हाँडीगाउँको वातावरणीय सुधार गर्न ‘कार फ्री’ डे : मौलिकता जोगाउन परम्परागत क्रियाकलाप
काठमाडौँ । सहरी वातावरण सुधारका लागि सवारी साधनबाट उत्सर्जन हुने प्रदुषक तत्वमा कमी ल्याउन असोज ५ गते शुक्रबार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्री डे) मनाइयो । हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा सवारी प्रवेश निषेध गरिएको थियो । यस क्षेत्रमा विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाइएको थियो । यस क्षेत्र भएर गुड्ने सवारी साधनलाई धोवीखोला कोरिडोर, गहनापोखरीबाट वडा कार्यालयतर्फको भित्री सडकको प्रयोग गर्ने व्यवस्था मिलाइएको थियो ।
सवारी प्रवेश निषेध गरिएका ठाउँमा हाँडीगाउँको मौलिक जीवन पद्धतिसँग सम्बन्धित कला तथा सिप (सुकुल बुन्ने, काष्ठकला, माटोका भाँडा बनाउने), रञ्जना लिपी लेखन सिप, मौलिक खाना, परम्परागत बाद्यबादन, गायन तथा नृत्य र मौलिक सामाजिक खेलसहितको सडक महोत्सव गरिएको थियो । खेलमा सहभागी हुन, खाना खान तथा मौलिक कला हेर्न टाढा टाढाबाट मानिसहरु सहभागी भएका थिए ।
कार्यक्रमको अवलोकनका लागि महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतसहित वडाध्यक्षहरु, वडा सदस्यहरु सहभागी हुनुभएको थियो । यस्तै कला, साहित्य, सिर्जना र सहरी वातावरण सुधारका लागि काम गर्ने विभिन्न संघ संस्थाहरुले सूचना तथा जानकारीमूलक प्रदर्शनी सञ्चालन गरेका थिए । युवा सहभागिताका कार्यक्रम व्यवस्थापन गरेका थिए ।
कार्यक्रम अवलोकनपछि उपप्रमुख डंगोलले, आफू हिँडेको, खेल खेल्दै चिनेको ठाउँको बढी माया लाग्ने बताउँदै मौलिक स्थानहरुमा हिँडेर माया बसाउने कार्यक्रम थालिएको उल्लेख गर्नुभयो । ‘हिँड्ने संस्कारले अनेक फाइदा गर्छ । सहरमा घट्दै गएको हिँड्ने संस्कारलाई अब हामी विस्तार गरेर वडा वडामा पु¥याउँछौँ । वडा नं. ८ मा पूर्वाधार तयार हुँदैछ । यसपछि हामी त्यस वडाका कार्यक्रम चलाउँछौँ ।’
कार्यक्रममा वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले, हाँडीगाउँको प्राचीनता फर्काउन २० बर्षको कार्यक्रम बनाएको बताउनुभयो । ‘हामीले पुनस्र्थापनाको गुरुयोजना बनाइसकेका छौँ । यसका विविध पक्षमा सरोकारवालासँग छलफल गरेका छौँ । पृष्ठपोषण लिएका छौँ । हामीले सुधारका लागि बनाएको योजना ५ बर्षको मात्र होइन । मध्यकालीन र दीर्घकालीन योजना पनि बनाएका छौँ ।’
औपचारिक कार्यक्रम १ दिनको भयो । यसले सामाजिक सदभाव, सांस्कृतिक विकास, वातावरणीय सुधार, स्थानीय आयमा वृद्धि र जनस्वास्थ्य सुधारमा दीर्घकालीन टेवा पुगेको छ । कार्यक्रम अवलोकनपछि बोल्दै सम्पदा तथा पर्यटन समितिका संयोजक संगतले, वडा नं. ८ पनि कार्यक्रम सञ्चालन तयारीमा रहेको उल्लेख गर्नुभयो ।
हाँडीगाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रुपमा लिइन्छ । यहाँ भएका सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवि कालका मन्दिरहरु भएको प्रमाण पाइन्छ । इसापूर्व दोश्रो शताब्दीका पुरातात्विक अवशेष र अन्य सम्पदा भवनहरुको जग यसै क्षेत्रमा मात्र छन् ।
हाँडीगाउँको यो लिच्छविकालीन इतिहासलाई त्यही कालको झल्को दिने खालका अवस्थितिमा रुपान्तरणका कामको थालनी गुरुयोजनाको लक्ष्य हो । कार फ्री डे र सडक महोत्सव यसको एउटा कार्यक्रम हो । यो कार्यक्रमलाई निरन्तर चलाउने वडाको योजना छ ।