Logo
  • वि.सं.: २०८३, असर ९ मंगलबार

  • इ.स.: 2026 June 23,TUESDAY

  • वि.सं.: २०८३, असर ९ मंगलबार

  • कक्षा ४ र ५ का शिक्षकलाई विद्यार्थी मूल्याङ्कन र नतिजा अभिलेखन सम्बन्धी तालिम

    सरकारले जारी गरेको शासकीय सुधारको बुँदा नं. ८९ कार्यान्वयनका लागि क्षमता विकास 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा ४ र ५ मा अध्यापन गराउने शिक्षकहरुका लागि विद्यार्थी मूल्याङ्कन र नतिजा अभिलेखन सम्बन्धी २ दिने तालिम अन्तर्गत पहिलो चरणमा १८० जनालाई शिक्षकलाई प्रशिक्षित गरेको छ । आउँदो आइतबार थप १८० जनालाई तालिम प्रदान गर्ने शिक्षा विभागको योजना छ । 

    सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी कार्ययोजना अन्तर्गतको ८९ औँ वुँदामा उल्लेख भएको कक्षा ४ र ५ का विद्यार्थीहरुको नियमित मूल्याङ्कन सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न तालिम सञ्चालन गरेका हौँ । पहिलो चरणको तालिम समापन गर्दै शिक्षा विभागका प्रमुख नमराज ढकालले भन्नुभयो, ‘तालिमले शिक्षकहरुलाई मूल्याङ्कन प्रणालीका विषय स्पष्टता कायम गरेको छ । आत्मविश्वाश जगाएको छ ।’ 

    ‘शिक्षकहरूको उत्कृष्ट तथा नवीन अभ्यासहरूको आदानप्रदान, पाठ्यक्रमको परिचय र संरचना’, ‘विषयगत पाठ्यक्रम र तिनका विशेषता’, ‘नविनतम शिक्षण विधिको प्रयोग’, ‘ विद्यार्थी मूल्याङ्कनका सम्भाव्य तरिका र साधनहरूको  प्रयोग’, ‘सिकाई उपलब्धि मूल्याङ्कन अभिलेख फारामको प्रयोग’, ‘जीपीए गणना र विद्यार्थीको प्रगति प्रतिवेदनको नमूना तयारी’ लगायत विषय तालिममा समावेश गरिएको थियो । तालिम  सहजकर्ता सीता पाण्डेका अनुसार स्रोत शिक्षकहरुलाई स्रोत व्यक्तिका रुपमा राखेर तालिम सञ्चालन गरिएको हो । 

    महानगरपालिकाले चालु आर्थिक वर्षको यस अवधिमा १ हजार ६४६ जना शिक्षकहरुलाई विभिन्न विधामा तालिम प्रदान गरेको छ । यसमा बाल विकास सहजकर्ता (इसीडी) मा १२४ जना, मनोवैज्ञानिक र मनोसामाजिक परामर्श सम्बन्धी तालिममा १३४ जना, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ १६४ जना, संस्थागततर्फ ११६ जना र विद्यार्थी मूल्याङ्कन तथा नतिजा अभिलेखनमा १८० जनालाई तालिम प्रदान गरिएको हो ।  

    सूचना तथा प्रविधि सम्बन्धी तालिममा ३८५ जना, एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्याङ्कन र विषयगत रुपमा प्रश्नपत्र निर्माण तथा विद्यार्थी मूल्याङ्कन सम्बन्धी तालिममा ४६० जना र प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीको अपाङ्गता पहिचान सम्बन्धी तालिममा ८३ जना शिक्षक सहभागी हुनुभयो । असार महिनामा विद्यार्थी मूल्याङ्कन तथा नतिजा अभिलेखन सम्बन्धी थप १८० जना शिक्षकलाई तालिम दिने योजना छ । 

    शिक्षकहरुको क्षमता विकास गर्ने, यसरी सिकेको ज्ञान, सिप र आचरणलाई कक्षा कोठामा प्रदर्शन गर्न प्रोत्साहन गर्ने कार्यक्रमबाट सामुदायिक शिक्षातर्फ नतिजा सुधार हुने अपेक्षा राखिएको छ । 


     

  • प्रकाशित मिति मंगलबार ९ असर २०८३ ११:२२ AM