वि.सं.: २०८२, पुस २ बुधबार
इ.स.: 2025 December 17,WEDNESDAY
वि.सं.: २०८२, पुस २ बुधबार
युनेस्को क्रियटिभ सिटिज नेटवर्कमा काठमाडौँ चलचित्र विधामा छनोट
काठमाडौँ । चलचित्र विधाबाट काठमाडौँ युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटीज नेटवर्क) मा जोडिएको छ । रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये काठमाडौँ महानगरपालिकाले चलचित्र विधा छानेको थियो । युसीसीएन (युनेस्को क्रियटिभ सिटीज नेटवर्क) मा आवद्ध हुन शिल्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नु पर्ने प्रबन्ध थियो । यीमध्ये महानगरपालिकाले चलचित्र विधा छानेको हो ।
विश्व सहर दिवसका अवसरमा कार्तिक १४ गते सहर सञ्जालका नयाँ सदस्यहरुको नाम सार्वजनिक गरिएको हो । आज पत्रकाट भेटघाट कार्यक्रम गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘कला, साहित्य, सिर्जना जस्ता रचनात्मक विधाबाट काठमाडौँलाई चिनाउने र राष्ट्रिय अर्थतन्त्र बढाउनमा यो कार्यक्रम लाभदायी हुने अपेक्षा गरेका छौँ । साझेदारसँग मिलेर लक्ष्य प्राप्तिका लागि काम गर्नेछौँ ।’ यसबाट काठमाडौँको सांस्कृतिक विविधता, पर्यटन र स्थानीय आयमा वृद्धि हुनेछ । रचनात्मक सहरका सबै विधाहरु काठमाडौँसँग सम्बन्धित छन् । चलचित्र विधाबाट सबै क्षेत्र समेट्न सकिने भएकोले महानगरपालिकाले यो विधा छानेको हो । उहाँको भनाइ थियो ।
सञ्जालमा १ सय भन्दा धेरै देशका ३५० वटा सहरहरु आवद्ध छन् । यस पटक ५५ वटा सहर थपिएका हुन् । नयाँ सदस्य सहरसहित चलचित्र विधामा काम गर्ने विश्वका २५ वटा सहर भएका छन् । यस बर्ष सञ्जालमा जोडिएका सहरमध्ये काठमाडौँसहित ५ वटा सहर चलचित्र विधामा छानिएका छन् । यस्तै संगीत विधामा १६ वटा, डिजाइनमा ६ वटा, शिल्प तथा लोककलामा ७ वटा, साहित्यमा १० वटा, ग्यास्ट्रोनमी (खानाका परिकार) मा ७ वटा, मिडिया कलामा ४ वटा सहर जोडिएका छन् ।
पत्रकार भेटघाट कार्यक्रममा युनेस्को नेपालका आवासीय प्रतिनिधि माइकल क्रप्टले आफ्नो परिवेश बताउँदै भन्नुभयो, ‘नेपाल आउनु अघि यहाँको प्राकृतिक र सांस्कृतिक विविधताका विषय थाहा थिएन । यहाँ आए पछि बुझेँ, यहाँको प्रकृति र सम्पदा अलौकिक रहेछन् । म जस्तै नेपाल र काठमाडौँका विषयमा थाहा नपाउनेहरुका लागि चलचित्र विधाबाट गरिने क्रियाकलाप प्रबर्धनका लागि उपयोगी हुनेछन् । यो काठमाडौँका लागि अवसर हो । यसलाई उपयोग गर्नुपर्छ ।’
रचनात्मक सहरमा आवद्ध हुन निर्णय भएपछि व्यवस्थापन केन्द्र स्थापना गरेर सरोकारवालाको पहिचान गरिएको थियो । सरोकारवाला बिच परामर्श समूह निर्माण, विषय र रचनात्मक सम्पत्तिको नक्साङ्कनसहित ४ बर्षका लागि कार्ययोजना तयार पारेर प्रस्तावसहित पेश गरिएको थियो ।
जनजीवन, भूगोल, बस्ती र सांस्कृतिक मूर्त अमूर्त सम्पदासँग जोडिएका ऐतिहासिक र पुरातात्विक रोचक कथाका कारण काठमाडौँलाई रचनात्मक सहरका रुपमा हेर्ने गरिएको छ । जात्रा पर्व, मौलिक भेषभुषा, खानपान काठमाडौँसँग जोडिएर आउने बिम्ब हुन् । सहर भन्नेवित्तिकै मनमा आउने पहिलो चित्र यही हो । यस्ता सम्पत्तिको अवलोकन र मनमोहक अवस्थितिको छायाङ्कन यसका लागि उपयुक्त पूर्वाधार हो । भेटघाट कार्यक्रममा अधिकारीले धारणा राख्नुभएको थियो ।
फरक दृष्टिकोण, अर्थव्यवस्था र संस्कृति भएका भिन्न भिन्न सहरलाई रचनात्मक सहरको सञ्जालमा जोडेर विकासको साझा दृष्टिकोण बनाउने रचनात्मक सहरको अवधारणा हो । एउटा रचनात्मक सहरमा समावेशी समाज, सृजनात्मक अर्थतन्त्र, मानव विकास, सामाजिक सद्भाव, प्राविधिक आविष्कार, वैज्ञानिक विकास दृष्टिकोण जस्ता विषय चलायमान हुन्छन् ।
यसबाट सहरहरुलाई अन्तरराष्ट्रिय स्तरबाट बलियो सहयोग प्राप्त हुने, विकास योजना तथा नीतिमा संस्कृति एकीकृत हुने, सांस्कृतिक र रचनात्मक उद्योगलाई बलियो बनाउने उद्देश्य राखिएको छ ।
क्रियाकलाप
चलचित्र क्षेत्रको विकास र विस्तार तथा यससँग सम्बन्धित उद्योगको सञ्चालन, संरक्षण र प्रवर्धनका लागि आवश्यक पर्ने नीति, अनुसन्धान र विकासका लागि काठमाडौँ क्रिएटिभ आट्र्स काउन्सिल (केसीएसी, केएमसी) स्थापना हुनेछ । यसले सांस्कृतिक र रचनात्मक कलाअन्तर्गतका सबै कार्यक्रमहरू र गतिविधिहरू कार्यान्वयन गर्नेछ । उद्योगमा आवद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबिच समन्वय सहकार्य गरेर स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय चलचित्र निर्माण गर्न प्रतिभाहरुलाई प्रोत्साहन गरिने ।
कार्यक्रमका बारेमा जानकारी दिँदै सम्पर्क अधिकारी एवं सम्पदा तथा पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानले भन्नुभयो, ‘चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा र वकालत गर्ने, सहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताहरूका लागि वार्षिक रूपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहभागी हुन छात्रवृत्ति प्रदान गरिनेछ ।’
चलचित्र र अन्य रचनात्मक उद्योगहरूका लागि विद्यमान पूर्वाधारलाई सुधार र स्तरोन्नति गरिनेछ । पारम्परिक वास्तुकला झल्काउने, सुन्दरता अभिवृद्धि हुने संरचना निर्माण गरेर लागतप्रभावी चलचित्र निर्माणको वातावरण बनाइनेछ । ल्यान्डस्केप डिजाइन, विश्व सम्पदा क्षेत्रहरुको सुधार, पूर्वाधार स्तरवृद्धि, वास्तुकला संवर्धनहरू, चलचित्र निर्माणको कथा कथन र सौन्दर्यशास्त्रमा योगदान पु¥याउने दृश्यात्मक मनमोहक स्थानहरू उपलब्ध गराइनेछ । चलचित्र स्टूडियो, पोस्ट उत्पादन सुविधाहरू, चलचित्र विद्यालयहरु, उद्योगका विधागत सिप र सिकाइहरुलाई सञ्जालमा आवद्ध गरेर प्रवर्धन गरिनेछ । अभिलेख, पुस्तकालय र संग्रहालयको विकास हुनेछ । स्थानीय सांस्कृतिक र रचनात्मक उद्यमीलाई र साना र मध्यम आकारका उद्यम सञ्चालन गर्न सहयोग गरिनेछ । तथ्य तथ्याङ्क निर्माण गरिनेछ । व्यञ्जन, कला र शिल्प, हस्तकला उद्योगको प्रवर्र्धन र मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न महोत्सव र प्रदर्शनीहरूको आयोजना गरिनेछ । कार्यक्रममा जानकारी दिइएको थियो ।
अन्तरराष्ट्रिय स्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तरराष्ट्रिय चलचित्र महोत्सव, फिल्म एक्स्पो, फिल्म समिट जस्ता सञ्चालन गरिनेछ । यसले विश्वभरका चलचित्र निर्माता, लगानीकर्ता तथा वितरकलाई सञ्जालमा जोड्नेछ । यसबाट अन्तरराष्ट्रिय साझेदारी र सहयोगका क्षेत्र विस्तार हुनेछन् । सदस्य अन्तरराष्ट्रिय नगरहरुमा विद्यार्थी, कलाकार, अनुसन्धानकर्ता र साझेदार बिच ज्ञान, सिप र अनुभव आदान प्रदानको वातावरण प्रदान गरिनेछ ।
युनेस्को क्रियटिभ सिटीज नेटवर्क (युसीसीएन) का कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले ५ करोड रुपैयाँ विनियोजन गरेको छ । यससँगै महानगर गौरव तथा स्वर्णिम योजना र विभागहरुले सञ्चालन गर्ने क्रियाकलापका अन्तरसम्बन्ध स्थापित गर्दै लगिने योजना बनाइएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App