रमुृख प्रशासकीय अधिकृत बसन्त अधिकारीको भनाइ थियो ।  निर्देशिकाको नियम २० (६) मा स्थानीय तहले निर्णय गरेर विद्यालयमा रकम पठाउन सक्ने व्यवस्था छ । 

केन्द्रीय सरकारबाट आएको अनुदान स्थानीय तहमा रोकिँदा छात्राहरु मर्कामा परेका छन् । बैठकमा सरस्वती माध्यमिकत विद्यालयकी प्रधानाध्यापक रविना महर्जनले धारणा राख्नुभयो । 

काठमाडौँ महानगरमा ८९ वटा सामुदायिक विद्यालय छन् । ३ वटा वैकल्पिक महिला विद्यालयबाट प्याड उपलब्ध गराउन माग भएको सदस्य सचिव पोखरेलको भनाइ छ ।  

काठमाडौँ महानगरपालिकाको असोज १४ गते बसेको कार्यपालिका बैठकले सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समितिलाई पूर्णता दिएको थियो । यो शिक्षा क्षेत्रको कार्यक्रम हो । यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘सेनिटरी प्याड वितरण तथा व्यवस्थापन निर्देशिका’ जारी गरेको छ । यसअनुसार उपप्रमुखको संयोजकत्वमा समिति गठन हुने व्यवस्था छ । यसमा १ जना  कार्यपालिका सदस्य र प्रधानाध्यापकमध्येबाट २ जना सदस्य रहने व्यवस्था छ । यही व्यवस्थाका आधारमा बैठकले उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जन, प्रधानाध्यापकहरुकातर्फबाट विश्वनिकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरका प्रधानाध्यापक हेरम्बराज कँडेल र सरस्वती माध्यमिक विद्यालय, ओन्देका प्रधानाध्यापक रविना महर्जनलाई सदस्यमा मनोनयन गरेको छ । 

कार्यक्रमका लागि संघीय सरकारले बजेट दिन्छ । महानगरका सामुदायिक विद्यालयहरुमा ०७६ सालबाट प्याड वितरण सुरु भएको हो । शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीकाअनुसार महानगरले कक्षा ४ देखि कक्षा १२ सम्मका छात्राको अनुपातमा अनुदान दिएर कार्यक्रम थालिएको थियो । निर्देशिकामा कक्षा ६ देखि १२ सम्म भनिएको छ । कक्षा ४ र ५ मा अध्ययन गर्ने बालिकाहरुमा पनि मासिकस्राव सुरु हुने देखिएकोले महानगरले कक्षा ४ लाई आधार मानेको सुवेदीको भनाइ छ । 

प्याड प्राप्त गर्न महानगरले २०७७ सालमा बोलपत्र आव्हान गरेको थियो । निर्देशिकाको मापदण्डअनुसार सामान प्राप्त हुन नसकेपछि बोलपत्र रद्द गरियो । २०७८ सालमा पुनः बोलपत्र गरियो । यसमा ०७७ सालमा सामानको गुणस्तर नपुगेर रद्द गरिएको प्रतिस्पर्धीले अदालत गएर मुद्दा दायर गरेपछि प्रक्रियामा वाधा सिर्जना भयो । 

  • प्रकाशित मिति: सोमबार ३१ असोज २०७९ १६:१९