Logo
  • वि.सं.: २०८३, असोज १७ शनिबार

  • इ.स.: 2026 October 3,SATURDAY

  • वि.सं.: २०८३, असोज १७ शनिबार

  • वडा २३ को प्रशासनिक भवन उदघाटन : राणाकालीन शैली र विश्व सम्पदा क्षेत्रको मापदण्ड मुख्य विशेषता 

    करवाहेक करिब १ करोड ८५ लाख रुपियाँ लागत 

    काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. २३ को प्रशासनिक भवनको उद्घाटन भएको छ । करबाहेक १ करोड ८४ लाख ७२ हजार रुपियाँ लागतमा नियोक्लासिक (राणाकालीन) शैलीमा निर्माण गरिएको भवन महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र विधायन समितिका संयोजक एवं वडा २३ का अध्यक्ष मचाराजा महर्जनले समुदघाटन गर्नुभएको हो । भवन जुद्ध बारुण यन्त्र कार्यालयसँग मेल खाने शैलीमा बनाइएको हो । 

    बसन्तपुर जुद्ध वारुण यन्त्र कार्यालय परिसरमा निर्माण भएको भवन विश्व सम्पदा क्षेत्र अन्तर्गत संरक्षित स्मारक उपक्षेत्रको मापदण्ड अनुसार निर्माण गरिएको हो । 

    भवन उदघाटन गर्दै कार्यवाहक प्रमुख डंगोलले, वडाबासीको सहजताका लागि महानगरपालिकाले  सबै वडाको आफ्नै प्रशासनिक भवन निर्माण गर्ने कामलाई अन्तिम चरणमा पुर्‍याएको बताउनुभयो । ‘वडा प्रशासनिक भवन कहिले कता सर्ने, कहिले कता सर्ने हुँदा वडाबासीलाई सास्ती भयो । स्थायी स्थानमा आफ्नै भवन भएपछि वडाबासीलाई ढुक्क हुन्छ । यो भवन सबै वडावासीको साझा भवन हो । संरक्षणका लागि पनि साझा दायित्व निर्वाह गर्नुपर्छ ।’

    आफ्नै प्रशासनिक भवन भएपछि सेवाको गुणस्तरमा वृद्धि हुने र नागरिकले परिवर्तनको अनुभूति गर्ने आफूले अपेक्षा गरेको बताउँदै डंगोलले, केन्द्रिय कार्यालय पनि चाँडै नै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो । 

    चुनावका बेलामा आफूले वडाबासीसँग गरेको प्रतिज्ञा पूरा भएको बताउँदै वडाध्यक्ष महर्जनले भन्नुभयो, ‘वडावासीको सहज जीवनयापनका लागि सडक तथा गल्ली बनाउने, मर्मत सम्भार गर्ने, विपदबाट बचाउने, उद्यमशीलता विकास गर्ने, सम्पदाको संरक्षण गर्ने काम नियमित चलेको छ । यससँगै वडाको आफ्नै भवन बनाउने काम हाम्रो लागि निकै चुनौतीपूर्ण थियो । भवन निर्माण गर्दा अनेक आरोह अवरोह व्यहोरेर पनि वडाबासीलाई आफ्नै भवन दिन सकेका छौँ । यो दिन हाम्रा लागि स्मरणीय बनेको छ ।’

    त्यस क्रममा पूर्व वडाध्यक्ष पवित्र बज्राचार्यले, वडा भवन निर्माणले वडावासीमा गौरव प्रदान गरेको धारणा राख्नुभयो । यस्तै स्थानीय गणपतिलाल श्रेष्ठले मौलिक शैलीमा निर्माण भएको भवनले सम्पदामैत्री भवनलाई पनि जोगाएको बताउनुभयो । 

    १०७ फिट ६ इञ्च लम्बाइ र १९ फिट चौडाइमा बनेको ३ तले भवनको उचाइ ३२ फिट छ । आर्किटेक्ट गौरव श्रेष्ठका अनुसार भवनको हरेक तला २ हजार ४८ वर्गफिटका छन् । 

    २०८३ असोज ३० गते निर्माण सम्पन्न गर्ने गरी एस. बी. कन्स्ट्रक्सनलाई २०८२ मंसिर २१ गते कार्यादेश दिइएको थियो । 


       
     

  • प्रकाशित मिति शनिबार १७ असोज २०८३ ०१:१६ PM