Logo

शिक्षक तालिम, नतिजा सुधारका कक्षा र सिर्जनात्मक सिकाइ पाठ्यक्रमको मस्यौदा तयारीमा हिउँदे विदा उपयोग 

छुट्टीको समय उपयोग गर्ने क्रमलाई निरन्तरता दिँदै यसपटक तालिमसँगै पुस्तकरहित शुक्रबारलाई थप प्रभावकारी बनाउने कार्यक्रममा केन्द्रीत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको पुस्तकरहित शुक्रबारका क्रियाकलाप सञ्चालन गर्न पाठ्यक्रमको प्रारम्भिक मस्यौदामाथि क्षेत्रगत विज्ञबाट पृष्ठपोषण र सुझाव लिएको छ । पुस १८ गतेदेखि सुरु भएको हिउँदे विदाअन्तर्गत माघ ६, ७ र ८ गते दरबार हाइस्कूलमा विश्वविद्यालयका प्राध्यापक, विषय विज्ञ, सामुदायिक विद्यालयका प्रधानाध्यापक, फोकल शिक्षक र वुक फ्रि फ्राइडे कार्यक्रम सञ्चालन साझेदारहरुका बिचमा यसअघि गरिएका कार्यक्रमबाट प्राप्त उपलब्धि, सिकाइ, अनुभवका आधारमा विद्यार्थीहरुको ज्ञान, सिप र आचरण सुधारका लागि पृष्ठपोषण लिएको हो ।

महानगरपालिकाले शैक्षिक सुधारका लागि लिएको नीति, नीति कार्यान्वयन गर्न बनाएका कार्यक्रम, यसका अभ्यासका विषयमा साझा बुझाइ निर्माण गरेर सानो र ठुलो समूहमा छलफल गराइएको थियो । एक वर्षभित्र २५ वटा शुक्रबार पुस्तकरहित क्रियाकलाप सञ्चालन गर्दा प्रशिक्षकसहित ७५ घण्टाका क्रियाकलाप, प्रशिक्षक विनाका क्रियाकलाप, २५ घण्टाको परियोजना कार्य, विद्यालय, प्रधानाध्यापक, फोकल शिक्षक, शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका र सहभागिता निर्धारण गरिएका छन् ।  

यसरी सञ्चालन गरिने क्रियाकलापका लागि आवश्यक पर्ने स्रोत, प्रशासनिक तथा प्राविधिक खर्च, स्रोत व्यक्तिहरुको पहिचान र सम्लग्नता सम्बन्धी विषयमा छलफल, प्रस्तुतिकरण र लेखन भएको छ । 

शुक्रवारको कार्यक्रमका लागि २५ वटा विषय राखिएका छन् । यी हरेक विषयलाई एउटा उपसमूह मानिएको छ । यी उपसमूहमध्ये बालबालिका तथा वातावरण (वावा) र विज्ञान, प्रविधि, इन्जिनियरिङ, आर्टस र गणित (स्टिम) विषय हरेक विद्यालयका लागि अनिवार्य उपसमूह हुन् । अन्य विषय विद्यार्थीको संख्यालगायत सूचकका आधारमा सञ्चालन गर्न सकिनेछ । 

यी २ वटा उपसमूहसँगै स्काउट, नृत्य, पठन संस्कार (रिडिङ् कल्चर), योग, म्युरल (भित्ते चित्र), चरित्रवान नेतत्व विकास, मार्गदर्शनमार्फत नेतृत्व, नाट््य, कथा वाचन (स्टोरी टेलिङ्) छन् । संगीतमा मादल, बाँसुरी र सारङ्गी छन् । चलचित्रको दृष्टिकोणबाट सिकाइ (क्यामरा एण्ड टेक्नोलोजी) विपद व्यवस्थापन, संस्कृति र सम्पदा, ट्राफिक व्यवस्थापन, चारित्रिक नेतृत्व (क्यारेक्टराइस्टिक लिडरसिप), उद्यमशील सोच, कोडिङ्, व्यक्तित्व विकास, एनिमेसन र गेमिफिकेशन, चलचित्र निर्माण (फिल्म मेकिङ्) र ड्र«ोन शुक्रबारका कार्यक्रममा सञ्चालन भइरहेका छन् । 

प्रारम्भिक बाल विकासका कक्षा (इसिडि) पछि कक्षा १ देखि ३ सम्म एकीकृत सिकाइका कक्षा सञ्चालन हुन्छन् । कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइका कक्षा सञ्चालन हुन्छन् । यस्तै कक्षा ९ र १० मा शिक्षामा सिप कार्यक्रम सञ्चालन भइरहेका छन् ।  

मोवाइल एण्ड एलेक्ट्रोनिक्स, कुलिनरी आर्टस, व्युटिसियन एण्ड हेयर स्टायल, फेसन डिजाइन एण्ड क्लोथिङ्क कन्स्ट्रक्सन (फेसन डिजाइन र कपडा निर्माण), तार र विजुली जडान (हाउस वायरिङ् एण्ड इलेक्ट्रिकल), एग्रिकल्चर एण्ड अर्वन फार्मिङ्ग, प्लम्बिङ्, कला र मूर्तिकला (स्केचिङ् एण्ड स्कप्चर), कार्पेन्ट्री एण्ड उड कार्भिङ् (काठमा बुट्टा कुँदेर बेलबुट्टा भर्ने काम), विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) डकर्मी कला शिक्षामा सिप कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेका छन् । 

यसरी सञ्चालन गरिने क्रियाकलापलाई नतिजामुखी बनाउन यस पटकको हिउँदे विदामा विभिन्न कार्यक्रम सञ्चालन गरिए ।  

विद्यार्थी विद्यालय नआएका बेला एसइईको नतिजा सुधारका लागि कक्षा १० का कक्षा नियमित सञ्चालन गरिए । दरबार हाइस्कूलमा नेपाल भाषाका सहायक प्रशिक्षकका लागि नियमित मूल्याङ्कन सम्बन्धी तालिम प्रदान गरियो । कक्षा ९ र १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, अर्थशास्त्र विषयका शिक्षकका लागि विषयगत तालिम सञ्चालन भयो । 

पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजारमा प्रारम्भिक बाल विकास सहजकर्ताका लागि सैद्धान्तिक र प्रयोगात्मक तालिम तालिम प्रदान गरियो । यहाँका प्रशिक्षार्थीहरुलाई प्रयोगात्मक अभ्यास गराउन विजय स्मारकका प्रारम्भिक बाल विकासका कक्षाहरु प्रयोग गरिएको थियो । 

पद्मोदय माध्यमिक विद्यालय, रामशाहपथमा कक्षा १ देखि कक्षा ३ सम्म अध्यापन गराइरहेका शिक्षकका लागि एकीकृत र सिर्जनात्मक सिकाइको तालिम प्रदान गरियो । 

एसइई नतिजा सुधार कक्षा 
सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययन गरिरहेका बिद्यार्थीहरुको शैक्षिक उपलब्धि सुधार गर्न हिउँदे शिक्षण शिविर सम्पन्न भयो । परियोजनामा आधारित शिक्षण, समूहगत कार्यहरू, सहपाठीसँग सिकाइ र पुनरावलोकन कक्षा जस्ता सिकाइ विधिबाट विद्यार्थीहरुलाई विषयमा नयाँ दृष्टिकोणबाट सिक्ने वातावरण प्रदान गरिएको थियो । एसइईमा उत्कृष्ट नतिजा प्राप्त गर्न तयार गर्नु शिविरको उद्देश्य थियो ।

सहकार्य, समस्या समाधान र समूहगत कार्यबाट विद्यार्थीहरूको सामाजिक र शैक्षिक सिप विकास तथा परीक्षाका लागि आत्म विश्वाश बढाइएको छ । 

महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई एसइई परीक्षाको नतिजा सुधारका लागि शैक्षिक सत्रको सुरुवातदेखि नै अतिरिक्त कक्षा सञ्चालन गरिरहेको छ । नतिजा सुधार कार्यक्रमलाई छुट्टीको समयसँग जोड्दै गएको दशैँ र तिहारका बिचमा भएको विदा अवधिमा ‘फेस्टिभल क्याम्प’ आयोजना गरेको थियो । प्रयोगात्मक तथा रचनात्मक सिकाइ, खेल र मनोरञ्जनका माध्यमबाट विद्यार्थीहरुलाई शैक्षिक अभिरुचिमा प्रोत्साहन गर्नु यसको क्याम्पको उद्देश्य थियोे । छुट्टीको समय उपयोग गर्ने क्रमलाई निरन्तरता दिँदै यसपटक तालिमसँगै पुस्तकरहित शुक्रबारलाई थप प्रभावकारी बनाउने कार्यक्रममा केन्द्रीत गरियो । 


 

  • प्रकाशित मिति: बुधबार ९ माघ २०८१ १०:१३