Logo

काठमाडौँमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु 

काठमाडौँमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान थालेको छ । राष्ट्रिय सभा गृहमा लैङ्गिक हिंसा निवारण सञ्जाललगायत सरोकारवालाहरुलाई भेला गरेर महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले अभियान सुरु गर्नुभएको हो । अभियान शुभारम्भ अवसरमा उपप्रमुख सुनिता डंगोल, सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी.  प्रवक्ता नविन मानन्धरसहितसहित वडाध्यक्ष, वडा सदस्यसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । 

कार्यक्रम सुरु गर्दै प्रमुख शाहले भन्नुभयो, ‘हिंसा अन्त्य गर्न यो (हिंसा) के हो? कसरी हुन्छ? पीडितले थाहा पाउनु पर्छ । घरायसी सम्बन्ध र सामाजिक आचरणमा कस्ता स्वभाव हुन्छन्? कस्तो आवाज र कस्तो व्यवहारलाई हिंसा मान्ने भन्ने अनुभूत हुनुपर्छ । अनि मात्र हिंसा विरुद्ध कानुनी उपचार खोज्न सकिन्छ ।’

‘शिक्षित र सम्पन्न परिवारमा पनि हिंसा देखिएको छ । बाहिर आउन लजाएर तथा डराएर अझै पनि कपितय हिंसा बाहिर आउन सकेका छैनन् । यसलाई नियन्त्रण गर्न हामीले अभियान थालेका छौँ । हिंसा अन्त्य गरेर सभ्य समाज निर्माणमा हामी सदैव क्रियाशील हुनेछौँ ।’

‘महिला, पुरुष वा तेस्रो लिङ्गी भएकै कारण भेदभाव, अपमान, दुव्र्यवहार, शारीरिक, मानसिक, भावनात्मक वा यौनजन्य पीडा सबै हिंसा हुृन् । कानुनले यी सबै क्रियाकलापलाई अपराध मानेको छ ।’ उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘हिंसा अन्त्यका लागि सरकार र साझेदार सबै एकै ठाउँमा हुनुपर्छ ।’ 

‘हिंसाविरुद्ध शुन्य सहनशीलता अपनाएर काठमाडौँ महानगरपालिकाले यसलाई नियन्त्रण गर्नेछ । यसका लागि वडा वडामा महिला सेल गठन भइसकेका छन् ।’ उहाँले भन्नुभयो, ‘साना साना व्यवहारमा परिवर्तन गरेर साँच्चैको परिवर्तन गराउनुपर्छ ।’  

‘महिलाहरुको आर्थिक शसक्तिकरणबाट परिवारमा र समाजमा उपस्थिति बलियो बनाउँछ । हामीसँग महिलाहरुको क्षमता विकास र सशक्तिकरणका कार्यक्रम छन् । यसबाट प्रभावित क्षेत्रका व्यक्तिहरुलाई सहयोग पुग्न सक्छ ।’ कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवं वडा १० का अध्यक्ष रामकुमार के. सी. ले, आफूलाई कमजोर छु भन्ने सोचका कारण पनि हिंसा हुने भएकोले सम्भावित हिंसामा पर्नेहरुलाई आत्मविश्वाशका कार्यक्रम चलाउनु पर्ने खाँचो देखिएको बताउनुभयो । 

लैङ्गिक हिंसा नियन्त्रणका लागि काठमाडौँ महानगरपालिका नीति, कार्यविधि र कार्यक्रमबाट समुदायमा गएको छ । सामाजिक विकास विभागका प्रमुख दिपक अधिकारीकाअनुसार, लिङ्गका आधारमा हुने हिंसा नियमनका लागि लैङ्गिक हिंसा निवारण कोष, २०७८, मानव वेचविखन तथा ओसारपसार कार्यविधि २०७८, महिला सञ्जाल गठन तथा सञ्चालन कार्यविधि २०७९, काठमाडौँ महानगरले हिंसा नियन्त्रणलगायत गरेको कानुनी प्रबन्ध हो । 

वडावडामा महिला सेल गठन, निगरानी समूह निर्माण गरेर महानगरभित्र हिंसाको सुक्ष्म निगरानी गर्ने संयन्त्र बनाइएको छ ।  

आर्थिक, सामाजिक र राजनीतिक परिवेशअनुसार हिंसाका प्रकृति र घटना फरक देखिन्छन् । हिंसामा महिला मात्र छन् भन्ने अवस्था छैन । यसमा पुरुष र यौनिक अल्पसंख्यक पनि छन् । अभियान शुरुवात अवसरमा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले, हिंसाका उजुरीको संख्याले घटना बढेको देखाउने धारणा राखे । अर्कोतिर यस अघि लुकाउने गरिएका घटना बाहिर आउन थाले भन्न पनि सकिन्छ । ओरेक नेपालका कार्यकारी निर्देशक युवराज न्यौपानेले, बलात्कारका घटनामध्ये ९० प्रतिशत चिनजानका व्यक्तिबाट हुने तथ्याङ्कबाट घरव्यवहारमा सोच परिवर्तनको खाँचो देखाउनुभयो । कार्यक्रममा महिला विकास समितिका तर्फबाट धारणा राख्दै नीरु महर्जनले, महानगरमा १ वडा १ सीप अभियान सञ्चालन गरेर महिलाहरुलाई आर्थिक सशक्तिकरणका कार्यक्रममा सहभागी गराउनु पर्ने विचार राख्नुभयो ।   

कार्यक्रमको दोस्रो सत्रमा नेपाल प्रहरीका उपरीक्षक दिनेश मैनालीले, अहिले हिंसा गर्न एउटा मोवाइल भए पुग्ने अवस्था आएको उल्लेख गर्नुभयो । साइबर अवराध सम्बन्धी प्रस्तुतीकरण गर्दै उहाँले, इन्टरनेटमा आधारित सुविधा लिँदा कसरी लिने ज्ञान नभएपछि लोभ, लालच बढाउने घटनामा वृद्धि भएको उल्लेख गर्नुभयो । त्यस्तै वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले, नेपालमा हिंसा न्युनीकरणका लागि निर्माण गरिएका कानुन र उपायका विषयमा प्रस्तुतिकरण गर्दै हिंसा न्युनीकरण गर्न सचेतना र सशक्तिकरण आवश्यक पर्ने बताउनुभयो ।   

बैठकमा विद्यालय उमेरका बालबालिकाहरुलाई लिङ्गका आधारमा हुने हिंसा, यौनजन्य हिंसा तथा इन्टरनेटका आधारित हिंसाका बारेमा ज्ञान दिनु पर्ने, वचावटको सीप सिकाउनु पर्ने आवश्यकता देखाइएको छ । 

नेपालमा बोक्सीको आरोप, महिनावारी र सुत्केरी सम्बन्धि मूल्य मान्यता, गाली, बेइज्जती, छुवाछुत, दाइजो, लिङ्ग पहिचानबाट गरिने भ्रुण हत्याजस्ता हिंसा धेरै हुने गरेको तथ्याङ्कले देखाउँछ । यसप्रकारका अपराध हुन नदिन नेपालको संविधानले बिभिन्न अधिकारको व्यवस्था गरेको छ । महिलाको हक, शोषण विरुद्धको हक, छुवाछुत र भेदभाव विरुद्धको हक, समानताको हक, न्याय सम्बन्धि हक, अपराध पीडितको हक, बालबालिकाको हकलाई मुख्य रुपमा लिन सकिन्छ । 

सन् १९९१ देखि हरेक बर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म बिभिन्न कार्यक्रमका साथ महिला हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन हुँदै आएको छ । लिङ्गका आधारमा हुने सबै प्रकारका हिंसा र अपराध हटाएर समानतामा आधारित समाज निर्माण गर्नु यस अभियानको मुख्य लक्ष्य हो । 

यो बर्ष ‘सभ्य समाजको पहिचान, लंैङ्गिक हिंसाविरुद्धको अभियान’ नारासहित अभियान थालिएको छ । शुभारम्भ अवसरमा किरोशी समूहले नाटक प्रदर्शन गरेको थियो । 

तस्विर : विनय शाक्य

  • प्रकाशित मिति: शनिबार १० मंसिर २०७९ १०:३४