पूर्वाधार निर्माणका योजना अनुगमन सुरु : निर्माण सामग्रीको गुणस्तरमाथि निगरानी
काठमाडौँ । अनुगमन तथा मुल्याङ्कन समितिले आजदेखि पूर्वाधार योजनाहरुको अनुगमन सुरु गरेको छ । समितिकी संयोजक सुनिता डंगोल, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, समितिका सदस्यहरु, इञ्जिनियरसहितको टोलीले आज वडा नं. २९ को निर्माणाधीन कार्यालय भवन र व्याटमिन्टन कोर्टको अनुगमन ग¥यो ।
पूर्वाधार निर्माणको योजना, लागत अनुमान र सार्वजनिक खरिद प्रक्रियामा उल्लेख भएका सर्तहरु अनुगमनका सूचक हुन् । अनुगमनका क्रममा संयोजक डंगोलले भन्नुभयो, ‘लगानी बराबरको नतिजा प्राप्त गराउनु अनुगमनको उद्देश्य हो ।’
बालुवा, डण्डी, सिमेन्ट, इटा जस्ता निर्माण सामग्री र निर्माण विधिमा हामीले निगरानी गर्नु पर्ने भएको छ । अनुगमनका क्रममा आयोगका उपाध्यक्ष डा. राजभण्डारीले भन्नुभयो, ‘निर्माण अवधिमा सामग्रीको गुणस्तर हेर्छौँ । आवश्यकताका आधारमा अब गुणस्तर परीक्षण गराउने काम थालिनेछ ।’
योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछानेका अनुसार पूर्वाधार योजनाको नियमित अनुगमन थालिएको छ । यसको थालनीमा ठुला १० वटा योजनाको अनुगमन गरिनेछ ।
पहिलो चरणमा अनुगमन गरिने ठूला योजनाहरु वडा नं. ३, ४, ९, १६, २२, २६ र २९ वडामा छन् ।
आजको अनुगमनको निष्कर्षका बारेका जानकारी दिँदै लामिछानेले भन्नुभयो, निर्माण पक्षलाई गुणस्तर परीक्षणको प्रतिवेदन उपलब्ध गराउन, ढलानलगायतका काम गर्दा अनुगमन समिति र महानगरपालिकाका प्राविधिक विज्ञहरुको उपस्थितिमा काम गर्न निर्देशन दिइएको छ ।
वडा कार्यालयको अनुगमन गर्दा छड, सिमेन्टको गुणस्तर, निर्माण स्थलको सतह, भूमिगत तला, निर्माण सामग्रीको मिश्रण र मोटाइलगायत पक्ष हेरिएको थियो । यस्तै व्याटमिन्टन कोर्टको उपयोग र पहुँचको पक्ष हेरिएको थियो ।