आजको अनुगमनपछि ३ वटा अस्पतालको फोहोर संकलनमा रोक : फोहोर संकलनमा रोक लगाइएका अस्पतालको संख्या ८ पुग्यो

काठमाडौँ । स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा आज ३ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ । महाराजगञ्ज - बसुन्धरा - सामाखुशी क्षेत्रमा सञ्चालित चिरायु, विपी स्मृति अस्पताल र कान्तिपुर डेन्टल अस्पतालको फोहोर संकलनमा रोक लगाइएको हो । 

अवस्थाका बारेमा जानकारी दिँदै वातावरण व्यवस्थापन विभागकी वरिष्ठ इञ्जिनियर निशा कोइरालाले भन्नुभयो, ‘स्रोतमा फोहोर वर्गीकरण, वर्गीकरण भएको फोहोर ढुवानी, भण्डार कक्ष र निर्मलीकरण प्रविधि हेरेका थियौँ । यसमध्ये पनि संक्रमित फोहोरलाई निर्मलीकरण गर्ने विधिलाई महत्वका साथ हेरेका थियौँ । आज हेरिएका ३ वटै अस्पतालमा फोहोर निर्मलीकरण गर्न अटोक्लेभ वा अन्य कुनै विधिको प्रयोग नदेखिएकोले फोहोर संकलनमा रोक लगाएका हौँ ।’

आजसम्ममा २७ वटा अस्पतालमा फोहोर व्यवस्थापन आचरणको अनुगमन भइसकेको छ । यसक्रममा यसअघि नै एउटा सरकारी र ४ वटा निजी गरी ५ वटा अस्पतालहरुको फोहोर संकलनमा रोक लगाइ सकिएको छ । यसमा आज ३ वटा थप भएका हुन् । 

तीनवटामध्ये पनि विपी स्मृति अस्पतालको अभ्यास धेरै कमजोर छ । यतिसम्मकि अस्पतालका निर्देशक डा. भीम आचार्यलाई फोहोर व्यवस्थापनको फोकल पर्सन को हो, अटोक्लेभ कसले चलाउँछ, जोखिमयुक्त फोहोर कहाँ भण्डारण गरिन्छ भन्ने सूचना पनि थिएन । अनुगमनका क्रममा अटोक्लेभ भएको कक्षमा पुग्दा आफैँ सोध्दै हुनुहुन्थ्यो, यो कसले चलाउँछ । उहाँको सोधखोजपछि रामकुृमार तामाङ् मैले चलाउने हो सर, भन्दै आउनुभयो । अनुगमन टोलीको सोधखोजपछि उहाँले उत्तर दिनुभयो, यहाँ सामान पकाएर अप्रेसनका लागि लाने हो । 

यसपछि थाहा भयो, अटोक्लेभ मेसिन फोहोरलाई निर्मलीकरण गर्नका लागि होइन, अप्रेसनका लागि निर्मलीकरण गरिने साधन तथा उपकरण निर्मलीकरणका लागि प्रयोग गरिएको रहेछ । 

अस्पतालबाट जम्मा भएको फोहोर क्यान्टिन नजिकैको सानो कोठामा बोरामा राखिएको थियो । यो १ सय वेडको अस्पताल हो । 

फोहोर वर्गीकरणका लागि राखिएका बाल्टिनमा मिश्रित फोहोर भेटियो । अस्पतालले फोहोर व्यवस्थापनका लागि छुट्टै जनशक्तिको व्यवस्था गरेको वा कसैलाई थप जिम्मेवारी दिएको भेटिएन । अभिलेख त परको कुरा । रंग संकेतका बारेमा अस्पतालका कसैमा सचेतना वा जानकारी भएको देखिएन । महाराजगञ्ज कान्ति बाल अस्पतालबाट ओरालो झर्दै चक्रपथतर्फ लाग्दा राजमार्ग नपुग्दै यो अस्पतालमा पुगिन्छ ।

यो अस्पतालबाट सामाखुशीतर्फ करिब आधा किलोमिटरमा कान्तिपुर डेन्टल अस्पताल छ । यो अस्पतालमा १५० वटा डेन्टल चेयर र १ सय वटा वेड छन् । यो काठमाडौँ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त शिक्षण अस्पताल पनि हो ।  

अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले फोहोर भण्डारण र निर्मलीकरणका लागि निर्माण हुँदै गरेको ट्रष्टमा लैजानुभयो । हामीले सुधारको काम थालेका छौँ । तपाईँहरु अर्को पटक आउँदा कुनै त्रुटि भेट्नुहुन्न । उहाँले महानगरपालिकाको पछिल्लो सक्रियताले आफूहरुलाई पनि जिम्मेवार महसुस गराएको र आफैँ पनि काम गरौँ भन्ने भावना जगाएको उल्लेख गर्नुभयो । 

अस्पतालको डेन्टल सेवाबाट दैनिक करिब १० किलो फोहोर उत्पादन हुने गरेको छ । उत्पादित सुइहरु ग्यालिनमा हालेर राखिएको छ । फोहोर वर्गीकरणको अभ्यास जानकारी लिने एक कर्मचारीले भन्नुभयो, हामीले यहाँ छुट््याए पनि संकलन गर्न आउनेहरुले मिसाउने गरेको देखेपछि हामीले वर्गीकरण गर्न छाडेका हौँ । 

बसुन्धरामा रहेको चिरायु अस्पतालमा फोहोर वर्गीकरणका लागि छुट्टाछुट्टै बकेट राखिएका छन् । स्रोतमा फोहोर वर्गीकरण गर्ने प्रयास थालिएको छ । नर्सिङ् ट्रलीमा ८ वटा बकेट हुनु पर्नेमा २ वटा मात्र देखिए । प्रयोगशालामा अटोक्लेभ छ, यसलाई फोहोर नभइ प्रयोगशालाका सामानलाई शुद्धिकरण गर्न प्रयोग भएको छ । वर्गीकरण भएको फोहोर राख्न छुट्टाछुट्टै कोठा बनाइएको छ । 

यति प्रयास भएर पनि अटोक्लेभ विग्रिएका कारण संक्रमित फोहोर निर्मलीकरण हुन सकेको देखिएन । 

यसरी अनुगमन गरिएका अस्पतालहरुमा अटोक्लेभ सञ्चालन नभएको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको हो । 

वातावरण व्यवस्थापन विभागले अनुगमनको नेतृत्व र संयोजन गरिरहेको हो । टोलीमा स्वास्थ्य विभाग र महानगर प्रहरी बलका अधिकारीहरु सहभागी हुने गर्नुभएको छ । अनुगमन निरन्तर चलिरहेको छ । 

सम्बन्धित समाचार

Facebook Comments