प्रमुख शाहबाट चन्द्रबिनायक तथा भैरवनाथ जात्रा क्षेत्रको अवलोकन : मंसिर ११ गतेबाट जात्रा सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चन्द्रबिनायक तथा भैरवनाथ जात्रा सञ्चालन हुने ठाउँहरुको अवलोकन भ्रमण गर्नुभएको छ । जात्राको पहिलो दिन उहाँले चारुमती बिहार, गणेशस्थान, कुटुबहाललगायत क्षेत्रका बारेमा जानकारी लिनुभएको हो । त्यस क्रममा वडा ७ का अध्यक्ष बिमल होडा, वडा नं. ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान संगतले जात्रासँग सम्बन्धित ठाउँ, संस्कार, संस्कृति र सामाजिक जीवनका बारेमा जानकारी गराउनुभएको थियो । 
 
जात्राको पहिलो दिन गुठीयार पूर्ण संगतको घरबाट भैरवको र सानुकाजी शाक्यको घरबाट गणेशको मूर्ति गणेशस्थान परिसरमा ल्याइयो । त्यसपछि गणेश मन्दिर अगाडि आगो बालेर धुनी जगाइयो । यसका लागि पशुपतिको अमालकोट कचहरीले दाउरा, मुढा उपलब्ध गराउने परम्परा छ । 
 
यसरी जगाइएको धुनी तापे चिसो नलाग्ने, चिसो लागिसकेको भए यसको असर हराउने, घुँडा दुख्ने, सरीर दुख्ने समस्या समाधान हुने जनविश्वाश छ । 
 
जात्रासँग सम्बन्धित ठाउँ काठमाडौं उपत्यकाका चार विनायकमध्येको एक हो । महानगरपालिका वडा नं. ७ गणेशस्थानमा रहेको मन्दिरभित्र चिवहा अर्थात् स्तुप पनि छ । धार्मिक तथा जातीय रुपमा व्यक्ति व्यक्तिबिचमा सम्बन्ध टाढिँदै गइरहेको बर्तमान सन्दर्भमा धार्मिक सहअस्तित्वको सन्देश दिने यो संरचना पाँचो शताव्दीदेखि १८ औं शताव्दीबिचमा निर्माण भएको देखिन्छ ।  
 
मन्दिरभित्रको चिवहा अर्थात् स्तुप, बुद्ध मूर्ति र कुमारी लिच्छवीकालीन संरचना हुन् । पाँचो शताव्दीमा निर्माण भएका यी संरचनापछि चन्द्रविनायकको मूर्ति नवौ शताव्दीमा निर्माण भएको देखिन्छ । यी मूर्तिहरुको संरक्षणकालागि अठारौँ शताव्दीमा आएर मल्लकालीन राजा अमर मल्लले वि. सं. १५८६ देखि १६१९ का बिचमा मन्दिर निर्माण गर्न लगाएको देखिन्छ । 
 
बौद्ध धर्माबलम्बी र हिन्दू धर्मावलम्बीहरुको साझा आस्थाको तीर्थ चन्द्रविनायकभित्र भएका मूर्तिहरु जे भए पनि यसलाई गणेश स्थान भनेर जनसाधारणले चिन्ने गरेका छन् । यसलाईं चन्द्र विनायक, श्वेत विनायक, रक्त विनायक, चावहिल गणेश विभिन्न नामले चिनिन्छ । नेपाल भाषीहरु यसलाई ल्होंसाः गणेद्यः भनेर चिन्दछन् । यो गणेश चावहिल क्षेत्रको चारुमती महाविहार तथा भन्दो चैत्य नजिक रहेको छ । यी सबै स्थान पाशुपत क्षेत्रमा समेटिन्छन् । 
 
मन्दिर परिसरमा नाग आसनमा बसेका चन्द्रविनायकका अतिरिक्त, नेपाली धार्मिक आस्था तथा विश्वाश बोकेका धेरै देवी देवताका मूर्तिहरु छन् । एकै ठाउँमा क्षेत्रपाल, दक्षिणकाली, पञ्चबुद्ध, सरस्वती, नारायण, कुमारी, भैरव, शिव, राधाकृष्णलगायतका देवी देवताका प्रस्तर मूर्ति भएकाकारण श्रद्धालुहरुले एउटै पूजा तथा दर्शनबाट अधिक पुण्य लाभ गरेको महसुस गर्ने गरेका छन् ।
 
यहाँका गणेशलाई समय अनुसार पहिरन लगाइ दिने चलन छ । अन्य सामान्य दिनमा प्रस्तर रुपमा हुने गणेशलाई मंगलबार पित्तलको कलेबर र शनिबार चाँदीको मुखौटा लगाइ दिने चलन छ । जात्राको बेला तामाको कलेवर लगाइ दिइन्छ भने क्षमा पूजाको बेला अलग्गै पित्तलको कलेबर लगाइ दिने चलन छ । 
 
कार्यसिद्धिकालागि पुकार वा आराधना गरिने गणेश मन्दिरमा मंगलबार श्रद्धालुहरुको भीड हुने गरेको छ भने, माघ महिनाको मंगलबार भने विशेष आस्थासहित श्रद्धालुहरु आउने गर्छन् । 
 
धार्मिक आस्था र सामाजिक मान्यता 
 
चन्द्र विनायकको भाकल गरे सरीरमा आएका घाउ खटिरा निको हुने, हराएका सामान भेटिने विश्वाशकासाथ पूजा गर्ने गरिएको पाइन्छ । यहाँका भैरवनाथ मन्दिरको नजिक चार किल्लामा बस्ने स्थानीयबासीमा कहिल्यै झाडा पखाला नलाग्ने विश्वाश गरिन्छ । कुनै नयाँ कामको थालनी गर्दा, विदेश जाँदा वा नयाँ संकल्प लिँदा मनोकामना पूरा होस् भन्नका लागि यहाँ आउने श्रद्धालुहहरुको संख्या बढी पाइन्छ । 
 
मन्दिरसँग सम्बन्धित अर्को महत्वपूर्ण पक्ष भनेको परम्परागत वैद्यहरुलाई वैद्य विद्या तथा उपचार गणेशको पूजा गरेपछि मात्र सिकाउने गर्नु हो । वैद्यहरुको यो कार्यसँग जोडेर चन्द्रविनायकलाई गुरु गणेश पनि भन्ने गरिएको छ । यसबाहेक प्रत्येक दिनको उमंग र सफलताका लागि मन्दिर आउने श्रद्धालुहरुको संख्या पनि उल्लेख्य पाइन्छ । 
 
 
 
मन्दिरको बास्तुकला 
 
दुई तले, छाना भएको नेपाली मण्डप शैलीको चन्द्र विनायक मन्दिरले आधुनिक सहरमा प्राचीन संरचना शैलीको प्रमाण प्रस्तुत गरिरहेको छ । दक्षिण दिशामा रहेको कलात्मक तोरणमा सुनको मोलम्मा भएको मूख्य द्वारबाट नाग आसनमा बसेका चन्द्रविनायकलाई नियाल्न तथा दर्शन गर्न सकिन्छ । मन्दिरका अन्य ढोकामाथि काष्ठकलाको अनुपम नमूना नियाल्न सकिन्छ । मूर्तिको माथिल्लो भागमा स्तुप रहेको छ । त्यसको वरिपरिको भागमा बुद्ध मूर्तिहरु देख्न सकिन्छ । 
 
मन्दिरका टुँडालमा अष्टमातृका, अष्ट भैरव र गणेशका मूर्तिहरु कुँदिएका छन् । मन्दिरको माथिल्लो छानामा र गजुरमा सुनको जलप लगाइएको छ । तल्लो छाना, तामाजडित छ । मन्दिरको दक्षिण र पश्चिम दिशामा भएका प्राचीन र कलात्मक सत्तलले तत्कालीन जीवनशैलीको सम्झना गराइरहेका छन् । यिनीहरुको निर्माण शैली र परम्परागत पक्षले नेपाली मौलिकतालाई प्रदर्शन गरिरहेको छ । 
 
यस बर्ष जात्राका कार्यक्रम 
आज (मंसिर १२ गते) खट निकाल्ने दिन हो । आज गणेश र भैरवको खट निकाल्ने, गणेश मन्दिर परिसरको सरसफाइ गर्ने कार्यक्रम छ । आज पशुपति अमालकोट कचहरीबाट पूजा ल्याउने, कचहरीको द्वारेबाट सिन्दुर चढाउने, गुठीयार श्री प्रधानको घरबाट मूल पूजा ल्याउने, खट उठाएर नचाउने र गणेशसँग गहना माग्न लगाउनेलगायत क्रियाकलाप हुन्छन् । 
 
देवतालाई गंगाहिटीमा मुख धुन लैजाने, गणेश स्थान चौरमा खट नचाउने, मन्दिरको दक्षिण गेट, पूर्व गेट तथा गल्लीमा खट राख्दै बहालमा ल्याएर विसाउने कार्यक्रम छ । 
 
भोलि विहान ८ बजे बहालबाट खट उठाउने कार्यक्रम छ । खट यात्राका क्रममा नाट््येश्वर मार्ग, मुसे गणेशस्थानमा विसाइन्छ । भैरवको खटलाई कुटुबहालमा बिसाएर गणेशको खटलाई पशुपतिनाथको मन्दिरमा लगिन्छ । यस क्षेत्रका मुसे गणेशस्थान, मित्रपार्क, जयबागेश्वरी, इटापाखा, नवाली टोल, ताम्रेश्वर महादेवमा खट लगिन्छ । सिफल चौरमा ल्याएर खेलाउने र ठोक्काउने गरिन्छ । 
 
यसपछि गंगाहिटी, चावहिल चोक, धारा मार्ग, शान्ति गोरेटो चोक, चुच्चेपाटी चोक, मनमैजु जाने बाटो, वाँःहिटी चोक, चारुमती बहाल पछाडिको चोक, बहालमा रहेको इनारको अगाडि, बहालको पश्चिम कुनामा खट लगेर राखिन्छ । यसलाई उठाएर बहालको परिक्रमा गराइन्छ र डबलीमा लगेर बिसाइन्छ । 
 
देउतालाई टःसी (बिमिरो), सगुन र मसला दिने दिन भोलि नै हो । बेलुका ९ बजे गणेश र भैरवको पूजा गरेर दीपावली गरिनेछ । 
 
बिहीबार सिन्दुर जात्रा हुन्छ । यसका लागि दिउँसो १२ बजे सांस्कृतिक बाजागाजासहित बहालमा भेला हुने कार्यक्रम छ । यसपछि खट उठाएर चारुमती बहाल, गणेशस्थान, चावहिल चोक, चुच्चेपाटी, मुसे गणेशस्थान, मित्रपार्क, कुटुबहाल, गणेशस्थानबाट चारुमती बहाल हुँदै सम्बन्धित पालाको घरमा देउता पुर्‍याउने कार्यक्रम रहेको जात्रा समन्वय समितिले जानकारी दिएको छ । 
 
 
 
 
 
 
 

सम्बन्धित समाचार

Facebook Comments