Logo

उर्जामैत्री भवन निर्माण प्रविधिका विषयमा छलफल 

उर्जामैत्री भवन निर्माण प्रविधिका विषयमा छलफल 

काठमाडौँ । प्रदुषण र कार्वन उत्सर्जनमा सहरी क्षेत्रबाट परेको असर घटाउन उर्जामैत्री भवन निर्माण गर्नुपर्ने विल्डिङ् इनर्जी एफीसियन्सी इन नेपाल (बीन) का अधिकारीहरुले सुझाव छ । सहरीकरणको विश्वव्यापी अभ्यास, बदलिँदो जीवनशैली र सहज जीवन यापनका लागि प्रयोग गरिने उर्जाको सम्बन्धमा गरिएका अध्ययन प्रस्तुत गर्दै उहाँहरुले उर्जामैत्री भवन निर्माणमा जोड दिनुभएको हो । उहाँहरुले आज काठमाडौँ महानगरपालिकाका उपप्रमुखसमक्ष यस सम्बन्धी प्रस्तुति गर्नुभएको थियो । 

‘मानब बसोबासका लागि उपयुक्त सहर बनाउन प्रयास जारी छन् । यसमा अध्ययनले देखाएको अवस्था हेरेर नविनतम सोच र प्रविधिलाई जोड्नु पर्छ ।’ प्रस्तुतिपछि उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘यसै क्षेत्रमा अध्ययन गरिरहेका व्यक्ति तथा संस्थाहरुबाट हामीलाई काम लाग्ने तथ्यहरु प्राप्त हुनेछन् ।’

काठमाडौँमा निर्माण हुने भवनहरुमा आवश्यक पर्ने उर्जाको न्यूनतम मात्रा के हुन सक्छ? प्रस्तुतिपछि इञ्जिनियर आर्किटेक्टहरुले सोधेको प्रश्नको उत्तरमा मिनर्जी नेपालका टीम लिडर सुयेश प्रजापती र ग्रीनटेक नलेज सोलुसन भारतका टीम लिडर सास्वती चेतियाले काठमाडौँको सन्दर्भमा अहिलेसम्म यस प्रकारको अध्ययन नभएको बताउनुभयो । यसमा आधारभूत तहको अध्ययन थालनी गर्ने तयारी छ । उहाँहरुको भनाइ थियो । 

सहरीकरण बढ्दो क्रममा छ । यसकारण धेरै भवनहरु निर्माण भइरहेको छन् । भवन बनाउने निर्माण सामग्री उत्पादन गर्दा कार्वन उत्सर्जन भइरहेको छ । उदाहरणका लागि काठमाडौँ उपत्यकामा भएका इटा उद्योग चलाउन बालिने कोइला अमेरिका लगायत देशहरुबाट ल्याउनु पर्ने अवस्था छ । सिमेन्टलगायतका निर्माण सामग्री उत्पादन बढेको छ । यस्ता निर्माण सामग्रीबाट बनेका भवनबाट कार्बन फुटप्रिन्ट उत्पादन हुन्छ । अहिलेसम्म भवन निर्माण गर्दा यो कोणबाट हेरिएको छैन । भवनहरुमा ६० प्रतिशत उर्जा तताउने र चिस्याउने प्रयोजनमा खर्च भइरहेको छ । प्रस्तुतिकरणमा अध्ययनले देखाएको अवस्था औँल्याउँदै यसबेला कस्ता निर्माण सामग्री उत्पादन गर्दा कम प्रदुषण हुन्छ भन्ने विषयमा सोच्नु पर्ने देखाइएको थियो । 

जीवन सहजताका लागि घरमा वत्ती बालिन्छ । तातो र चिसो बनाउनका लागि विद्युतीय उपकरणहरुको प्रयोग हुन्छ । टेलिभिजन, मोवाइल, ल्यापटप, कुलर, फ्रिज, पङ्खाजस्ता सामान तथा उपकरण चलाइन्छ । यसबाट प्रदुषण उत्पन्न हुन्छ । उर्जामैत्री भवनमा यस्ता बस्तु तथा उपकरण जोड्दा ३ वटा मूख्य विषय हेरिन्छ । पहिलो हो, थोरै उर्जाले काम गर्ने विधि । यसमा प्राकृतिक उर्जाको प्रयोगलाई जोड दिइन्छ । दोस्रो हो, उर्जाको प्रयोग गर्नै परे थोरै प्रयोगबाट धेरै लाभ हुन सक्ने सामग्री छान्नु पर्छ । तेस्रो हो, नविकरणीय उर्जाको प्रयोग बढाउनुपर्छ । 

मौसम प्रतिकुल भएपछि त्यसलाई अनुकुल बनाउन कृतिम उर्जाको प्रयोग गरिन्छ । यो मौसम परिवर्तनको एउटा कारण हो । त्यसैले विश्वव्यापी मौसम परिवर्तन घटाउनमा उर्जामैत्री भवन निर्माणले योगदान गर्छ, अधिकारीहरुको भनाइ छ । 

नेपालले सन् २०४५ सम्ममा शून्य हरित गृह ग्याँस उत्सर्जनका लागि प्रतिवद्धता जनाएको छ । २०३० सम्ममा सिमेन्ट तथा इटा उद्योगमा कम प्रदुषण उत्सर्जन हुने प्रविधिको प्रयोग गरेर कोइलाको प्रयोग घटाउने लक्ष्य राखिएको छ । यसै बर्षसम्ममा ५ वटा पर्यटकीय गन्तव्यहरुलाई कार्वन तटस्थ बनाउने लक्ष्य छ । सन् २०२५ सम्ममा सहरबाट न्यून कार्वन उत्सर्जन तथा बसोबासका लागि उत्थानशील मौसम व्यवस्थापनका लागि वातावरणीय व्यवस्थापन मार्गदर्शन निर्माण गर्ने लक्ष्य छ ।   

उर्जामैत्री भवन निर्माणका लागि क्षमता विकास गर्नु, बजारको प्रणाली व्यवस्थापन गर्नु, भवन निर्माण प्रणालीको विकास गर्न नीति निर्माण गर्नु र यस प्रकारका भवन बनाउनेहरुलाई सहुलियत रकमको व्यवस्थापन गर्नु अहिलेको आवश्यकता हो । 

परियोजनाका प्रबन्धक डेनियल नेयरका अनुसार उर्जामैत्री भवन निर्माण दिगो विकास लक्ष्यका जलबायु कार्य, किफायती स्वच्छ उर्जा, दिगो सहर र समुदाय, उत्तरदायी उत्पादन र खपत, उद्योग नविनतम प्रविधि र भौतिक पूर्वाधारलगायत शीर्षकससँग सम्बन्धित छ । 

 

  

 

 

 

  • प्रकाशित मिति: मंगलबार १० माघ २०७९ १९:२५