वि.सं.: २०८२, मंसिर २० शनिबार
इ.स.: 2025 December 6,SATURDAY
वि.सं.: २०८२, मंसिर २० शनिबार
प्रवर्धनात्मक स्वास्थ्य सेवाका लागि परामर्श र स्क्रिनिङ् शिविर सुरु
काठमाडौँ । स्वास्थ्य संवेदनशीलताका बारेमा हरेक व्यक्तिले ख्याल राख्नुपर्छ भन्ने जागरुकता बढाउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आजदेखि ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’ सुरु गरेको छ । ‘आरोग्य जीवन’ स्वर्णिम योजनाअन्तर्गत व्यायाम व्यवसायी संघसँगको सहकार्यमा वडा नं. १७ को खुशिँवु बुद्धपार्कबाट शिविर थालेको हो । यसपछि खुला व्यायाम क्षेत्रमा यसप्रकारका शिविर आयोजना हुनेछन् ।
शिविरमा रक्तचाप र मधुमेहको प्रारम्भिक परीक्षण गराइन्छ । परीक्षणबाट समस्याको सम्भावना देखिए समस्यालाई रोगमा रुपान्तरण हुन नदिन अपनाउनु पर्ने उपायका बारेमा विशेषज्ञ चिकित्सकबाट परामर्श हुन्छ । यसमा आहार, विहार, आचार, विचारसँग रोगको सम्बन्ध, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि जीवनशैलीसँग सम्बन्धित विषय हुनेछन् ।
आजको शिविरमा ११८ जनाले परीक्षण गराउनुभयो । उहाँहरुमध्ये करिब १५ प्रतिशतमा प्रारम्भिक मधुमेह तथा उच्चरक्तचापको समस्या देखिएको स्वास्थ्य विभागले जनाएको छ । यस्तो अवस्थामा रहेका व्यक्तिलाई आउँदो ७ दिनसम्म के गर्ने, के नगर्ने, जीवनशैली (खानपान, व्यायाम) को सूची दिएर त्यसपछि फेरि स्वास्थ्य परीक्षण गराउन सुझाव दिइएको छ ।
कार्यक्रम थालनी गर्दै वडा नं. १७ का अध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले, स्वस्थ्य जीवनबाट मात्र समृद्धि सम्भव हुने बताउँदै रोगबाट थलिनुअघि नै स्वास्थ्य परीक्षणबाट समस्या थाहा पाउने, यसबाट नागरिकको आर्थिक, शारीरिक तथा मानसिक अवस्थालाई क्षति हुनबाट बचाउने उद्देश्यसहित कार्यक्रम थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रवर्धनात्मक स्वास्थ्य सेवाका कार्यक्रमबाट स्वास्थ्य उपचारका लागि गर्नु पर्ने खर्च घटाउन सकिन्छ । यसले व्यक्ति र परिवारमा हुने आर्थिक बोझ वढ्न दिँदैन । शारीरिक जटिलता र मानसिक अवस्था विग्रिन दिँदैन । यसकारण महानगरपालिकाले रोग लाग्न नदिन प्रवर्धनात्मक कार्यक्रम र रोग लागेको भए प्रभावकारी उपचारका लागि गुणस्तरीय स्वास्थ्य सेवाका कार्यक्रमलाई जोड दिएको छ ।’
‘आरोग्य जीवन कार्यक्रम’ अन्तर्गत वडावडामा, टोलटोलमा योग कक्षा सञ्चालन गर्न प्रशिक्षक उत्पादन गर्ने कार्यक्रम सम्पन्न भइसकेको प्रवक्ता मानन्धरले जानकारी दिनुभयो ।
खुला रुपमा व्यायाम गर्ने ठाउँहरुमा यस्ता शिविर गर्ने योजना रहेको कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीले जानकारी दिनुभयो । हामी कम्तीमा १० ठाउँमा यस्ता शिविर गर्नेछौँ, ओलीको भनाइ छ ।
काठमाडौँ महानगरपालिकाभित्र रहेका ४४ वटा व्यायामशाला व्यवसायी संघमा आवद्ध छन् । संघका अध्यक्ष शोभा गुरुङ्का अनुसार, एउटा व्यायामशालामा एक दिनमा औसत १ सय जनाले शारीरिक अभ्यास गर्नुहुन्छ ।
व्यायामशालामा शारीरिक सुगठनसहित जुम्बा, एरोविक्स, आक्वा फिटनेस (पानीमा डुवेर गरिने) लगायत व्यक्ति तथा समूह केन्द्रीत व्यायामहरु हुने गरेका छन् ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App