वि.सं.: २०८२, मंसिर १६ मंगलबार
इ.स.: 2025 December 2,TUESDAY
वि.सं.: २०८२, मंसिर १६ मंगलबार
भोलि विहान साढे ८ बजे शान्तिबाटिकाबाट प्रभातफेरी, सहिद पार्क लैनचौरमा स्मृति सभा
काठमाडौँ । सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई प्राणदण्ड दिइएको स्थान विष्णुमती नदी किनारा शोभा भगवतीमा आज स्मृति सभा सम्पन्न भएको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सहिद सप्ताह आयोजक समितिले सभा आयोजना गरेको हो । सभामा स्मृति मन्तव्य, योगदानको चर्चासहित सहिदहरुको सालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।
त्यस क्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, सहिदहरुको योगदानको गाथा पुस्तान्तरण गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘स्वतन्त्र नागरिक भएको राष्ट्र निर्माण हुने सपना देखेर प्राणको आहुती दिएका सहिदहरुको योगदानबाट प्राप्त अधिकार जोगाउन असल नागरिक हुन जरुरी छ ।’ उहाँले विभिन्न काल खण्डमा भएका राजनीतिक आन्दोलनका सहिदहरुले दिनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।
नागरिक स्वतन्त्रताका लागि सहिदहरुले गर्नु भएको त्यागबाट प्राप्त उपलब्धीबाट नागरिकले के लाभ पाएका छन्? म र मजस्ता जनप्रतिनिधिले स्वमूल्याङ्कन गर्ने बेला आएको छ । स्मृति मन्तव्य राख्दै वडा १५ का अध्यक्ष एवं वित्त समितिका संयोजक ईश्वरमान डंगोलले भन्नुभयो, ‘अहिले सरीर त्याग गर्नु पर्ने अवस्था छैन । काम गर्दा नागरिकको हितलाई केन्द्रमा राखे मात्र पुग्छ ।’ त्यस क्रममा वडा नं. १६ का अध्यक्ष रोजिना श्रेष्ठले, सहिदहरुको त्याग र बलिदानीबाट प्राप्त उपलब्धीको संस्थागत संरक्षणको खाँचो देखाउनुभयो ।
राणाकालमा सर्वसाधारण जनताले नुन खान पाउँदैनथे । आफूले जे उब्जायो, त्यही खानु पथ्र्यो । शासकको पहुँचमा हुनेले मात्र नुन खान पाउँथे । यस्तो बन्धनबाट नागरिकलाई खुला हुने वातावरणका लागि सहिदहरुले प्राणदण्ड स्वीकार गर्नुभएको थियो । कार्यक्रममा नुन खान नपाउने अवस्थाबाट मौलिक अधिकार र मानव अधिकारको पूर्ण प्रयोग गर्ने अवस्था, कसले कसरी प्रदान ग¥यो? यस विषयमा नियमित चर्चा गर्नु पर्नेमा जोड दिइएको थियो ।
चन्द मनको दयालु तर आँटिलो हुनुहुन्थ्यो । नेपाल प्रजा परिषदको नाम उहाँले नै प्रस्ताव गर्नुभएको थियो । चन्दका राजनीतिक क्रियाकलापबाट गंगालाल श्रेष्ठ पनि प्रभावित हुनुहुन्थ्यो । प्राणदण्ड पाउने भएपछि गंगालालले पितालाई पत्र लेख्दै भन्नुभएको थियो, ‘हजुरका अरु पनि छोरा छन् । एउटा छोरालाई राष्ट्रको स्वाधीनताका लागि त्याग गरिदिनोस् ।’
हुकुमी शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रकालागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । त्यसबखत, एकअर्काले देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रकालागि गोली खान तयार भएका उहाँहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि कायल नभएपछि पछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।
बैतडीमा जन्मिनुभएका दशरथ चन्दले, भारतमा महात्मा गान्धीले सुरु गर्नुभएको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिनुभएको थियो । त्यस्तै रामेछापको भंगेरीमा जन्मिनुभएका गंगालाल श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा लाग्नुभएको थियो । इन्द्रचोकमा भएको नेपालको पहिलो राजनीतिक सभामा श्रेष्ठले स्वतन्त्रताका पक्षमा भाषण गर्नुभएको थियो ।
श्रेष्ठ र चन्दलाई ज्यानदण्ड दिइएको स्थानमा स्तम्भ, अर्धकदको शालिक र पूर्ण कदका शालिक राखिएका छन् । तत्कालीन काठमाडौं नगर पञ्चायतले २०३६ साल माघ १५ गते शिलान्यास गरेर २०३७ साल माघ १७ गते स्तम्भ अनावरण गरेको थियो । त्यही ठाउँमा चिँकमुगल बस्ने प्रचण्डलाल श्रेष्ठले २०५८ साल माघ १५ गते सप्ताह लगाएर प्राण प्रतिष्ठा गरी अर्धकदका सालिक स्थापना गराउनुभयो ।
महानगरपालिकाले २०७६ सालमा दुवै सहिदको पूर्ण कदका शालिक राखेको छ । नेपाल राष्ट्रको स्वाधीनता र नेपाली जनताको स्वतन्त्रताका लागि १ सय ४ वर्षको हुकुमी शासन र त्यसका शासकलाई चुनौती दिँदै उहाँहरुले स्वीकार गर्नुभएको मृत्युदण्डलाई चीरस्मरणमा राख्न र पुस्तालाई इतिहासको जानकारी दिइराख्न महानगरले सदाहत प्राप्त स्थानमा सालिक बनाएर संरक्षण गरेको हो ।
यस बर्ष माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गर्नुभएको स्थान, टेकु मचलीमा, १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरिएको थियो ।
सहिद दिवसको अन्तिम दिन भोलि बिहान ०८ बजे शान्ति बाटिकाबाट प्रभातफेरी हुनेछ । ९ बजे सहिद स्मारक लैनचौर स्मृति सभा हुनेछ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App