आरोग्य जीवनका लागि योग कक्षा, आयुर्वेदिक तथा बैकल्पिक उपचार प्रवर्धन गर्दै काठमाडौँ महानगरपालिका
माघ १, २०८० ।
काठमाडौँ महानगरपालिकाले निदानात्मक उपचारका लागि योग र खेल सञ्चालन गर्ने मैदान निर्माणमा जोड दिएको स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले बताउनुभएको छ । ९ औँ राष्ट्रिय योग दिवसका अवसरमा आज स्वास्थ्य विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै महर्जनले भन्नुभयो, ‘विद्यालयहरुमा अक्षर मात्र सिकाउँदैनौँ । योगबाट सुखी हुने सिप पनि सिकाउँछौँ ।’ उपचारात्मक स्वास्थ्य सेवाभन्दा निदानात्मक उपचार पद्धतिमा महानगरपालिकाको जोड रहेको बताउँदै उहाँले, ज्ञान र विज्ञानलाई जोड्ने क्षमता योग विधामा रहेकोले यसलाई प्रवर्धन गर्नु पर्ने बताउनुभयो ।
योगलाई जातीय, धार्मिक र साम्प्रदायिक सम्पत्तिका रुपमा नभइ स्वस्थ्य मानव जीवनका लागि अपरिहार्य साझा सम्पत्तिका रुपमा विकास गर्नुपर्नेमा उहाँको जोड थियो ।
सहरबासीमा भएको शारीरिक निष्क्रियतालाई सक्रिय बनाएर नसर्ने रोगबाट बचाउने कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकतामा राखेको स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले बताउनुभयो । आयुर्वेदिक र वैकल्पिक उपचार पद्धतिको प्रबर्धन गर्न महानगर स्वर्णिम योजनाअन्तर्गत आरोग्य जीवन कार्यक्रम सञ्चालन भएको उहाँको भनाइ थियो ।
आरोग्य जीवन कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार, वडा स्तरीय योग कक्षा सञ्चालनका लागि प्रशिक्षकहरुबाट आवेदन माग गरिसकिएको छ । यसमा करिब ३ सय जनाको आवेदन परेको छ । ‘योग प्रशिक्षण दिने करिब ३ सय वटा केन्द्रको लगत तयार पारिएको छ । जनस्वास्थ्यको अवस्था र स्वास्थ्य विग्रिनुका कारण खोज्न त्रिभुवन विश्वविदालय चिकित्सा अध्ययन संस्था, स्वास्थ्य विभागसँग सम्झौता गरेर अध्ययनको काम थालिएको छ । आयुर्वेदिक र बैकल्पिक उपचारका लागि नरदेवी आयुर्वेद अस्पतारसँगको सहकार्य थालनी गरिँदैछ ।’ ओलीको भनाइ छ ।
योगका ८ वटा अङ्ग (यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि) हुन्छन् । यीमध्ये कुनै अङ्ग छुट्यो भने पूर्ण योग हुँदैन । हिजोआज योग व्यायामका रुपमा लिने गरिएको छ । योगलाई व्यायामका रुपमा मात्र बुझ्नु हुँदैन । कार्यक्रममा जीवन विज्ञानका संस्थापक रमेश नेपालले भन्नुभयो, ‘योगले सरीर, मन, धारणा, आध्यात्म, आत्मिकता सबैलाई सन्तुलन गर्छ । यसबाट मात्र स्वस्थ्य जीवन प्राप्त हुन्छ । सरीर स्वस्थ्य भएर मात्र पुग्दैन । सरीरसँगै मन, धारणा पनि स्वस्थ्य हुनुपर्छ ।’
ओम आदि फाउन्डेसनका प्रवक्ता डा। राजु अधिकारीले, पूर्खाहरुले सन्तानको निरोगिताका लागि कुनै प्रतिफलको अपेक्षा नगरी प्रदान गरेको सिर्जना नै योग भएको उल्लेख गर्नुभयो । राज योग, वैदिक योग र हठ योगको समुचित प्रवर्धनबाट मात्र योगको सार्थक प्रबर्धन हुने बताउँदै अधिकारीले, योग गर्ने मस्त हुने, योग नगर्ने ध्वस्त हुने धारणा राख्नुभयो ।
कार्यक्रममा पतञ्जली योग समितिका प्रदेश प्रभारी अशोककुमार आलेले नेपाल सरकारले जारी गरेको बसेकै ठाउँमा गर्न सकिने, उभिएका ठाउँमा गर्न सकिने योग प्रोटोकलको अभ्यास गराउनुभएको थियो ।
उहाँहरुसहित कार्यक्रमका वक्ताहरु, त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका योग विषयका सहप्राध्यापक डा बिनोद घिमिरे, ओशो तपोबनका कञ्चन रावलले विद्यालय स्तरबाट योग सिकाउनु पर्नेमा जोड दिनुभयो ।
योगले शारीरिक तन्दुरुस्ती, सोचमा शुन्यता, दृष्टिमा समानता ल्याउने विश्वाश गरिन्छ । योग प्रवर्धन गर्दा शुद्धतामा ख्याल गर्नु पर्ने विज्ञहरुको सुझाव छ ।