Logo

अनुगमन गर्नुपर्ने स्वास्थ्य सेवाका १६ वटा क्षेत्र र अनुगमनका सूचक निर्धारण 

अनुगमन गर्नुपर्ने स्वास्थ्य सेवाका १६ वटा क्षेत्र र अनुगमनका सूचक निर्धारण 

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आफू मातहतका सेवाको अनुगमन गर्न क्षेत्र र सूचक निर्धारण गरेको छ । अनुगमनमा जाँदा सेवामा असर नपुगोस् । अनुगमन टोलीले प्राप्त गर्नु पर्ने सूचना तथा विवरण सरल, सहज र विना अवरोध प्राप्त गर्न सकियोस् । मापदण्ड र सेवाको गुणस्तर मापन गर्न सकियोस् भन्ने उद्देश्यले क्षेत्रअनुसारका छुट्टाछुट्टै सूचक निर्धारण गरिएका छन् । 

क्षेत्र र सूचकमा छलफल गर्दै महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन सुपरीवेक्षण समितिकी संयोजक सुनिता डंगोलले भन्नुभयो, ‘यस क्षेत्रमा धेरै मानिसका धेरै गुनासा छन् । उपचार पद्धति, औषधि, शुल्कजस्ता विषय संवेदनशील प्रकृतिका छन् । अनुगमन जाँदा नियमित सेवालाई प्रभाव नपार्ने, सुधार गर्दा हुने त्रुटीलाई सुधारको मौका दिने, सुधारको अवसर दिन नमिल्ने कामलाई तत्काल कानुनी कारवाही गर्ने क्षमता लिएर जानू । अब स्वास्थ्य क्षेत्रका सेवाग्राहीले सुधारको महसुस गर्नुपर्छ ।’ 

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, ‘अबको अनुगमनले मापदण्ड पालना गर्ने र नगर्ने को हुन्, स्पष्ट भन्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो । ‘सबैले राम्रो वा सबैले राम्रो गरेको छैनन । राम्रो गर्ने र नराम्रो गर्ने एउटै डालोमा हुँदा नराम्रो गर्नेलाई फाइदा पुगेको छ । राम्रो गर्नेले प्रोत्साहित हुन पाएनन् । अब राम्रो सुलभ र सहज सेवालाई प्रोत्साहित गर्नुपर्छ । गलत गर्नेलाई कानुनी कारवाहीमा ल्याउनु पर्छ । गलत गर्ने छुट कसैलाई पनि छैन ।’

स्वास्थ्य क्षेत्रका सम्भावित समस्या व्यवस्थापन गर्न यसअघि जारी गरिएका ऐन, नियमावली, विनियमावली, कार्यविधि र मापदण्डका आधारमा अनुगमन प्रक्रिया र सूचक तयार पारेका छौँ । विभागका प्रमुख रामप्रसाद पौडेलले भन्नुभयो, विधिले निर्धारण गरेका पद्धतिका आधारमा अनुगमनको प्रक्रिया सञ्चालन हुनेछ । सूचकका आधारमा सेवा, शुल्क, पूर्वाधार तथा उपकरणको मूल्याङ्कन हुनेछ ।’

विभागले आधुनिक, प्राकृतिक, आयुर्वेद, होमियोप्याथिक चिकित्सा सम्बन्धी स्वास्थ्य क्लिनिक, पोलि क्लिनिक र अस्पतालहरुबाट प्रदान गरिने सेवा, सेवाको गुणस्तर, सेवा सञ्चालन गर्ने पूर्वाधार जस्ता क्षेत्रको अनुगमन गर्नेछ । ५ देखि २५ शय्यासम्मका स्वास्थ्य सेवा प्रदायक अस्पताल महानगरपालिकाको अनुगमन क्षेत्रभित्र पर्छन् । विभागका प्रमुख पौडेलका अनुसार दर्ता, नविकरण, स्वास्थ्य सेवासँगै औषधि विक्री वितरण प्रबन्ध र मूल्य, बहाल, व्यवसायलगायत कर प्रणालीमा आवद्धता पनि हेरिनेछ । सेवाअन्तर्गत ओपीडी तथा आकस्मिक सेवा, भर्ना भएर उपचार गर्ने विरामी सम्बन्धी व्यवस्था, लक्षित वर्गको निःशुल्क उपचारको उपलब्धता, उपचार पद्धति, आयुर्वेद पूर्वकर्म, सेवा शुल्कसहितका प्रबन्ध, परीक्षणतर्फ एक्स—रे, दिशा, पिसाब, रगतलगायत जाँच गर्ने प्रयोगशाला, रेडियोलोजीलगायत छन् । व्यवस्थापनतर्फ चिकित्साजन्य फोहोरमैला संकलन तथा व्यवस्थापन, नागरिक वडापत्र लगायत क्षेत्र छन् । 

अनुगमनले अक्युपङ्चर सेवा र सुरक्षित गर्भपतन सम्बन्धी सेवा पनि हेर्नेछ । 

फार्मेसी अध्ययन नगर्नेहरुले औषधि पसल सञ्चालन गरेका छन् । फार्मेसी पढ्नेको नाममा दर्ता गरेर नपढ्नेहरु पसलमा बसेर औषधि विक्री गर्ने पद्धति छ । यस्ता गुनासाहरु विभागमा नियमित आइरहेका छन् । यस क्षेत्रमा कडाइका साथ अनुगमन गर्ने विभागले योजना बनाएको छ । 

यसरी गरिने अनुगमनहरु नियमित र आकस्मिक हुनेछन् । 

 

  • प्रकाशित मिति: शुक्रबार​ ५ असोज २०८० ११:४७