वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
स्वास्थ्य प्रवर्धन केन्द्रको सेवा र फोहोर व्यवस्थापनको उपप्रमुख डंगोलबाट प्रशंसा
काठमाडौँ । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह, सञ्चालन र व्यवस्थापनका लागि आफैँभित्र पनि अनुकरणीय सिकाइ भएको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । आज वडा १९ मा रहेको स्वास्थ्य प्रवर्धन केन्द्रको निरीक्षण पछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । ‘काठमाडौँ सहरले विपन्न र मध्यम वर्गलाई पनि आश्रय दिएको छ । उनीहरु महङ्गो स्वास्थ्य सेवा लिन सक्दैनन् । यदि लिए भने पनि त्यसपछिको आर्थिक अवस्था खराव हुन सक्छ । त्यसैले महानगरपालिकाले सबैको पहुँच हुने स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना र सञ्चालनलाई प्राथमिकता दिएको छ ।’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘केन्द्रबाट प्रवाह भएको स्वास्थ्य सेवा, सेवाप्रति विरामीको आकर्षण र केन्द्रको स्वास्थ्यजन्य फोहोर व्यवस्थापनबाट म उत्साहित भएकी छु । राम्रा कामका लागि हामी आफैँभित्र उदाहरण छन् । ती कामको प्रवर्धन गर्न सके मात्र पनि सुधार महसुस हुनेछ ।’
२०५१ मा स्थापना भएको सहरी स्वास्थ्य क्लिनिकलाई स्तरोन्नति गरेर प्रवर्धन केन्द्र बनाइएको हो । स्तरोन्नतिका लागि फ्रान्सको मेड्सा डु मोन्डसँग सहकार्य भएको हो । केन्द्रका विषयमा जानकारी लिइसकेपछि उपप्रमुख डंगोलले भन्नुभयो, केन्द्रलाई दिगो सञ्चालन गर्न अहिलेसम्मका उपलब्धीलाई काठमाडौँ महानगरपालिकाले स्वामित्व ग्रहण गरेर थप काम गर्नेछ ।
प्रवर्धन केन्द्रबाट स्थानीयबासीलाई स्वास्थ्य उपचारका लागि सहज भएको छ । निरीक्षणका क्रममा वडा १९ का अध्यक्ष राजेश श्रेष्ठले, केन्द्र सञ्चालन वडाले देखाउन मिल्ने परियोजना भएको उल्लेख गर्नुभयो ।
फोहोर व्यवस्थापनका आर्थिक, सामाजिक र जनस्वास्थ्यका अन्तर पक्षसँग समन्वय गरेर परिवर्तनको प्रयास थालिएको छ । वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार हानीकारक फोहोर व्यवस्थापनमा प्रवर्धन केन्द्रको सिकाइ विस्तार गरिनेछ । श्रेष्ठका धारणामा साझा मत राख्दै जनस्वास्थ्य महाशाखाकी प्रमुख सजिना महर्जनले, यही प्रवर्धन केन्द्रलाई मापदण्ड मानेर अन्य वडाका स्वास्थ्य क्लिनिकलाई रुपान्तरण गर्न सकिन्छ ।
अनौपचारिक सफाईकर्मी र सहरी समुदायको स्वास्थ्यमा पहुँच बढाउन महानगरपालिका र मेड्सा डु मोन्डको सहकार्यमा केन्द्र सञ्चालन भइरहेको छ । यसका लागि २०७८ जेठ २६ गते सम्झौता भएको थियो । एक अर्काको आचारसंहिता, पारदर्शिता, जवाफदेहिता, गोपनीयता, सञ्चार, सहभागितामुलक निर्णयमा समानता, मानवीय कार्य, स्वतन्त्रता र तटस्थताका सिद्धान्तको सम्मान र पालना गर्दै त्यसपछि प्रवर्धन केन्द्र सञ्चालनमा सहकार्य भइरहेको छ ।
मेडिकल अधिकृत डा. अस्मिता बरालका अनुसार केन्द्रबाट स्वास्थ्य परामर्श, ईसीजी, अल्ट्रा साउण्ड, निबुलाइजेसन (औषधिसहित बाफ लिने), परिवार नियोजनलगायत सेवा निःशुल्क दिने गरिएको छ । फोहोरमा काम गर्नेहरुका लागि पेशाका लागि स्वास्थ्य सजगता परामर्श, टीटी लगायतका खोप सेवा दिने गरिएको छ ।
साविकको क्लिनिकको भौतिक संरचना सुधार, प्रयोगशाला स्थापना, जनशक्ति थप, चिकित्सकीय सामाग्री तथा उपकरण थप गरेर क्लिनिकलाई प्रवर्धन केन्द्रमा रुपान्तरण गरिएको हो । रुपान्तरित केन्द्रमा मेड्सा डु मोन्डको नेपाल साझेदार ग्रीन पाथ नेपालले गएको कार्तिक महिनादेखि चिकित्साजन्य फोहोर व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ । बर्गीकरणसहितका बाल्टिन, निडल कटर (खोपका सुई), ४० लिटर क्षमताको अटोक्लेभ मेसिन, केमिकल इन्डिकेटर, प्रकृति अनुसारको फोहोर संकलन र भण्डारणका लागि छुट्टाटुट्टै कक्ष (प्लाष्टिक, प्लाष्टिकका बोतल, कागज, नफुटेका शिशा, धातु, सिरिञ्ज, पञ्जा, गज कटनलाई छुट्टाछुट्टै जम्मा गर्ने ठाउँ) स्थापना गरिएको हो । ग्रीन पाथका व्यापार प्रवर्धन अधिकृत उरुक्षा डंगोलका अनुसार केन्द्रबाट दैनिक १ हजार ५ सय ग्राम फोहोर उत्पादन हुन्छ । यसको करिब २५ प्रतिशत चिकित्साजन्य फोहोर (जोखिमपूर्ण) फोहोर हुन्छ । उत्पादित फोहोरमध्ये जोखिमपूर्ण फोहोरलाई अटोक्लेभमा राखेर निश्चित तापक्रम तथा समयमा सामान्य फोहोरमा रुपान्तरण गरिन्छ । यसरी जम्मा भएको सामान्य फोहोरलाई पुन चक्रमा पठाउने गरिन्छ ।
मेड्सा डु मोन्डले महानगरका अन्य वडा र नुवाकोटको ल्याण्डफिल साइट क्षेत्रमा रहेको स्वास्थ्य चौकीबाट समेत स्वास्थ्य सेवा दिने तथा जनस्वास्थ्य समस्या तथा समाधानका उपाय बारे अध्ययन गरिरहेको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App