Logo

वडा नं. १० को वित्तिय प्रगति ९५ प्रतिशत : आज वार्षिक समीक्षा र नागरिक सुनुवाई सम्पन्न 

वडा नं. १० को वित्तिय प्रगति ९५ प्रतिशत : आज वार्षिक समीक्षा र नागरिक सुनुवाई सम्पन्न 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १० ले आर्थिक बर्ष २०७९/०८० मा वडागत पूर्वाधार विकासका कार्यक्रमा ९ करोड ३५ लाख ५० हजार ३५६ रुपैयाँ ७० पैसा खर्च गरेको छ । सामाजिक क्षेत्रका कार्यक्रममा २१ लाख ८४ हजार ४७५ रुपैयाँ खर्च गरेको छ । वडामा ३ करोड २० लाख रुपैयाँको केन्द्रीय योजना कार्यान्वयनमा आएको छ । महानगरका ठूला वडामा पर्ने यस वडाले पूर्वाधार निर्माणतर्फ वडाको बजेटबाट ७८ वटा र सामाजिक क्षेत्रतर्फ १६ वटा गरी ९४ वटा कार्यक्रम सम्पन्न गरेको छ । आज वडामा आयोजना गरिएको समीक्षा तथा नागरिक सुनुवाई कार्यक्रममा वितेको आर्थिक बर्षको समीक्षा गर्दै विवरण सार्वजनिक गरिएको हो । कार्यक्रममा आर्थिक बर्षका योजनामा स्थानीयका आवश्यकता र मागका विषयमा छलफल तथा माग संकलन गरिएको थियो । 

कार्यक्रममा वडाबासी, टोल विकास संस्था, उपभोक्ता समिति, क्लव, सामाजिक संघ संस्था, छिमेकी वडाका अध्यक्ष, महानगरका विभागीय प्रमुखहरु, महानगर प्रहरी बलका प्रमुख, नेपाल प्रहरीका प्रतिनिधिलाई बोलाइएको थियो । आमन्त्रितमध्ये वडा नंं ९ का अध्यक्ष रामजी भण्डारी, ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा ३१ का सदस्य अशोक के. सी., महानगरको प्रशासन विभागका प्रमुख दिपक अधिकारी, सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेल सहभागी हुनुभएको थियो ।   

यस बर्ष वडाले विभिन्न शीर्षकमा २० करोड ६६ लाख १७ हजार ४३८ हजार रुपैयाँ राजस्व संकलन भयो । 

कार्यक्रममा बोल्दै वडाध्यक्ष रामकुमार के. सी. ले, नागरिकको सक्रिय सहभागिताबाट यो उपलब्धी हासिल भएको उल्लेख गर्दै सहभागिता र सक्रियताको निरन्तर अपेक्षा गर्नुभयो । ‘धेरै काम भएका छन् । तर परिवर्तनशील विकासका काम चलिरहन्छन् । अद्यावधिक गरिरहनु पर्छ । यसमा स्थानीयका माग सुनेर वडाले कार्यक्रम बनाउँछ । ती कार्यक्रम कार्यान्वयनका लागि स्थानीय सक्रिय भएर लाग्नु पर्छ । यति गरे मात्र विकासको दिगो उपयोग हुन सक्छ ।’ वडाध्यक्ष के. सी. को भनाइ थियो । 

आफू सामाजिक विकास समितिको संयोजक भएकोले सिपमूलक र क्षमता विकास तालिमलाई आय वृद्धिमा जोड्न ध्यान दिने काममा प्रयास गर्ने के. सी. ले भनाइ राख्नुभयो । 

कार्यक्रममा वडा ९ का अध्यक्ष भण्डारीले, आफू पशुपंक्षी समितिको संयोजक भएको र सुनुवाईमा छाडा चौपाया, घरपालुवा कुकुर लगायत विषयमा गुनासा र कार्यक्रमको अपेक्षा आएको उल्लेख गर्दै पशुको लगत संकलन गर्ने कार्य अगाडि बढाउन लागिएको बताउनुभयो । पशु कल्याणका लागि सबैभन्दा पहिले अवस्था र संख्या थाहा पाउनु पर्ने भएकोले लगत संकलन थालिएको उहाँको भनाइ थियो ।

वडा सदस्य नरोज अर्यालका अनुसार, पूर्वाधारतर्फ ढल निकास तथा मर्मत, सडक कालोपत्रे गर्ने, ढुङ्गा, इटा तथा ब्लक छाप्ने, सीसीटिभी क्यामरा जडान गर्ने, सडक बत्ती बाल्ने जस्ता पूर्वाधारका काम भएका थिए । 

सामाजिक क्षेत्रको कामका विषयमा जानकारी गराउँदै वडा सदस्य सतिश तण्डुकारले, सिपलाई प्रविधि र आयसँग जोड्ने खालका कार्यक्रमको माग रहेको उल्लेख गर्नुभयो । 

सेवा प्रदायक र लाभग्राही सँगै बसेर कार्यान्वयन भएका योजनको लाभ लागत विश्लेषण गर्नुले पारदर्शिता र सुशासनलाई टेवा दिने बताउँदै कार्यक्रममा प्रशासन विभागका प्रमुख अधिकारीले, कार्यक्रम निरन्तर चलाउन केन्द्रबाट आवश्यक पर्ने सहयोग प्रदान गरिने बताउनुभयो । सामाजिक विकास विभागका प्रमुख पोखरेलले, नियमितसँगै यस बर्ष सामाजिक क्षेत्रको विशेष कार्यक्रमका लागि १० करोड रुपैयाँ विनियोजन भएको उल्लेख गर्नुभयो ।  

नागरिक सुनुवाईमा सहभागीहरुले, नाङ्गो तार व्यवस्थापन, सार्वजनिक गरिएको ठाउँलाई स्थानीय जोडिन सक्ने स्थलका रुपमा विकास, पार्किङ्ग समस्या समाधानका लागि प्रविधिको विकास, पार्कहरुलाई सार्वजनिक उपयोगमा ल्याउने तर निश्चित सर्त राखेर छाडा उपयोग हुनबाट बचाउने कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । खानेपानी वितरण प्रणाली सन्तुलित बनाउनु पर्ने, भूमिगत पानीमा आइरन धेरै भएकोले यसको शुद्धिकरण प्रणालीमा सहयोग गर्नु पर्ने, निर्देशित जग्गा विकास कार्यक्रम (जीएलडी) मा चिन्ह लगाइसकेका ठाउँमा सडक विस्तार गर्नु पर्ने, बर्खे पानीले डुवान हुने ठाउँको पूर्वाधार सुधार गर्नु पर्ने, सामुदायिक कुकुरको व्यवस्थापन गर्नु पर्ने, स्थानीयले उत्पादन गरेका तरकारी बेच्न क्षेत्रगत मार्टको विकास गर्नु पर्ने सुनुवाई कार्यक्रममा नागरिकले अपेक्षा गरेका कार्यक्रम हुन् । 

विकास व्यक्तिका लागि हो । व्यक्ति नैतिकवान भएन भने विकासको अर्थ रहँदैन । यसकारण विकासको दिगो उपयोगका लागि विद्यालय तहमा नैतिक शिक्षा अध्यापन गराउन सुरु गरौँ । विकासका माग र कार्यान्वयन पछिको प्रतिफलको विश्लेषण गर्दै एक सहभागीले इमान्दार र सकारात्मक सोच विकासका कार्यक्रमको खाँचो देखाउनु भयो । स्वस्थ्य जीवनका लागि योग, ध्यान जस्ता क्रियाकलापको विकास, महानगरका कार्यक्रममा सघाउ पुृ¥याउन तथा स्थानीय समस्या समाधानका लागि टोलबासीकातर्फबाट पहल गर्न टोल स्तरीय स्वयम्सेवकका खटाएर काम गर्नुपर्ने कार्यक्रममा आएका सुझाव हुन् । 

कार्यक्रममा व्यापारिक तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरुले सार्वजनिक शौचालयको दिगो व्यवस्थापन, धूमपान निषेध कार्यक्रमसँगै स्मोकिङ् जोन निर्माण, सामाजिक क्षेत्रका कार्यक्रमलाई आर्थिक सशक्तिकरणसँग जोड्ने कार्यक्रममा जोड दिनुभएको थियो । 

 

  • प्रकाशित मिति: बिहीबार १८ साउन २०८० २०:५२