स्वच्छ दसैँ पर्वका लागि फोहोर व्यवस्थापनमा सहयोग गर्न महानगरपालिकाको अनुरोध
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले पर्व लक्षित विशेष सरसफाइका क्रममा दैनिक २ ट्रिपर थप फोहोर संकलन गरिरहेको छ । यस क्रममा नियमित सफाइका अतिरिक्त शक्ति पीठ, सडक, सम्पदा क्षेत्र, चोक, गल्ली, टोलको सरसफाइ गर्ने गरेको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो । विभाग र महानगर प्रहरी बलबाट खटिने जनशक्तिसँगै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आउनु भएका जनशक्तिलाई पनि विशेष सरसफाइ, स्वच्छता र सुन्दरता अभिवृद्धि गर्ने काममा लगाएका र्छाैँ । ब्रुमर र जेट मेसिनसहित आवश्यक पर्ने साधन तथा उपकरण परिचालन गरेका छौँ । यसरी गरिएको सफाइका क्रममा महानगरपालिकाले दैनिक २ ट्रिपर फोहोर संकलन गर्ने गरेको छ ।
पर्वमा जनशक्ति व्यवस्थापन, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयको मागलाई सम्बोधन गर्दै ल्याण्डफिल साइट सञ्चालनका लागि योजना तयार भएको छ । साइट इन्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार फुलपातीका दिन साइट बन्द हुनेछ । अष्टमी र नवमीका दिन विहान ४ बजेदेखि ७ बजेसम्म खुल्ला रहनेछ । दशमी र एकादशी गरी २ दिन पूरै बन्द रहनेछ । द्वादशीका दिनदेखि नियमित सुचारु रहनेछ ।’
महानगर क्षेत्रको सफाइमा काम गर्ने निजी क्षेत्रका करिब १ हजार ३ सय जनशक्ति रहेको फोहोरमैला व्यवस्थापन संघका अध्यक्ष ध्रुब आचार्यले जानकारी दिनुभयो । पर्वका समयमा ढोका ढोकामा पुगेर फोहोर संकलन गर्ने र सार्वजनिक ठाउँबो सफाइमा बराबरी समय दिइएको छ । पर्वका समयमा सकेसम्म थोरै समय मात्र विदा रहेर बाँकी समय सफाइकै लागि प्रयोग गर्ने योजना छ । उहाँले योजना सुनाउनुभयो ।
वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीका दाहालले, फोहोर उत्पादन, संकलन र व्यवस्थापनको चक्रमा सबैले समान दायित्व निर्वाह गर्न सके पर्वमा फोहोरको समस्या नहुने धारणा राख्नुभयो ।
उत्पादकले कुहिने फोहोर छुट्याएर राख्न सके मात्र पनि संकलन र व्यवस्थापनमा सहयोग हुने उहाँको भनाइ छ ।
पर्वका समयमा घर घरमा खानेकुरा धेरै पकाइने भएकोले उत्पादित फोहोरमा जैविक फोहोरको मात्रा धेरै हुन्छ । मुख्य दिनहरुमा घरेलु फोहोर धेरै उत्पादन हुन्छ ।
सार्वजनिक स्थल, मठ मन्दिर, चोक, गल्ली, धारा, पाटी, सम्पदा तथा धार्मिक स्थलहरुको सरसफाइलाई पर्वका समयमा प्राथमिकता दिने गरिएको छ ।