काठमाडौँको पुननिर्माण र फोहोर व्यवस्थापनमा मेरी वासिङ्टन विश्वविद्यालयका विद्यार्थीहरुको चासो
काठमाडौँ । भिन्न देशका सहरी व्यवस्थापनका विषयमा जान्नका लागि भगिनी सम्बन्धले भूमिका खेल्ने काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बताउनुभएको छ । आज संयुक्त राज्य अमेरिकाको मेरी वासिङ्टन विश्वविद्यालयका विद्यार्थीहरुसँगको अन्तरक्रियात्मक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
‘काठमाडौँमा हेर्न र अवलोकन गर्न योग्य धेरै ठाउँ छन् । जीवन शैली र रहनसहन छन् । मानिसले बनाएका ऐतिकासिक कलाकृति छन् । मौलिक खानपान र रोचक जीवन शैलीका पक्ष छन् । यी सबै पक्षको अविस्मरणीय अनुभूति गर्न सक्नुहुनेछ ।’ उहाँले थप्दै भन्नुभयो, ‘भगिनी सम्बन्ध भएका नगरसँग नागरिक स्तरीय सम्बन्ध हाम्रो नतिजा हो ।’
विश्वविद्यालयका २ जना प्राध्यापक र १२ जना विद्यार्थी काठमाडौँको अवलोकन भ्रमणका लागि आएका छन् । यस क्रममा उनीहरुले नवनिर्वाचित जनप्रतिनिधिको कार्यकालका योजना र २०७२ सालको भूकम्पपछिको पुननिर्माणका विषयमा जिज्ञासा राखेका हुन् । टोलीमा मनोविज्ञान, इतिहास र अन्तरराष्ट्रिय मामिलाका विद्यार्थीहरु सहभागी छन् ।
अन्तरक्रियाका क्रममा विश्वविद्यालयका प्राध्यापक डा. सारा डेविसले काठमाडौँको अवलोकनबाट भिन्न सामाजिक परिवेशको सिकाइ भएको उल्लेख गर्नुभयो । फोहोर उत्पादनको अवस्था काठमाडौँ र अमेरिका दुवै ठाउँमा उस्तै लाग्यो । व्यवस्थापनका केही पक्ष फरक रहेछन् । प्राध्यापक डेविसले सहरी व्यवस्थापनका विषयसँगै फेडरिसवर्ग र काठमाडौँको भगिनी सम्बन्धबाट सिकाइमा लाभ भएको उल्लेख गर्नुभयो ।
त्यस क्रममा महानगरको विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले २०७२ सालको भूकम्पको अनुभव, क्षति र त्यसको पुननिर्माणका विषयमा प्रस्तुति गर्नुभएको थियो । त्यस्तै वातावरण तथा कृषि विभागकी प्रमुख सरिता राईले फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनमा महानगरले गरिरहेको कामका विषयमा प्रस्तुति गर्नुभएको थियो ।
महानगरको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख सुदर्शन भट्टराईका अनुसार विद्यार्थीहरु १ महिना अवलोकन भ्रमणमा यतै रहनेछन् । उनीहरु गएको महिना काठमाडौँ आएका हुन् ।
कार्यक्रममा महानगरका अधिकारीहरु र काठमाडौँ फेडरिसवर्ग सिस्टर सिटी कार्यक्रमका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।