वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
महानगरपालिकाभित्र माघ २२ गते र २५ गतेदेखि गरेर २ चरणबाट कार्यक्रम सुरु हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र ४६ हजार ९८५ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने लक्ष्य राखिएको छ । सामुदायिक विद्यालय, संस्थागत विद्यालयमा अध्ययरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई यो खोप दिइनेछ । महानगरपालिकाको स्वास्थ्य विभागले सामुदायिक र संस्थागत गरेर ४९९ वटा विद्यालयका छात्राहरुको संख्या गणना गरेको छ । विभागको विरणमा ७९ वटा सामुदायिक र ४२० वटा संस्थागत विद्यालय छन् । यी विद्यालयहरुमा ४२ हजार ५७ जना छात्रा अध्ययनरत छन् । विद्यालयबाहिर ४ हजार ९२८ जना किशोरीहरु रहेको विवरणमा उल्लेख छ ।
आज बसेको खोप समन्वय समितिको वैठकमा, महिला स्वास्थ्य र खोपका विषयमा कुरा गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, दीर्घ रोग रोकथामका लागि महानगरपालिकाले सञ्चालन गरेका सहभागितामूलक कार्यक्रममा आमनागरिकबाट सहयोग प्राप्त हुने अपेक्षा गर्नुभयो । ‘सहरी जीवन निष्क्रिय छ । यसैकारण नसर्ने खालका रोगको जोखिम पनि बढेको छ । यसलाई घटाउन समयमै काम गर्नुपर्छ । महानगरपालिकाले नेतृत्व गर्छ । यस अभियानमा एकैसाथ काम गरौँ ।’
जनस्वास्थ्य कार्यालय काठमाडौँका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टका अनुसार प्रति १ लाख महिलामध्ये ४ भन्दा कम संख्यामा क्यान्सर सिमित गराउने लक्ष्य अनुरुप खोप सेवा सञ्चालन गरिएको हो । ‘विश्व स्वास्थ्य संगठनले शिफारिस गरेको र नेपालका औषधि व्यवस्था विभागमा दर्ता भएको यो खोप सुरक्षित छ ।’ विष्टले जानकारी दिनुभयो ।
पाठेघरको मुखको क्यान्सरबाट बच्न ३ चरणका उपाय छन् । १० वर्षदेखि १४ वर्षसम्म उमेरका किशोरीहरूले एच.पि.भी. खोप लगाउनु पहिलो उपाय हो । दोस्रो उपायमा ३० वर्षभन्दा माथिको उमेरका हरेक महिलाले पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ्ग) गराउनु पर्छ । तेस्रोमा पाठेघरको मुखको क्यान्सर रोग पहिचान भएका महिलाले उपचार गराउनु पर्छ । बाल कल्याण महाशाखाका निर्देशक डा. विवेकलाल कर्ण भन्नुहुन्छ, ‘नेपाल सरकारले यी ३ वटै चरणमा ९० प्रतिशत कभरेज गर्ने लक्ष्य राखेको छ । यसका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण छ ।’
स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. का अनुसार महानगरपालिकामा माघ २२ गते र माघ २५ गते गरेर दुई चरणमा अभियान सुरु हुनेछ । पहिलो चरणमा वडा नं. १, २, ५, ८, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र ३० वडामा खोप सुरु हुनेछ । वडा नं. ३, ४, ६, ७, ९, १०, १३, १४, १५, १६, २६, २९, ३१ र ३२ मा माघ २५ गतेदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ ।
वडा क्लिनिक र स्वास्थ्य प्रवर्धन केन्द्रले विद्यालयहरुसँग समन्वय गरेर खोप केन्द्र निर्धारण गर्नेछन् । जनस्वास्थ्य अधिकृत तथा खोप कार्यक्रमका फोकल पर्सन मैयाँ सैजुका अनुसार विद्यालयमा खोप लिन छुटेका र विद्यालयभन्दा बाहिरका किशोरीहरुका लागि कार्यक्रमको अन्तिम दिन स्वास्थ्य प्रवर्धन केन्द्रबाट खोप दिइनेछ ।
पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा प्रत्येक दिन ४ जना महिलाहरूको मृत्यु भइरहेको छ । महिलाहरुलाई क्यान्सर मृत्यु हुनेमा पाठेघरको मुखको क्यान्सर पहिलो कारण हो । यो क्यान्सर ह्यूमन प्यापिलोमा भाइरसको संक्रमणबाट हुन्छ । यो भाइरसलाई एच.पि.भी. भाइरस भनिन्छ । एचपिभी भाइरसबाट संक्रमित व्यक्तिसँग यौन सम्पर्क हुँदा यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । यसबाट पटक पटक संक्रमण भएर २० वर्षसम्म संक्रमण रह्यो भने पाठेघरको मुखको क्यान्सर हुन सक्छ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App