Logo

जनप्रतिनिधि र कर्मचारीको उत्पादकत्व जोगाउन आँखा शिविर

जनप्रतिनिधि र कर्मचारीको उत्पादकत्व जोगाउन आँखा शिविर

काठमाडौँ । नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ महानगरपालिकाले आजदेखि २ दिने आँखा शिविर सुरु गरेको छ । विश्व दृष्टि दिवसको अवसर पारेर आयोजना गरिएको शिविरमा आज जनप्रतिनिधि र काठमाडौँ कार्यक्षेत्र भएका पत्रकारहरुको परीक्षण भइरहेको छ । भोलि कर्मचारी र महिला स्वास्थ्य स्वयमसेविकाको परीक्षण हुनेछ । 

यो दिवस हरेक वर्ष अक्टोवर महिनाको दोस्रो विहीबार मनाउने गरिन्छ । यो बर्ष ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ नारासहित विश्वभर कार्यक्रम आयोजना भइरहेका छन् । काम गर्ने कक्षमा आँखाको हेरचाहलाई महत्व दिने, अन्धोपन र दृष्टि क्षति न्यूनीकरणका लागि विश्वको ध्यान केन्द्रीत गराउन यस बर्षको नारा तय गरिएको हो । 

विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभरि कम्तीमा २.२ अर्व मानिसहरू नजिक वा टाढाको दृष्टिमा कमजोर छन् । यीमध्ये १ अर्ब मानिसमा केही उपाय लगाउन सकिन्थ्यो । केहीलाई दृष्टिविहीनताबाट रोक्न सकिन्थ्यो केहीका लागि कार्यक्रमबाट सम्बोधन गर्न बाँकी छ । 

महानगरपालिकाको जनस्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल भन्नुहुन्छ, ‘जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्य स्वयमसेविकाहरुको दृष्टि जोगाएर  उत्पादनशीलतालाई बचाउन स्वास्थ्य शिविर आयोजना गरेका हौँ । हामी आँखाको स्वास्थ्य सुरक्षासँग सम्बन्धित बानी व्यवहारहरुको प्रबर्धन गरेर दृष्टि बचाउने प्रयासमा छौँ ।’ं

कार्यालय भवन, कार्यस्थल (भुइँ, कोठा, स्टूडियो) दृष्टिमैत्री छ । सबैमा पहुँच योग्य छ भनेर सुनिश्चित गर्नु छ । यो कामलाई निरन्तरता दिनेछौँ । पौडेलको भनाइ छ । 

विश्वव्यापी स्तरमा दृष्टि कमजोरी र अन्धोपनका मुख्य कारण रेटिनामा बस्तु फोकस नहुने समस्या, मोतियाबिन्दु हुन् । आँखा अस्पतालका वाह्य कार्यक्रम संयोजक राम के. सी. का अनुसार यस्ता समस्या समयमा पहिचान गर्न सके अन्धोपन रोक्न सकिन्छ ।  

 

 

 

  • प्रकाशित मिति: बिहीबार २५ असोज २०८० १६:५३