वि.सं.: २०८२, पुस ४ शुक्रबार
इ.स.: 2025 December 19, FRIDAY
वि.सं.: २०८२, पुस ४ शुक्रबार
अन द जव ट्रेनिङ्मा पठाउन सिभी राइटिङ् (व्यक्तिगत विवरण), व्यक्तित्व विकास र अन्तर्वार्ता सिप कार्यशाला
काठमाडौँ । सिप मेला २०८१ बाट अटोमोबाइल्स विधामा सिप सिकेका ५ जना प्रशिक्षार्थीहरुलाई थिगोले ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने भएको छ । यसका लागि थिगोले १० जना उम्मेदवार अन्तर्वार्ताका लागि छोटो सूचीमा राखेको थियो । उहाँहरुबाट ६ जना ओजेटीका लागि छनोट हुनुभएको हो । ट्रेनिङ्का लागि छनोट हुनुभएका प्रशिक्षार्थीले मासिक १८ हजार रुपैयाँ पारिश्रमिकसहित प्रशिक्षण प्राप्त गर्नुहुनेछ । यसका लागि आज काठमाडौँ महानगरपालिका, चाँगु नारायण फाउन्डेसन र थिगोका बिच सम्झौता भएको छ । सम्झौतामा महानगरपालिकाको सामाजिक विकास विकासका प्रमुख समीक्षा निरौला, फाउन्डेसनका अध्यक्ष मनिराज खत्री र थिगोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ श्रेष्ठले हस्ताक्षर गर्नुभयो । यो सम्झौता आगामी ६ महिनाका लागि हो । प्रशिक्षणमा जानेहरुले बैशाख १६ गतेदेखि काम थालनी गर्नुहुनेछ ।
मेलाबाट अटोमोबाइल्स विधामा स्नातक भएका १ सय जना प्रशिक्षार्थीहरूमध्ये २० जना प्रशिक्षार्थीहरूले आफ्नै प्रयासबाट रोजगार पाएका छन् । ३ जना स्वरोजगार भएका छन् । अन–दि–जब तालिममा रुचि राख्ने ५१ जना हुनुहुन्थ्यो । उहाँहरुलाई व्यक्तिगत विवरण (सिभी) लेखन कार्यशाला आयोजना गरेर व्यक्तिगत विवरण तयार गर्न, व्यक्तित्व विकास गर्न र अन्तर्वार्तामा प्रस्तुत हुने शैलीका विषयमा प्रशिक्षण प्रदान गरियो । यो कार्यशालामा सहभागी भएका ३० जना प्रशिक्षार्थीहरूका व्यक्तिगत विवरण वि.वाइ.डी., सिजी मोटर्स, हुन्डाइ (लक्ष्मी ग्रुप), भि.जी, मोटर्स, सिप्रदी (टाटा मोटर्स), दीपल अटोमोबाइल्स, सयाकार ट्रेडिङ् इन्टरप्राइजेज र थी गो (दिगो) सहित २८ वटा कम्पनीमा पठाइएको छ । प्रशिक्षार्थीको व्यक्तिगत विवरण पठाइएका कम्पनीहरु यसप्रकारको प्रशिक्षणका लागि तयार छन् ।
अन द जब ट्रेनिङ् सञ्चालनमा काम गर्ने साझेदारका रुपमा महानगरपालिकाले चाँगुनारायण फाउन्डेसनसँग सम्झौता गरेको छ । प्रशिक्षार्थी छनोट गर्ने र आधारभूत तालिम प्रदान काम दुवै पक्षको सहभागितामा हुनेछ । महानगरपालिकाले तालिमको प्रभावकारिताका लागि निरीक्षण गर्ने, आपसी संवाद र मूल्याङ्कन गर्नेछ । फाउन्डेसनले महानगरपालिकासँगको सहकार्यमा प्रशिक्षार्थी छनोट गर्ने, छानिएका प्रशिक्षार्थीहरुलाई मासिक ९ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउनेछ । बाँकी पारिश्रमिक थिगोले उपलब्ध गराउनेछ । फाउन्डेसनले तालिमको प्रतिवेदन तयार पारेर महानगरपालिकालाई उपलब्ध गराउनेछ ।
यसअघि सिजी मोटर्ससँग सम्झौता गरेर १० जनालाई पठाइएको थियो । उहाँहरुमध्ये वैदेशि रोजगारीको अवसर, पारिवारिकसहित विभिन्न कारण देखाएर ५ जना प्रशिक्षार्थी प्रशिक्षणमा जानुभएन । अहिले सिजीमा ५ जनाले अन–द–जव–ट्रेनिङ् गरिरहनुभएको छ । उहाँहरुले २०८१ चैत २४ गतेदेखि प्रशिक्षण लिन सुरु गर्नुभएको हो । सिजीले २० जनालाई अन्तर्वार्तामा बोलाइएको थियो । अन्तर्वार्ता दिएकामध्ये १० जनालाई ट्रेनिङ्का लागि बोलाइएको थियो ।
तालिममा जानुअघि प्रशिक्षार्थीहरुले प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ । जसअनुसार उहाँहरु तोकिएको समयमा नियमित हाजिर हुनुपर्नेछ । उद्योगको नियम र आचरण पालना गर्नुपर्नेछ । सुपरभाइजरको निर्देशन पालना गर्नुपर्नेछ । आपतकालीन अवस्थाबाहेक अन्य समयमा विदामा बस्न वा गयल हुन पाइँदैन । विचमा तालिम छोड्न पाइँदैन । यदि स्वेच्छाले तालिम छाडेमा तालिमको खर्च व्यहारेर मात्र छोड्न पाइनेछ ।
प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुअघि उहाँहरुले, ओजेटीमा जाँदा एउटै मात्र काम गर्न लगाइन्छ । धेरै कुरा सिक्न पाइँदैन भन्ने गुनासो सुनेका छौँ । यसो हुँदा त हाम्रो क्षमता विकास हुन पाउँदैन । वास्तविकता के हो? भन्ने प्रश्न गर्नुभएको थियो । प्रश्नको जवाफमा थिगोका प्रतिनिधिले, उद्योगका व्यवहारिक अभ्यास सबै सिक्न, प्रयोग गर्न र अनुभव गर्ने अवसर प्रदान गरिने बताउनुभयो । यसको अर्थ ६ महिनाभित्रै विज्ञ भइन्छ भन्ने चाहिँ होइन । उहाँहरुले स्पष्ट पार्नुभयो ।
फाउन्डेसनसँगको सहकार्यको समीक्षा
सामाजिक विकास विभागमा महानगरपालिकाले चाँगुनारायण फाउन्डेसनसँग थालेको सहकार्यका विषयमा समीक्षा भएको छ । सिपमेला २०८१ बाट प्रशिक्षण लिएका प्रशिक्षार्थीहरुलाई अन द जब ट्रेनिङ् प्रदान गर्न कम्पनी तथा उद्योगहरुसँग समन्वय गर्ने, प्रशिक्षार्थी छनोट गर्ने, प्रशिक्षार्थीहरुलाई मासिक ९ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने काम फाउन्डेसनले गरिरहेको छ । सम्झौता भएपछि यस अघि सिजी मोटर्स र आज थिगोसँग सम्झौता गराउन फाउन्डेसनले काम गरेको हो ।
समीक्षामा मेलाबाट छोटो अवधिका लागि तालिम लिएकाहरुलाई नियमित गराउने योजना कस्ता हुन सक्लान्? क्षमता बढाउने तालिमको निरन्तरता सम्भव कसरी बनाउने? अन द जब ट्रेनिङ्मा गएकाहरुलाई रोजगारी क्षेत्रमा आवद्ध गराउन तथा स्वरोजगार बनाउने योजना
कार्यान्वयन लगायत विषयमा कुराकानी भएको थियो ।
समीक्षामा सामाजिक विकास विभाग, स्वीस एजेन्सी फर डिभलपमेन्ट एण्ड कोअपरेसन र फाउन्डेसनका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।
सिप मेला २०८१
महानगरपालिकाले गएको वर्ष विश्व श्रमिक दिवस २०८१ (वैशाख १९) को अवसर पारेर टुँडिखेलमा ‘सिप मेला २०८१’ आयोजना गरेको थियो । ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने लक्ष्य राखिएको मेलामा तालिम लिनका लागि ६८ हजार ८६६ जनाको आवेदन दिनुभएको थियो । १० वटा विधाका ३० वटा पेशासँग सम्बन्धित तालिम कक्षा सञ्चालन भएका थिए । १५ दिन र ३० दिन अवधिका तालिमबाट २ हजार ७१५ जना प्रशिक्षार्थीले तालिम लिनुभएको छ ।
तालिम सञ्चालनकै अवधिका निजी, उद्योग तथा वाणिज्य, शैक्षिक र सामाजिक क्षेत्र तथा दातृ निकायका प्रतिनिधिहरुसँग सिप मेलाबाट उत्पादन भएका सिपयुक्त जनशक्तिलाई रोजगारी उपलब्ध गराउने संयन्त्र निर्माणका लागि ‘नीति संवाद’, ‘अन्तरक्रिया’ र ‘रोजगार मेला’ आयोजना गरिएको थियो । २ दिन चलेको रोजगार मेलामा ७० भन्दा धेरै कम्पनी तथा संघसंस्थाका प्रतिनिधि आएर सिपयुक्त जनशक्तिसँग भेटेर कुरा गर्नुभएको थियो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App