४२० जनाको आँखा परीक्षण गर्दा ३२ जना रिफर, ५ जनामा रेडिनोप्याथी
काठमाडौँ । ४२० जनाको आँखा परीक्षण गर्दा ३२ जनालाई थप उपचारका लागि अस्पताल रिफर गरिएको छ । विश्व दृष्टि दिवस २०२३ को अवसर पारेर काठमाडौँ महानगरपालिकाले नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा असोज २५ र २६ गते आयोजना गरेको शिविरमा ५ जनामा रेडिनोप्याथी भेटियो । रेडिनोप्याथी मधुमेहका कारण आँखामा परेको असर हो । शिविरमा रेडिनोप्याथीसहित मोतीबिन्दु भएका विरामीलाई थप उपचारका लागि रिफर गरिएको हो ।
शिविरको पहिलो दिन जनप्रतिनिधि र काठमाडौँ कार्यक्षेत्र भएका पत्रकार तथा दोस्रो दिन कर्मचारी र महिला स्वास्थ्य स्वयमसेविकाको परीक्षण गरिएको थियो ।
शिविरमा जाँच गराउनेहरुमा नजिक र टाढाको दृष्टिमा समस्या धेरैमा देखियो । आँखा सुख्खा हुने अर्को समस्या हो । महानगरपालिकाकी जनस्वास्थ्य अधिकृत मञ्जु मास्केका अनुसार आँखाको स्वास्थ्यमा ध्यान दिने बानीको विकास गर्न आवश्यक देखिएको छ । नेपाल आँखा अस्पतालका वाह्य कार्यक्रम संयोजक राम के. सी. ले आँखा शिविरहरुमा मधुमेहका कारण आँखामा परेको असर, मोतीबिन्दुजस्ता समस्या धेरै देखिने गरेको बताउनुभयो ।
विश्वव्यापी स्तरमा दृष्टि कमजोरी र अन्धोपनका मुख्य कारण रेटिनामा बस्तु फोकस नहुने समस्या, मोतियाबिन्दु हुन् । यस्ता समस्या समयमा पहिचान गर्न सके अन्धोपन रोक्न सकिन्छ ।
विश्व दृष्टि दिवस हरेक वर्ष अक्टोवर महिनाको दोस्रो विहीबार मनाउने गरिन्छ । यस बर्ष ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ नारासहित विश्वभर कार्यक्रम आयोजना गरिएको थियो । काम गर्ने कक्षमा आँखाको हेरचाहलाई महत्व दिने, अन्धोपन र दृष्टि क्षति न्यूनीकरणका लागि विश्वको ध्यान केन्द्रीत गराउन दिवस आयोजना गर्ने गरिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभरि कम्तीमा २.२ अर्व मानिसहरू नजिक वा टाढाको दृष्टिमा कमजोर छन् । यीमध्ये १ अर्ब मानिसमा केही उपाय लगाउन सकिन्थ्यो । केहीलाई दृष्टिविहीनताबाट रोक्न सकिन्थ्यो केहीका लागि कार्यक्रमबाट सम्बोधन गर्न बाँकी छ ।