वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
३२ वटै वडाहरूमा समन्वयात्मक र सामुदायिक सहभागितामा आधारित रोग रोकथाम कार्यक्रम
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले डेङ्गी तथा हैजा रोग जस्ता महामारीजन्य रोगहरूको रोकथाम र नियन्त्रणका लागि ३२ वटै वडाहरूमा व्यापक अभियान सञ्चालन गर्ने तयारी गरेको छ । जसका लागि महानगरपालिका बहु क्षेत्रीय समन्वय र सामुदायिक सहभागितामा आधारित कार्य योजना तयार गरेको स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले जानकारी दिनुभयो ।
अभियानअन्तर्गत लामखुट्टेको वासस्थान खाेजपड्ताल गरी लामखुट्टेकाे लार्भा नष्ट गर्न विशेष जोड दिइनेछ। त्यसका लागि पानी जम्ने खाल्डाखुल्डी पुर्ने, खुला स्थानमा राखिएका पानी जम्न सक्ने भाँडा र टायर हटाउने, पार्कहरूको सरसफाइ गर्ने योजना छ। “पानी जम्ने ठाउँ र झाडीहरूमा लामखुट्टेको वासस्थान बन्न सक्छ। यस्ता ठाउँ हटाउन वातावरण व्यवस्थापन विभागसँग समन्वय भइरहेको छ,” केसीले बताउनु भयो ।
महानगरले शहरी व्यवस्थापन विभागसँग मिलेर निर्माण सामग्रीका सामान अव्यवस्थित रूपमा राखेका सामानहरू हटाउनका लागि पहल गर्ने र पानी जम्ने सम्भावना भएको अवस्थालाई व्यवस्थापन गर्ने छ । यस सँगै महानगर प्रहरी, विपद् व्यवस्थापन विभाग र नेपाल रेडक्रस सोसाइटी तथा यूथ ग्रुपसँगको सहकार्यमा नागरिक सचेतना अभियान र स्वयंसेवक परिचालन गरिँदै छ। वडा कार्यालय, स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्थानीय क्लब, सामुदायिक प्रहरी र स्वास्थ्य स्वयंसेविकाहरूको सहभागितामा यो अभियान सञ्चालन हुनेछ ।
स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकल पर्सन ऋषिप्रसाद भुसालका अनुसार महानगरपालिकाका प्रत्येक कार्यालयमा शुक्रवार बिहान ९:३० देखि १०:०० बजेसम्म कार्यालय परिसरमा लामखुट्टेको वासस्थान खोज गरी लार्भा नष्ट गर्ने अभियान नियमित रूपमा सञ्चालन हुँदै छ । यो कार्यमा निजी क्षेत्र सँग सम्बन्धित कार्यालयहरू समेत सहभागी हुनका लागि महानगरपालिकाले अनुरोध गरेको छ।

५३ वटा सरकारी र निजी अस्पतालहरूलाई आफ्नो परिसर सरसफाइ र लामखुट्टेको वासस्थान हटाउन निर्देशन दिइनेछ। “निजी स्वास्थ्य संस्थाबाट स्पष्ट तथ्याङ्क नआउँदा डेङ्गी सङ्क्रमितको सङ्ख्या यकिन गर्न कठिन भएका कारणले यसलाई व्यवस्थित गर्नका लागि समन्वय र छलफल गरिनेछ,” भुसालले भन्नु भयो ।
हैजा नियन्त्रणका लागि खानेपानीको गुणस्तरमा विशेष ध्यान दिँदै जारको पानी ढुवानीमा हुने कमजोरी रोक्न प्लास्टिक र्याप, स्टिकर र सचेतनामूलक अभियान सञ्चालन गरिनेछ। पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र खान सुझाव दिइएको छ। खानेपानी उपभोक्ता समितिसँग समन्वय गरी पानीको स्रोतदेखि घरसम्मको गुणस्तर जाँच गरिने छ ।
विद्यालयहरूमा कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई डेङ्गी र हैजा रोकथामसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। हालसम्म २१ विद्यालयमा डेङ्गी रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम र सबै वडाहरूमा हैजा रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्यक्रम सम्पन्न भइसकेका छन्। “विद्यार्थीले सिकेका कुरा समुदायमा पुर्याउन सहज हुनेछ। प्रत्येक विद्यालयमा स्वास्थ्य नेतृत्वकर्ता तोकेर सरसफाइमा सक्रियता बढाइनेछ,” भुसालले बताउनु भयो ।
वर्षा यामभर सञ्चालित यो अभियानमा खाद्य प्रविधि, खानेपानी, ढल व्यवस्थापन विभाग र जनस्वास्थ्य कार्यालयसँग समन्वय गरी पानी र खानाको गुणस्तर जाँच तीव्र पारिँदै छ। नदी र खोलामा तरकारी पखाल्ने र ढल मिसाउने कार्यलाई निरुत्साहित गर्न पहल गरिनेछ। पानीपुरी र चटपटेजस्ता खाद्य पदार्थको प्रयोगलाई पनि नियन्त्रण गर्ने योजना छ।
अभियान २०८२ साउन ७ गतेदेखि सुरु भई विभिन्न चरणमा सञ्चालन हुनेछ। साउन ९ गतेदेखि लामखुट्टेको वासस्थान खोजी र नष्ट अभियान, साउन १३ गते सरोकारवालासँग संयुक्त बैठक र साउन १६–२० गतेसम्म ३२ वटै वडामा स्वयंसेवक र स्वास्थ्यकर्मी परिचालित हुनेछन्।
“लामखुट्टेको वासस्थान नष्ट गर्नु नै डेङ्गी नियन्त्रणको प्रमुख उपाय हो। औषधि छर्केर नियन्त्रण सम्भव छैन, किनकि लामखुट्टेका अण्डा अर्को वर्षको वर्षा यामसम्म जीवित रहन्छन्,” भुसालले बताउनु भयो ।
काठमाडौँ महानगरपालिकाले आम नागरिकका लागि स्वास्थ्यसम्बन्धी गुनासो सुन्न र जानकारी लिन निःशुल्क हटलाइन नम्बर ११८० मा चौबिसै घण्टा सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App