वि.सं.: २०८३, असर १६ मंगलबार
इ.स.: 2026 June 30,TUESDAY
वि.सं.: २०८३, असर १६ मंगलबार
वडाको विकास तथा व्यवस्थापन, ऐतिहासिकता, सांस्कृतिक तथा पुरातात्विक पहिचान, सामाजिक विकासका विवरण नागरिकहरुलाई वितरण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ८ ले गएको ४ वर्षमा सम्पन्न गरिएका वडाको विकास तथा व्यवस्थापन, ऐतिहासिकता, सांस्कृतिक तथा पुरातात्विक पहिचान, सामाजिक विकासका विवरण नागरिकहरुलाई उपलब्ध गराएको छ । चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई तथा आगामी वर्षको योजना तर्जुमाका लागि आयोजना गरिएको नागरिक सुनुवाई कार्यक्रममा वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले यसका बारेमा जानकारी प्रदान गर्नुभएको छ ।
‘हामीले नागरिकसँग गरेका बाचा र नागरिकले समय समयमा राख्नु भएका अपेक्षालाई पूरा गराउने दायित्वलाई निर्वाह गर्दै हामीले भौतिक पूर्वाधारसँगै, मूर्त सम्पदाको संरक्षण सम्बर्धन, अमूर्त सम्पदाको जगेर्ना, आर्थिक र सामाजिक विकास तथा सुरक्षामा महसुस हुने काम गरेका छौँ ।’ संगतले नागरिक सामु दावी पेश गर्नुभयो । नागरिकहरुले ताली बजाएर उहाँको दावीलाई अनुमोदन गर्नुभएको थियो । यससँगै नागरिकले अब पूरा गर्नु पर्ने दायित्वका विषयमा पनि स्मरण गराउनुभएको थियो ।
सम्पदाको पुनर्जागरण र सौन्दर्य प्रवर्धन
जयबागेश्वरी, पशुपति, गुह्येश्वरी लगायत परिचित ठाउँ यही वडामा पर्छन् । नागरिक सामु सार्वजनिक गरिएको विवरणमा यी प्राचीन क्षेत्रसँग सम्बन्धित मठ मन्दिर, फल्चा र डवलीहरूको पुनरुत्थान, हराएका, नासिएका सम्पदाहरुको उत्खनन सम्बन्धी काम उल्लेख छन् । सयौँ वर्षदेखि हराएको ब्रह्मा मन्दिरको पुनरुत्थान, ५० औँ वर्षदेखि पुरिएका ऐतिहासिक इनारहरूको उत्खननले नागरिकहरुमा उत्साह थपेको छ ।
सेतो ढोकादेखि जयबागेश्वरीसम्मका घरहरूको फसाद (अग्रभाग) परिवर्तन गरी एकरुपता ल्याउने कार्य भइरहेको छ । जयबागेश्वरी, ताम्रेश्वर, मृत्युञ्जय महादेव र गायत्री मार्ग क्षेत्रमा परम्परागत इँटा र ढुङ्गा छाप्ने कामले यस क्षेत्रलाई पुरानै लयमा फर्काएको छ । बछलेश्वरी डवली, ग्वलः दे फल्चा, नरसिंह फचा र रावण लङ्का फल्चा जस्ता एक दर्जनभन्दा बढी ऐतिहासिक संरचनाहरूको पुनःनिर्माणले वडाको धार्मिक र पर्यटकीय महत्वलाई थप उचाइ दिएको छ ।
आधुनिक पूर्वाधार र प्रविधिमैत्री सुरक्षा
सम्पदा क्षेत्र भए पनि वडाबासीलाई आधुनिक सुविधा उपलब्ध गराउन अनेक प्रयास गरिएका छन् । सुरक्षाका लागि वडाभरि २७० वटा सीसीटिभी क्यामरा जडान गरिएका छन् । अव्यवस्थित तारको व्यवस्थापन गरिएको छ । सडक सुरक्षाका लागि कन्केभ मिरर र २६ स्थानमा स्पिड ब्रेकर राखिएका छन् ।
चक्रपथको गौशालादेखि मित्रपार्कसम्म आधुनिक सडक बत्ती जडान गरिएको छ । यस्तै, गुह्येश्वरी क्षेत्रमा मेलम्चीको खानेपानी पाइप विस्तार र ढल व्यवस्थापनको कामले स्थानीयको दैनिक जीवनमा सहजता ल्याएको छ । तिलगङ्गा र पञ्चकन्या क्षेत्रमा भएका पार्क तथा खुला व्यायामशाला (ओपन जिम) निर्माणले स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गरेको छ ।
सामाजिक सुरक्षा र सिप विकास
वडा नं. ८ ले भौतिक पूर्वाधारसँगै मानवीय विकासमा पनि उत्तिकै लगानी गरेको छ । ज्येष्ठ नागरिकहरूका लागि घरदैलोमै पुगेर स्वास्थ्य उपचार सेवा प्रदान गर्ने र टोलटोलमा मासिक स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने कार्यले नागरिकलाईअभिभावकत्व प्रदान गरेको छ ।
युवा स्वरोजगारका लागि वारिष्टा, ड्राइभिङ, डिजिटल मार्केटिङ, मन्टेश्वरी र ब्युटीसियन व्यावसायिक तालिमहरू प्रदान गरिएका छन् । महिला सशक्तीकरण र न्यायिक सचेतनाका कार्यक्रममार्फत समुदायलाई जागरुक बनाइएको छ ।
खेलकुद र सांस्कृतिक वैभव
वडाले अमूर्त सम्पदालाई जीवित राख्न विशेष पहल गरेको छ । समुदायमा परम्परागत धिमे बाजा, बाँसुरी र धा बाजाको प्रशिक्षण मात्र होइन, सांस्कृतिक पोशाक र बाजागाजा वितरण गरेको छ । प्रसिद्ध ‘त्रिशुल जात्रा’लाई युनेस्कोको सांस्कृतिक सम्पदा सूचीमा दर्ता गराउने प्रक्रिया अगाडि बढाएको छ । यो विषयलाई वडाबासीले गौरवका रुपमा लिनुभएको छ ।
खेलकुद तर्फ ‘वडा अध्यक्ष कप’ कराँते, फुटसल, तेक्वान्दो लगायत प्रतियोगिताका माध्यमबाट वडाबासीलाई एक ठाउँमा ल्याउने काम भएको छ । समुदाय स्तरमा खेल विकासका लागि सामग्री वितरण गरिएको छ ।
उपलब्धि र पहिचान
वडाको यो नतिजालाई महानगरपालिकाबाट पनि उच्च मूल्याङ्कन भएको छ । महानगर दिवसको अवसरमा वडा नं. ८ ले ‘उत्कृष्ट वडा’ र वडाध्यक्ष आशामान संगतले ‘उत्कृष्ट वडाध्यक्ष’को पुरस्कार समेत प्राप्त गर्नुभएको छ ।
पशुपति क्षेत्रको काखमा रहेको वडा नं. ८ ले विकासको मोडल कस्तो हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । सम्पदाको मौलिकता नमारी आधुनिक सुविधालाई आत्मसात गर्नु नै यस वडाको सफलताको कडी बनेको छ । वडा कार्यालयको यो सक्रियता र चार वर्षको उपलब्धिले ‘परम्परा र प्रविधिको सङ्गम’का रूपमा वडालाई स्थापित गरेको छ ।
यो विवरण सार्वजनिक गरिएको सार्वजनिक सुनुवाईमा सहरी सुरक्षा, सुविधा वितरण, स्वबासीको पहिचान, सम्पदा क्षेत्रका नियमित क्रियाकलापमा स्थानीयको परम्परादेखि चलिआएको सहभागिताको सुनिश्चितता, ढल निकास, खानेपानी वितरणका सवाल उठेका छन् । वडाध्यक्ष संगतका अनुसार स्थानीयले उठाउनुभएका यी सवालहरुलाई आर्थिक वर्ष २०८३/०८४ मा पूरा गर्ने प्रयत्न गरिनेछ ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App