कार्तिक २ गतेसम्ममा १,५४५ जनाबाट निःशुल्क सिपमूलक तालिमका लागि आवेदन : वडाहरुबाट आवेदन संकलन जारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निःशुल्क आयमूलक सिपमूलक तालिमका लागि गरेको सार्वजनिक आव्हानबाट कार्तिक २ गतेसम्ममा १ हजार ५४५ जनाले फाराम भरेका छन् । महानगरपालिकाको सामाजिक विकास विभागअन्तर्गत कार्यान्वयन हुने कार्यक्रममा सहभागी हुन असोज २२ गते सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । सामाजिक विकास विभागअन्तर्गत कार्यान्वयन हुने ‘महानगर गौरव र स्वर्णिम योजना’ को समीक्षा र दसैँ शुभकामना आदानप्रदान कार्यक्रममा ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमका सम्पर्क अधिकारी शान्ता पहाडीले यस सम्बन्धी जानकारी दिनुभएको हो । तालिम प्राप्त जनशक्तिलाई रोजगारी तथा आयआर्जनमा सम्लग्न गराएर काठमाडौँ महानगरपालिकालाई रोजगारी हबका रुपमा विकास गर्ने कार्यक्रमको उद्देश्य हो । उहाँकाअनुसार दसैँलगत्तै सफ्टवेयर डिभलपमेन्ट तालिम सुरु हुनेछ । 

बैठकमा समितिका संयोजक रामकुमार के. सी. ले भन्नुभयो, ‘सामाजिक विकास विभागले गर्ने कामहरु अन्य विभागमा पनि छरिएका छन् । विभागअन्तर्गत समेटिएका कार्यक्रम शतप्रतिशत कार्यान्वयन गरौँ । त्यसपछि सामाजिक क्षेत्रमा पर्ने जिम्मेवारीमा अगाडि बढौँ ।’


बैठकमा समितिका सदस्य एवं वडा नंं २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सामाजिक क्षेत्रबाट गौरव योग्य काम भएको उल्लेख गर्दै, महानगरपालिका क्षेत्रभित्र भएका विश्व कीर्तिमानीहरुलाई सम्मान गर्ने कार्यक्रम अगाडि सार्न प्रस्ताव गर्नुभयो । कार्यपालिका सदस्य महेश नेपालीले, प्राथमिता प्राप्त हरेक महानगर गौरव र स्वर्णिम योजना सामाजिक क्षेत्रसँग कुनै न कुनै रुपमा सम्बन्धित हुने भएकोले वृहत दृष्टिकोण राखेर काम गर्नु पर्ने खाँचो औँल्याउनुभयो । अर्का कार्यपालिका सदस्य ललिता खड्गीले, समाज निर्माण गर्ने लक्ष्य प्राप्त गर्न सामुहिक प्रयत्नको खाँचो देखाउनुभयो । 

हरेक योजना कार्यान्वयन प्रक्रियामा लैजाँदा अन्तरसम्बन्ध र समन्वयको पक्षलाई पहिलो सर्तका रुपमा हेर्ने गरिएको छ । बैठकमा विभागका प्रमुख गोपालप्रसाद पोखरेलले भन्नुभयो, ‘अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण तत्काल कार्यान्वयन लैजानु पर्नेछ ।’

सामाजिक विकासका कामसँग सम्बन्धित योजना तर्जुमा गर्दा विगतमा राखिएका शीर्षकलाई दोहो¥याउँदै जानुको सट्टा प्रभाव र आवश्यकता अध्ययन गरेर बजेट तर्जुमा गर्नुपर्छ । कार्यान्वयन योग्य कार्यक्रम त्यहाँबाट सुरु हुन्छन् । बैठकमा सहरी योजना आयोगका सदस्य सुरजराज काफ्लेले, विभागले शारीरिक र मानसिक दुवै प्रकारका विकासमा काम गर्नु पर्ने बताउनुभयो । गौरव र स्वर्णिम योजना एकद्वार प्रणालीबाट कार्यान्वयन हुने भएकोले आफूहरुले कार्यान्वयन चरणमा सक्रियता बढाउने उहाँको भनाइ थियो । आयोगका अर्का सदस्य बाबुराम भट्टराईले, योजनाहरु विचको अन्तरसम्बन्ध र सहभागिताबाट नतिजा हासिल हुने धारणा राख्नुभयो । 

बैठकमा ‘साथी महानगर’ कार्यक्रमकी सम्पर्क अधिकारी रेखा उपाध्यायले, बुबाको मुख हेर्ने दिनमा ज्येष्ठ नागरिकहरुलाई भोजन गराएको बताउनुभयो । यस्तै ‘सबैको योजना, सबैको विकास’ कार्यक्रमकी सम्पर्क अधिकारी सुनिता श्रेष्ठले, कार्यक्रमका लागि माग गरिएको योजनामा सिपमुलक तालिमको मात्र प्रस्ताव प्राप्त भएकोले पुनः सूचना प्रकाशन गरिएको बताउनुभयो । 

समीक्षा सकिएपछि दसैँको शुभकामना आदानप्रदान गरिएको थियो । यस क्रममा समितिका संयोजक के. सी. ले सबैलाई टीका लगाइदिनुभएको थियो । के. सी. लाई सहरी योजना आयोगका सदस्य बाबुराम भट्टराईले टीका लगाइदिनुभएको थियो । 

सिपमूलक कार्यक्रम कसका लागि? किन?
महानगरपालिकामा बसोबास गरिरहेका (स्थायी, अस्थायी बसोबासी तथा करदाता समेत) व्यक्ति तालिमका लक्षित समूह हुन् । स्थानीय बजारको आवश्यकता, माग र सम्भावना हेरेर सिप बिकास तालिम दिनु कार्यक्रमका क्रियाकलाप हुन् । उद्यमशीलता विकास तालिमले रोजगारीका अवसर सिर्जना गर्नु कार्यक्रम सञ्चालनको उद्देश्य हो । यस वर्ष १५ हजार व्यक्तिलाई निःशुल्क सिपमूलक तालिम प्रदान गर्ने र ५ हजार जनालाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ । 

लक्ष्य पूरा गर्न वडा कार्यालयहरुले वडा क्षेत्रमा रहेका बेरोजगारहरु, युवा (महिला, पुरुष), रोजगारी गुमाएर बसेकाहरु, विदेशवाट सिप सिकेर तथा काम गरेर फर्केका (अहिले काम खोज्दै गरेका) पहिचान गरेर फाराम भराउन सहजीकरण गर्नुपर्नेछ । सिप नजानेका र सिपको स्तरोन्नति गर्नुपर्ने व्यक्ति यसका लक्षित वर्ग हुन् । यस्ता वर्गलाई फाराम भराएर वडाबाट प्रमाणित गरेर सामाजिक विकास विभागमा पठाउनु पर्नेछ । यसरी पठाइएका फारामहरु अनलाइन दर्ता गरेर कार्यान्वयन गरिनेछ । 

तालिम लिन इच्छुक व्यक्तिले आफ्नो नाम थर, शैक्षिक योग्यता, हाल सम्लग्न पेशा, तालिम लिएको भए विवरण, अनुभव कुन क्षेत्रमा छ, काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि वा कर्मचारीको परिवार हो कि होइन, ल्याण्डफिल साइट प्रभावित क्षेत्रको बासिन्दा हो कि होइन, महानगरपालिकामा स्थायी बसोबास गर्नुहुन्छ कि हुन्न, महिलाहरुका हकमा एकल हो कि होइन, जस्ता विवरण भर्नुपर्छ । 

शारीरिक अपाङ्गता छ भने कस्तो खालको अवस्था हो जस्ता विवरण, फारामबाट माग गरिएका छन् । फाराममा ३३ वटा तालिमका विधा तालिकामा दिइएको छ । फाराम भर्नेले यी बिधामध्ये आफूलाई रुचि लागेको क्षेत्रलाई १ त्यसपछिको रुचिको क्षेत्रलाई क्रमशः २, ३, ४ र ५ नम्बर दिनुपर्नेछ । 

अहिलेसम्म अनलाइनमार्फत आवेदन बुझाउनेहरुको शीर्षकगत संख्या 
१)     प्रोफेसनल कम्प्युटर हार्डवेयर नेटवर्किङ् तथा सीसीटिभी क्यामरा जडान तथा मर्मत तालिम - २२८ जना  
२)    सफ्टवेयर डिभलपमेन्ट तालिम - २३१ जना 
३)    प्रोफेसनल इलेक्ट्रिसियन एण्ड प्लम्बिङ् तालिम - १०५ जना
४)    सिलाइ कटाइ तथा फेसन डिजाइनिङ् तालिम - १०३ जना 
५)    कन्स्ट्रक्सन लेवर तथा मिस्त्री तालिम - २१ जना 
६)    व्युटी पार्लर तथा सैलुन तालिम - १३७ जना
७)    मोटरसाइकल रिपेयर मेन्टिनेन्स तालिम - ६८ जना 
८)    लाइट भेहिकल मेन्टिनेन्स तालिम - ५९ जना
९)    कार्पेन्टर तथा इन्टेरियर डिजाइनिङ् तालिम - ५६ जना
१०)    हस्तकला तथा मूर्तिकला तालिम - ३४ जना 
११)    आकाशे पानी संकलन तथा रिजर्व वोरिङ् तालिम - ३६ जना 
१२)    सरसफाइ तथा माली तालिम - २३ जना
१३)    कौसी खेती (भर्टिकल फार्मिङ्) तालिम - ५९ जना
१४)    हेभी इक्वीपमेन्ट अपरेटर (ब्लाक व्हो, लोडर, एक्साभेटर) तालिम - ७२ जना 
१५)    फास्टफुड÷चाइनिज र इन्डियन कुक तालिम - १४१ जना  
१६)    बारिस्ता ÷ बेकरी तालिम - १८५ जना 
१७)    बार ट्रेण्डिङ्÷वेटर÷वेट्रिस तालिम - ८० जना 
१८)    होम एप्लाइन्सेस मर्मत तालिम - ४७ जना 
१९)    अनलाइन रोजगार (जब) तालिम - २५३ जना 
२०)    सम्पदा निर्माण तथा मर्मत तालिम - ३२ जना 
२१)    प्रोसेसनल अकान्टिङ् तालिम - २४३ जना 
२२)    रिसेप्सनिष्ट तथा क्यासियर तालिम - ११३ जना 
२३)    मार्केटिङ् तथा डिजिटल मार्केटिङ् तालिम - २१२ जना 
२४)    ग्राफिक्स डिजाइन भिडियोग्राफी तथा भिडियो इडिटिङ् - २७३ जना
२५)    टायल मार्वल फिटर तालिम - छुटेको 
२६)    एल्मुनियम, युपीभीसी, फेब्रिकेसन तालिम - २३ जना
२७)    टुटिस्ट गाइड तालिम - १५४ जना 
२८)    सेक्युरिटी गार्ड तालिम - ३५ जना
२९)    स्पा तथा थेरापी तालिम - २८ जना 
३०)    लघु उद्यम विकास सहजकर्ता तालिम - ७४ जना
३१)    जुत्ता बनाउने तालिम - २४ जना 
३२)    सहकारी व्यवस्थापक तालिम - १०२ जना
३३)    गरगहना बनाउने तालिम - ३५ जना
३४)    विभिन्न खेलकुदका लागि - ७८ जना
३५)    अन्य तालिमका लागि - ५७० जना 

तालिममा भाग लिन चाहनेहरुले वडा कार्यालयमा सम्पर्क गरेर वा अनलाइन फारमबाट आवेदन दिन सकिने विभागले जनाएको छ ।  

सम्बन्धित समाचार

Facebook Comments